अहिले विभिन्न विद्यालय तथा कलेजहरुमा कक्षा ११ मा विद्यार्थी भर्नाको चटारो चलिरहेको छ । उच्च ग्रेडमा कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण विद्यार्थीलाई आकर्षित गर्दै बढीभन्दा बढी विद्यार्थी भर्ना गर्ने दाउपेचमा शिक्षण संस्थाहरु लागेका छन् । विभिन्न आकर्षक नारासहित जिल्लाभित्रमात्र नभई मध्य तराईका जिल्लाहरुमा शिक्षण संस्थाको टोली परिचालित छन् । बारा, पर्सा, रौतहट, सर्लाही तथा सिन्धुली जिल्लासम्म कक्षा ११ मा विद्यार्थी भर्ना अभियान सञ्चालन गरिएको छ । छापा, एफएम रेडियो तथा अनलाइनजस्ता आम सञ्चार माध्यमबाट पनि विद्यार्थीलाई आकर्षित गर्न विज्ञापन भइरहेका छन् । ठूला–साना, सार्वजनिक–सामुदायिक–निजी सबै खालका शैक्षिक संस्थाहरु कक्षा ११ मा विद्यार्थी भर्ना अभियानमा केन्द्रित भइरहँदा धेरैजसो विद्यार्थीलाई भने विषय छनौटमा कठिनाई भइरहे को छ । शिक्षण सं स्थाका आकर्ष क नारा तथा प्रचारप्रसारका कारण कक्षा ११ पढ् ने विद्यालय÷कले ज छनोटमा अलमलिएका विद्यार्थीले कुन विषय लिएर पढ्ने भन्ने उचित निर्णय लिन नसक्दा शैक्षिक भविष्य अन्यौलमा पर्ने सम्भावना देखिएको छ ।
पुरानै पद्दतिको लेटर ग्रेडिङबाट नतिजा प्रकाशित गरिएको हुँदा यस वर्ष पनि एसईईमा सहभागी अधिकांश विद्यार्थीले आफूले रोजेको विषय पढ्ने अवसर पाएका छन् । एसईईमा न्यूनतम १.६ जीपीए ल्याएका विद्यार्थीले विज्ञान, व्यवस्थापन, शिक्षा तथा मानविकी सबै प्रकारका विषय अध्ययन गर्न बाटो खुला गरिएको छ । यसले पनि विद्यार्थीलाई कुन विषय पढ्ने भन्ने निर्णय लिन कठिनाई भइरहको मान्न सकिन्छ । विषयगत ग्रेड जे आएपनि जीपीए १.६ वा त्योभन्दा बढी आएपछि राजेको विषय पढ्न पाइने भएकाले विद्यार्थीलाई विषय छनोट गर्न कठिनाई भएको हो । राम्रो नतिजा ल्याउने विद्यार्थीले विज्ञान, मध्यमस्तरको नतिजा ल्याउने विद्यार्थीले व्यवस्थापन र कमजोर नतिजा ल्याउने विद्यार्थीले शिक्षा र मानविकीका विषयहरु पढ्न चाहने विगतको परिपाटी फेरिँदै गएको छ । पछिल्ला केही वर्षदेखि सामुदायिक विद्यालयहरुले पनि कक्षा ११, १२ मा विज्ञान विषयको पठनपाठन सुरु गरेका र सबैजसो विद्यार्थीले विज्ञान पढ्न पाउने व्यवस्थाका कारण मध्यमस्तरका विद्यार्थी पनि विज्ञान पढ्न थालेका छन् । धेरै विद्यार्थी व्यवस्थापनका विषयमा आकर्षित बनेका छन् भने शिक्षा र मानविकीतर्फ विद्यार्थीको आकर्षक घट्दै गएको छ ।
२०७७ सालबाट कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू भएपछि संकायको अवधारणा हटेको छ । कक्षा ९, १० मा जस्तै कक्षा ११, १२ मा पनि एउटै विषय दुई वर्ष अध्ययन गर्नुपर्ने व्यवस्था गरिएको छ । कक्षा १२ सम्म विद्यालय शिक्षा कायम गरेर कक्षा १२ मा एसएलसी परीक्षा हुने भनिए पनि कक्षा ११ देखि नै कलेज भन्ने र मान्ने गरिएको छ । उच्च शिक्षामा आफूले अध्ययन गर्न चाहेको विषय र संकायकै आधारमा कक्षा ११ मा पढ्ने विषय छनौट गर्नुपर्ने बाध्यता विद्यार्थीमा छ । यसले गर्दा पनि कक्षा ११ र १२ मा कुन विषय पढ्ने भन्ने बारेमा अधिकांश विद्यार्थी र अभिभावकलाई तनाब हुने गरेको छ ।
सबै अभिभावक तथा विद्यार्थीको इच्छा एउटै हुँदैन । विद्यार्थी एउटा विषय पढ्न चाहने तर अभिभावक अर्को विषय पढाउन चाहने अवस्थाले पनि विद्यार्थीलाई विषय छनोटमा समस्या हुने गरेको छ । सामान्यताः विद्यार्थीको रुचि तथा क्षमता, अभिभावकको आर्थिक अवस्था र भविष्यको सम्भावनाका आधारमा पढ्ने विषय छनोट गर्नु उचित हुन्छ । विद्यार्थीको क्षमता र रुचिको विषय छनोट नगर्दा विद्यार्थीको पढाइ अलपत्र बन्नसक्छ । आफ्नो लगाव र रुचिको क्षेत्रमा विद्यार्थीले प्रगति गर्ने सम्भावना बढी हुन्छ । यो सामान्य सत्यलाई विद्यार्थी र अभिभावकले बुझेर उपयुक्त विषय छनोट गर्नु आवश्यक हुन्छ । उपयुक्त विषय छनोटसँगैै उपयुक्त शैक्षिक संस्था छनोट शैक्षिक प्रगतिको महत्वपूर्ण पक्ष हो । शैक्षिक संस्थाको प्रलोभन तथा आकर्षक विज्ञापन, साथीहरुको लहलहै र अभिभावकको करकापभन्दा पनि विद्यार्थीको रुचि र क्षमताअुनकूलको विषय छनोट गर्न सकेमा शैक्षिक भविष्य उज्ज्वल हुने सम्भावना रहन्छ ।