प्रशिक्षार्थीको साथमा प्रशिक्षक निरु कुमारी मगर ।

हेटौँडाः तेक्वान्दोको विशेषता हेड–हाइट किक, जम्पिङ र स्पिनिङ किक र छिटो लात मार्ने प्रविधिहरूमा जोड दिइने एकप्रकारको खेल हो । यस खेलमा हात र खुट्टाको प्रयोग गरिन्छ । हेटौँडा–४ स्थित बहुउद्देश्यीय कभर्ड हलमा प्रशिक्षक निरु कुमारी लामा हरेक दिन बिहान ६ बजेदेखि ७ बजेसम्म ५० जना खेलाडीलाई तेक्वान्दोको यही विशेष कला सिकाउनुहुन्छ ।

तेक्वान्दो सिक्नका लागि नवलपुर, चिसापानी, सानोपोखरा, चौकीटोल, सामरी, हुप्रचौरका किशोर–किशोरी र बालबालिका आउने गरेका छन् । प्रशिक्षक लामाले तेक्वान्दो प्रशिक्षण दिँदा बेसिक ट्रेनिङ, किकिङ हार्ड ट्रेनिङ, सट रनिङ, रिल्याक्स ट्रेनिङ दिने गरेको बताउनुभयो । आफ्नो बुवाको सल्लाह अनुसार सानै उमेरदेखि नै तेक्वान्दो खेललाई प्राथमिकता दिँदै जिल्लास्तरीय खेलदेखि राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरको खेलहरुमा सहभागिता जनाउनुभएकी लामा मकवानपुरको महिला तेक्वान्दो प्रशिक्षकको थोरै संख्यामा अटाउनुहुन्छ ।

प्रशिक्षक मगरका अनुसार तेक्वान्दो खेलमा लगनशील, मिहिनेती भएर खेललाई प्राथमिकता दिएमा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरको खेलहरुमा सहभागी हुने राम्रो अवसर छ । आफ्नो खेलाडीलाई प्रेरित गर्ने उद्देश्यले अन्तर्राष्ट्रियस्तरको खेल खेल्नका लागि प्रशिक्षक मगर थाइल्यान्ड जाने योजनामा हुनुहुन्छ । उहाँले ३१ वर्षदेखि खेलकुद विकासको विविध विधा र क्षेत्रमा संलग्न रही कठीन पारिवारिक, आर्थिक, सामाजिक परिवेशका बावजुद, आफ्नै प्रयत्नका आधारमा तेक्वान्दो खेलप्रति लगनशील र निरन्तर रहेर नयाँ पिँढीलाई तेक्वान्दोमा प्रेरित गरिरहनुभएको छ । मगर हालै मदन भण्डारी फाउण्डेसनद्वारा मदन भण्डारी रुपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कारबाट समेत पुरस्कृत हुनुभएको छ ।

तेक्वान्दो खेल खेल्नका लागि अनुशासनको पालना, धैर्यता, लगनशीलता हुनुपर्ने प्रशिक्षक मगर बताउनुहुन्छ । मकवानपुर जिल्लामा पहिला भन्दा अहिले तेक्वान्दो खेलप्रतिको रुचि बढेको छ । पहिला ५ वटा मात्र डोजाङ थियो भने अहिले १० वटा डोजाङ छ । राष्ट्रियस्तरको खेलाडीहरु उत्पादन गर्ने उद्देश्यले आफ्नो २ जना प्रशिक्षार्थीलाई डोजाङ खोल्दिएको मगर बताउनुहुन्छ ।