हेटौँडाः साहित्यिक रचना काल्पनिक र यथार्थपरक दुबै हुन्छन् । या एउटै कृतिमा यथार्थलाई काल्पनिक शैलीमा पनि प्रस्तुत गरिन्छ । पाठकले काल्पनिक र यथार्थ दुवै रचना या मिश्रित रचनालाई रुचाउँछन् । तर, यथार्थलाई काल्पनिक बनाउँदै गर्दा तथ्यहरु सावित हुन नसक्दा लेखक आलोचित हुन्छन् । यस्तै भयो शनिबार हेटौँडामा । हेटौँडाको किताबघरमा ऐँठन उपन्यासका लेखक विवेक ओझाले पाठकको यस्तै आलोचना व्यहोर्न बाध्य हुनुभयो ।
माओवादी द्वन्द्वकालको कथामा आधारित ओझाको कृति ऐँठनप्रति पूर्व लडाकुसमेत रहनुभएका हेटौँडा–१८ का सुन्दर दाहालले रुष्टता प्रकट गर्नुभयो । लेखकले पाठकसँग साक्षात्कार गर्ने खबर प्राप्त भएपछि माओवादी लडाकु दाहालले ऐँठन पढ्ने जमर्को गरेको सुनाउनु भयो । ऐँठनको १७० पेज पढेपछि किताबै फालिदिएको दाहाल बताउनुहुन्छ । “जनयुद्धको कुनै राम्रो पक्ष देखाइएको छैन । युद्धलाई इन्कार गर्नु पुस्तकको राम्रो पक्ष हो”, दाहालले भन्नुभयो, “नेपालको १० वर्षे जनयुद्धले दिएका राम्रो कुरा समावेश गरिएको छैन । माओवादीले हत्या र नेपाली सेनाले बलात्कार मात्रै गर्छ भन्ने उल्लेख गरिएको छ ।”
“सेना र माओवादी दुवै पक्षले गरेका राम्रा कामको सन्दर्भ पनि उल्लेख गर्नुपथ्र्यो”, दाहालले भन्नुभयो, “रक्सी पारेको भनी महिलाको हत्या गरिएको कुरा छ तर, १० वर्षे युद्धमा रक्सी पारेकै आधारमा कसैको हत्या भएको छैन । पात्रमा कहीँ आफुलाई पाउन सकिनँ । अन्तिमसम्म आइपुग्दा अपूर्ण लाग्यो ।” दाहालको प्रतिक्रियापछि लेखक विवेक ओझाले कृति अध्ययन गर्दै गर्दा पाठकले लेखकप्रति त्यस्तो कुनै किसिमको असन्तुष्टि राख्नु नपर्ने दावी गर्नुभयो ।
५ वर्षको अवधिमा उपन्यास तयार भएको जानकारी गराउनुहुँदै लेखक ओझाले भन्नुभयो, “युद्धका कथा संकलन गर्दै गर्दा उपन्यास तयार पार्न पुगेँ । उपन्यासमा संगठनात्मक अपराध भएको यथार्थ चित्रण गरिएको छ ।” विश्वमा युद्धका लागि भएको लगानीलाई राम्रो काममा लगाउँदा विश्व सुन्दर बन्ने सन्देश दिन खोजिएको उहाँको भनाइ छ । स्थलगत अवलोकन गरेर, पत्रपत्रिकाका समाचारको अध्ययनबाट कथा तयार पारिएको र द्वन्द्वको समयमा पीडित वर्गका दुखलाई समेटिएको ओझाले स्पष्ट पार्नुभयो ।
पाठकीय टिप्पणी राख्नुहुँदै रजनी पौडेलले ऐँठनले युद्ध सकिएको सयौं वर्षसम्म पनि प्रभाव रहिरन्छ भन्ने बुझाएको बताउनुभयो । पात्रको उल्लेख्य उपस्थिति देखिए पनि कथाबाट उनीहरूको बहिर्गमन स्पष्ट नभएको उल्लेख गर्नुहुँदै पौडेलले भन्नुभयो, “माओवादी द्वन्द्वको समयमा राज्य र माओवादी दुबै पक्षबाट जनता पीडित भएको बुझाउन कृति सफल छ ।” सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलले कृतिको विषयमा समीक्षा प्रस्तुत गर्नुभएको थियो ।