बैठकलाई सम्बोधन गर्नुहुँदै एमाले नेता गुरु बराल ।

हेटौँडाः नेकपा एमालेको स्थायी कमिटीका सदस्य तथा बागमती प्रदेश इन्चार्ज गुरु बरालले मुलुकमा विकास, समृद्वि र सुशासन दिने पार्टी नेकपा एमाले भएको बताउनुभएको छ । बुधबार हेटौँडामा आयोजित नेकपा एमाले मकवानपुरको आठौं बैठकलाई सम्बोधन गर्नुहुँदै बरालले राष्ट्रियताको रक्षा गरी मुलुकमा विकास, समृद्धि र सुशासनको नीति नेकपा एमालेले लिएको दावी गर्नुभयो । नेता बरालले २०८४ मा नेकपा एमाले बहुमतसहितको पहिलो दल बनाउन पार्टी निर्माण र जनपरिचालनको हिसाबले २०८० आधार वर्षको रूपमा कार्यकर्ता र जनता केन्द्रित काममा जुटेको बताउनुभयो ।

पार्टी पोलिटव्यूरो सदस्य तथा मकवानपुर इन्चार्ज देवी ज्ञवालीले सबै कार्यकर्ता ढुक्क भएर पार्टीको काम गर्न आग्रह गर्नहुँदै नतिजा ल्याउने गरी जुट्न आग्रह गर्नुभयो । बैठकले वार्षिक कार्ययोजनामा जिल्लास्तरमा ५० जना प्रशिक्षक तयार गर्ने, पार्टी सदस्यलाई प्रशिक्षित गर्ने, सबै पालिका र १ सय २ वडामा कार्यालय व्यवस्थापन गर्ने निर्णय गरेको पार्टी जिल्ला सचिव नवीन सिग्देलले जानकारी दिनुभयो । यस्तै, पार्टी प्रवेश तथा घर फर्क अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

बैठकले विभिन्न कमिटी र सदस्यहरुबीचको अन्तरविरोध समाधान गर्ने, हरेक वडामा युवा नेतृत्व विकास गर्ने, सामुदायिक तथा सामाजिक संघसंस्थालाई जनहित अनुकूल सञ्चालन गर्न अग्रसरता लिने, जनसरोकारका कार्यालयको ढिलासुस्ती, अनियमिताको खबरदारी गर्ने निर्णय गरेको छ । बैठकले गोकर्ण पराजुली, कृष्णबहादुर राई, लोकनाथ चौलागाई, प्रेमबहादुर भोम्जन, रोम रेग्मी, अर्जुन पोखरेल, राजप्रकाश भण्डारी, राजेश्वर दाहाल, बालमुकुन्द ढकाल, प्रकाश बानियाँ, नारायण तिमल्सिना, दिलदोर्जे पाख्रिन र गंगा भट्टराईसहित १३ जनालाई जिल्ला सदस्य मनोनित गरेको सचिव सिग्देलले बताउनुभयो ।

पार्टी जिल्ला अध्यक्ष एका लाल श्रेष्ठको अध्यक्षतामा भएको बैठकमा पार्टी केन्द्रीय सदस्यहरु रामेश्वर राना, कृष्णप्रसाद दाहाल, भारती पाठक, पार्टी नेता केदार न्यौपाने, केन्द्रीय निर्वाचन विभागका सदस्य अनन्त पौडेल, प्रदेश कमिटीहरु सदस्यलगायतको उपस्थिति रहेको थियो ।