हेटौँडाः हेटौँडा उपमहानगरका १८ वटा संस्थागत विद्यालयले उपमहानगरलाई विद्यार्थी विवरण बुझाएको छैन । चालु शैक्षिक सत्रको पहिलो त्रैमासिक अवधि सकिसक्दा पनि विद्यार्थीको विवरण नबुझाएको हो । १८ वटा विद्यालयले विद्यार्थी विवरण नबुझाउँदा नगरभित्रका शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थीको यकिन तथ्यांक निस्कन सकेको छैन ।
गत वर्ष पनि उल्लेख्य संख्यामा संस्थागत विद्यालयले उपमहानगरलाई विद्यार्थी विवरण बुझाएको थिएन । हेटौँडा उपमहानगरमा रहेका ४८ वटा संस्थागत विद्यालयमध्ये ३० वटा विद्यालयले मात्रै उपमहानगरलाई विद्यार्थी विवरण बुझाएको शिक्षा महाशाखाले जनाएको छ । नगरका ३० वटा संस्थागत विद्यालयमा १८ हजार ९ सय ४ विद्यार्थी भर्ना भएका छन् । जसमा छात्र १० हजार ८ सय ७२ जना, छात्रा ८ हजार २८ जना भर्ना भएको महाशाखा प्रमुख गंगाधर रिमालले जानकारी दिनुभयो ।
अनलाइनमार्फत नै विद्यार्थी विवरण भर्न मिल्ने उल्लेख गर्नुहुँदै रिमालले भन्नुभयो, “विद्यार्थी विवरण उपलब्ध नगराउने विद्यालयलाई हामी कारवाही गर्छौं । ती विद्यालयका विद्यार्थीको परीक्षा फारम भराउन सकिँदैन ।” निश्चित समयपछि विद्यार्थी विवरण अनलाइनमार्फत भर्ने कार्य बन्द भएको र अब विद्यार्थी विवरण बुझाउन महाशाखामै सम्पर्क गर्नुपर्ने उहाँको भनाइ छ ।
यता उपमहानगरका ७२ वटा सामुदायिक विद्यालयले भने विद्यार्थी भर्ना विवरण बुझाएका छन् । हेटौँडा उपमहानगरका ७२ वटा सामुदायिक विद्यालयमा २७ हजार ६ सय ७८ विद्यार्थी भर्ना भएका छन् । जसमा छात्र १४ हजार ३ सय ३५ र छात्रा १३ हजार ३ सय ४२ जना छन् । सामुदायिक विद्यालयतर्फ बाल विकास केन्द्र(ईसीडी) मा ३ हजार २ सय ६४ विद्यार्थी भर्ना भएका छन् । १ कक्षामा २ हजार १ सय ८८ जना, २ कक्षामा १ हजार ७ सय ९८ जना, ३ कक्षामा १ हजार ८ सय ६४ जना, ४ कक्षामा २ हजार १ सय ७२ जना, ५ कक्षामा २ हजार १ सय ७७ जना विद्यार्थी भर्ना भएका छन् । यस्तै ६ कक्षामा २ हजार ४ सय ४५ जना, ७ कक्षामा २ हजार ५ सय १४ जना, ८ कक्षामा २ हजार ६ सय ५८ जना, ९ कक्षामा २ हजार ९ सय ५ जना, १० कक्षामा २ हजार ३ जना विद्यार्थी भर्ना भएका छन् । यस्तै कक्षा ११ मा छात्र २ सय ५४ जना र छात्रा २ सय ९४ गरी ५ सय ४८ जना विद्यार्थी रहेको छ भने कक्षा १२ मा छात्र ४ सय ६५ जना र छात्रा ६ सय ३६ जना गरी १ हजार १ सय १ जना विद्यार्थी भर्ना भएका छन् ।