हेटौंडाः मकवानपुर जिल्लामा बालविवाहको घटना अत्यधिक रहेको छ । बाल हेल्पलाइन मकवानपुरमा आर्थिक वर्ष २०७९/०८० मा ११ बालक र ३३ बालिका गरी ४४ वटा बालविवाहको घटना दर्ता भएको छ ।
सामाजिक सञ्जालमा सहजै अन्जान व्यक्तिसँग नजिक हुन पुग्दा बालविवाहका घटना बढिरहेको पाइएको छ । तर बागमती प्रदेश प्रहरी कार्यालयमा भने बालविवाहको मुद्दा ४ वटामात्र दर्ता भएको छ । यसले बालविवाहको घटना प्रहरी कार्यालयमा जाने नगरेको पुष्टि भएको छ । बाल हेल्पलाइन मकवानपुरको आयोजनामा गरिएको एक दिवसीय अनलाइन बाल संरक्षणसम्बन्धीज्ञ अभिमुखीकरणको क्रममा यस्तो बताइएको छ । सोमबार नगर सहजकर्ता, वडा सहजकर्ता, बालगृहका पदाधिकारी, मामाघर नेपाल, जनप्रतिनिधि, सञ्चारकर्मी र किशोरी तथा बाल समूहका पदाधिकारीलाई दिइएको अभिमुखीकरणमा यस्तो बताइएको हो ।
हेटौंडा उपमहानगरपालिकाको २०८० मंसिर मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणाको तयारीलाई सहयोग हुनेगरी अनलाइन बाल संरक्षणबारे दोस्रो चरणको अभिमुखीकरण दिइएको बाल हेल्पलाइन मकवानपुरका संयोजक झविन्द्र ज्ञवालीले बताउनुभयो । नेपालको संविधान २०७२ को धारा ३९ मा बालबालिकासम्बन्धी हकलगायत कानुनी व्यवस्थाबारे संयोजक ज्ञवालीले सहजीकरण गर्नुभयो । यस्तै, बाल हेल्पलाइनले २००८ मा अनलाइनमा बाल संरक्षण विषयमा नेपालमा पहिलोपटक र २०२० मा सातै प्रदेशमा अनलाइन बाल संरक्षण विषयमा सर्वेक्षण गरेको जानकारी दिनुभयो । सर्वेक्षणका क्रममा बालबालिका बढी अनलाइन जोखिममा रहेको पाइएको उहाँको भनाइ छ । हेटौंडा बालमैत्री स्थानीय शासन घोषणाको चरणमा रहेको अवस्थामा अनलाइन बाल संरक्षणबारे नागरिक समाज, सरकारी निकाय, स्थानीय तह, बाल समूह, किशोरी समूहसँग छलफल भइरहेको उहाँले जानकारी दिनुभयो ।
साइबर ब्युरोमा दर्ता भएका घटनामध्ये ९९ प्रतिशत साइबर अपराधका घटना छन् । बालबालिकामात्र नभई ठूला मानिसहरु पनि सुरक्षित तबरले अनलाइनमा नरहँदा जोखिम हुनसक्ने उहाँले बताउनुभयो । ‘सबैले सामाजिक सञ्जाल कसरी प्रयोग गर्ने भन्ने विषयमा बुझ्न जरुरी रहेको छ’, ज्ञवालीले भन्नुभयो– ‘बालबालिकाप्रति अभिभावकले विशेष चासो राख्नुपर्ने हुन्छ ।’बालबालिकालाई अनलाइन यौन शोषण, आफूलाई कसरी सुरक्षित राख्ने, पीडित भएमा के गर्ने, सामाजिक सञ्जाल प्रयोग गर्नुअघि नै बालबालिकालाई जानकारी दिनुपर्ने उहाँले बताउनुभयो । स्थानीय तहले समेत अनलाइन बाल संरक्षणबारे सचेतना दिन जरुरी रहेको भन्दै शैक्षिक संघसंस्थाको भूमिकाबारे पनि उहाँले ध्यानाकर्षण गराउनुभयो । ज्ञवालीले अनलाइन बालयौन शोषणमा अनेकथरी व्यवहार र परिस्थितिहरु समावेश हुने बताउनुभयो ।
कोभिडपश्चात् सुर्खेतबाट हेटौंडामा १६ बर्षीय बालक र १६ वर्षीया बालिकाको भेट, करिब १ वर्ष अगाडि हेटौंडा–२ बस्ने १४ वर्षीया बालिका र लमजुङको १६ वर्षीय बालकबीच सामाजिक सञ्जालबाट भेट भएको बताउनुभयो । जसले गर्दा बालबालिकाले सामाजिक सञ्जालमा के गर्दैछन् भन्ने बुझ्न गाह्रो रहेको पुष्टि गर्ने उहाँको भनाइ छ । बालविवाहका सबै घटना दर्ता नहुँदा अनलाइन बाल संरक्षण चुनौतीपूर्ण रहेको उहाँले बताउनुभयो ।