हेटौँडाः शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले साउन महिनामा मात्रै जिल्लाका विभिन्न विद्यालयमा २० जना शिक्षक नियुक्तिका लागि सूचना प्रकाशित गर्न सम्बन्धित विद्यालयलाई अनुमति दिएको छ । अनुमति दिएका सबै राहत दरबन्दीमा नियुक्त हुनेछन् । इकाईको अनुमतिपछि विद्यालयले सार्वजनिक सूचना प्रकाशित गरेर खुलारुपमा प्रतिस्पर्धा गरी उत्कृष्ट शिक्षक छनोट गर्नुपर्ने हुन्छ । तर, केही विद्यालयले सूचना लुकाएर आफूअनुकुलका व्यक्तिलाई जागिर खुवाउने प्रवृत्ति छ । सञ्चारकर्मीलाई नै सिधै सूचना लुकाउन, सीमितप्रति पत्रिका प्रकाशन गर्न या प्रकाशित सबै पत्रिका खरिद गर्ने सर्तमा सूचना प्रकाशनका लागि आग्रह गर्ने गरेका छन् ।
यस्तो गलत प्रवृत्तिलाई रोक्न समृद्ध समाज दैनिकले शिक्षा विकास तथा समन्वय इकाईले अनुमति दिएको विवरणअनुसार इकाईले शिक्षक नियुक्तिका लागि सूचना प्रकाशन गर्न दिएको अनुमतिको विवरणलाई समाचारको रुपमा सार्वजनिक जानकारीका लागि प्रकाशन गर्दै आएको छ । शिक्षा विकास तथा समन्वय इकाईले साउन ३ गते मनहरी गाउँपालिका–१ स्थित बालजीवनज्योति मावि र मकवानपुरगढी गाउँपालिका–२ स्थित चण्डिका माविमा मावि तहको गणित विषय शिक्षक १/१ जना र हेटौँडा–५ स्थित लक्ष्मी आधारभूत विद्यालयमा एकजना निमावि गणित शिक्षक नियुक्तिका लागि सूचना प्रकाशन गर्न अनुमति दिएको छ ।
इकाईले साउन ७ गते कैलाश गाउँपालिका–९ स्थित कालिका माविमा निमावि तहको गणित शिक्षक एकजना, साउन ११ गते मनहरी–४, पशुपतिनाथ मावि निमावि विज्ञान, भीमफेदी गाउँपालिका–८ स्थित पञ्चकन्या माविका लागि मावि अंग्रेजी विषय, साउन १२ गते बकैया–७ स्थित माटोकोरी आधारभूत विद्यालय र बकैया–१० स्थित शंकर आधारभूत विद्यालयका लागि निमावि विज्ञान तथा प्रविधि विषय शिक्षक १/१ जना नियुक्ति गर्न सूचना प्रकाशन गर्न अनुमति दिएको छ । साउन १२ गते नै हेटौँडा–३ स्थित बालउज्ज्वल माविका लागि निमावि विज्ञान तथा प्रविधि र निमावि तहको अंग्रेजी विषय शिक्षक नियुक्तिका लागि पनि इकाईले सू्चना प्रकाशित गर्न अनुमति दिएको छ । यस्तै भीमफेदी गाउँपालिका–५ स्थित महालक्ष्मी माविका लागि निमावि सामाजिक विषयको शिक्षक नियुक्तिका लागि सूचना प्रकाशित गर्न अनुमति दिएको छ ।
साउन १४ गते हेटौंडा–१३ स्थित युगचेतना माविलाई प्रावि तहको शिक्षक नियुक्तिका लागि सूचना प्रकाशित गर्न अनुमति दिएको इकाईले साउन १५ गते मकवानपुरगढी गाउँपालिका–२ स्थित बंशगोपाल माविका लागि निमावि अंग्रेजी, साउन १६ गते मनहरी गाउँपालिका–८ स्थित महेन्द्र किरण माविका लागि मावि तहको सामाजिक विषय शिक्षक, बकैया–७ स्थित जनक माविका लागि निमावि विज्ञान तथा प्रविधि, हेटौँडा–१९ स्थित अरनिको माविका लागि मावि तहमा अंग्रेजी र निमावि तहमा अंग्रेजी र गणित विषय शिक्षक नियुक्तिका लागि सूचना प्रकाशित गर्न अनुमति दिएको छ । यस्तै साउन २२ गते हेटौंडा–१८ स्थित कालीदेवी आधारभूत विद्यालयका लागि एक जना प्रावि तहको शिक्षक नियुक्तिका लागि सूचना प्रकाशित गर्न अनुमति दिएको छ ।