गुगल तस्विर ।

हेटौंडाः विभिन्न घटनामा एकैदिन ४ जनाको मृत्यु भएको छ । चितवन, धादिङ, सिन्धुपाल्चोक र काभ्रे जिल्लामा विभिन्न घटनामा ४ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाकारी दिएको छ ।

चितवन जिल्लाको ईच्छाकामना गाउँपालिका–६ स्थित जलवीरे झरनामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङ जिल्ला ज्वालामुखी गाउँपालिका–५ घर भई हाल भरतपुर महानगरपालिका–१० मा डेरा गरी बस्ने १५ वर्षीय अमन गुरुङ रहेको प्रहरीले जानकारी दिएको छ । शुक्रबार दिउँसो २ बजेर ३५ मिनेटको समयमा जलवीरे लामो झरनामा पौडी खेल्ने क्रममा डुबेर गुरुङको मृत्यु भएको थियो । मुचुल्कापश्चात् शव पोष्टमार्टमका लागि भरतपुर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिका–३, रातमाटेमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्सा बीरगञ्ज घर भएका २५ वर्षीय कृष्ण श्रीवास्तव रहेको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । शुक्रबार दिउँसो ३ बजेको समयमा काठमाडौंबाट चितवन जाँदै गरेको प्र १–०२–००१ ख ८०२९ नम्बरको ट्रकले बिपरित दिशाबाट आउँदै गरेको बा प्र ०२–०३७ प ७७३१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा श्रीवास्तव र पछाडि सवार लमजुङ जिल्ला राईनस नगरपालिका–६ बस्ने २० वर्षीया अस्मिता पाठक घाइते भएका थिए । घाइते दुबैलाई उपचारका लागि टिचिङ शाखा अस्पताल मलेखु लगिएको थियो । उपचारको क्रममा श्रीवास्तवको ३ बजेर २५ मिनेटमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–९, जुरेस्थित सुनकोशी नदीमा एकजना पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा ६१ वर्षीय भीमबहादुर तामाङ रहेको प्रहरीले जनाएको छ । तामाङ बुधबारदेखि घरबाट हिँडेकोमा घर नआएपछि आफन्तले खोजतलास गर्दा शुक्रबार सुनकोशी नदीमा मृत फेला परेको प्रहरीले जनाएको छ ।

यस्तै, काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका–३, मोठस्थित लीलावती खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४६ वर्षीय अकुर भुजेल रहेको प्रहरीले जनाएको छ । भुजेल बिहीबार साँझ ६ बजे घरबाट हराएका थिए । भुजेललाई आफन्तले खोजतलास गर्दा शुक्रबार बिहान १० बजेको समयमा घरदेखि पर रहेको लीलावती खोलामा मृत फेला परेको प्रहरीले जनाएको छ । भुजेलको मानसिक सन्तुलन ठिक नभएको प्रहरीले जनाएको छ ।