उद्घाटन कार्यक्रममा अनिवार्य अवकाश प्राप्त शिक्षकलाई सम्मान गरिँदै ।

हेटौँडाः नगरस्तरीय शैक्षिक समन्वय समितिको अध्यक्षमा दुईजना र सदस्यमा २५ जना आकांक्षी देखिएका छन् । शुक्रबार भएको नगर भेलामा अध्यक्षमा ५ जना आकांक्षी देखिए पनि सहमतिको प्रयास गर्दै गर्दा अझै २ जना आकांक्षी बाँकी रहेको निवर्तमान अध्यक्ष सागरप्रसाद खतिवडाले जानकारी दिनुभएको छ । अध्यक्षमा केशव सञ्जेल र खेमराज लामिछाने आकांक्षी देखिनुभएको छ ।

यस्तै १४ जना सदस्य आवश्यक रहेकोमा २५ जना आकांक्षी रहेको खतिवडाले बताउनुभएको छ । अध्यक्ष र सदस्य चयनपछि सचिव, कोषाध्यक्ष र सहसचिव चयन गर्ने व्यवस्था छ । अध्यक्षको विषयमा सहमति हुन नसक्दा सदस्यको विषयमा सहमतिको प्रयास नै हुन नपाएको र शनिबार दिनभर सहमतिको प्रयास गरिने खतिवडाले बताउनुभएको छ ।

२०४८ सालमा स्थापना भएको नगरस्तरीय शैक्षिक समन्वय समितिमा अहिलेसम्म निर्वाचन नभएको उल्लेख गर्नुहुँदै निवर्तमान अध्यक्ष खतिवडाले भन्नुभयो, “शनिबार सहमतिमा पुग्छौं होला ।” शुक्रबार भेलाको उद्घाटन कार्यक्रममा अनिवार्य अवकास प्राप्त शिक्षक, पूर्वअध्यक्षहरुलाई सम्मान गरेको थियो ।