फुटसल प्रतियोगिताको उद्घाटनमा सहभागी सामाजिक विकास मन्त्री कुमारी मुक्तानसहित कर्मचारीको फुटसल टिम ।

हेटौँडाः आर्थिक वर्षको अन्तिम महिना चलिरहेको छ । सरकारले खर्च धान्न मुस्किल भइरहेको बताइरहँदा बागमती प्रदेश सरकारको ११ वटा मन्त्रालयका कर्मचारीबीच २ दिन आयोजित फुटसल प्रतियोगितामा ९ लाख रुपैयाँ खर्च भएको छ । अन्तरमन्त्रालय फुटसल प्रतियोगिता उपाधि वन तथा वातावरण मन्त्रालयले जितेको छ ।

प्रतियोगितामा सहभागी ११ वटा मन्त्रालयका १ सय १० जना कर्मचारीका लागि १५ सयका दरले जर्सी, २ हजार दरका बुट, ७ सय दरका मेडल, ४० हजार रुपैयाँ पुरस्कार राशी, बिहान खाजा, खाना, फुटसल कोर्टको भाडा २० हजार रुपैयाँ खर्च भएको परिषद्का निमित्त प्रमुख देवनारायण चौधरीले जानकारी दिनुभएको छ । प्रतियोगिताको उद्घाटन शुक्रबार बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मुक्तानले गर्नुभएको थियो ।

शनिबार बिहान भएको फाइनल खेलमा भौतिक पूर्वाधार विकास मन्त्रालयलाई ९–१ गोलअन्तरले पराजित गर्दै वन मन्त्रालय विजयी भएको हो । विजेता बन्दै वन तथा वातावरण मन्त्रालयले नगद २५ हजार रुपैयाँसहित सिल्ड, मेडल, प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बनेको भौतिक पूर्वाधार विकास मन्त्रालयले नगद १५ हजार रुपैयाँसहित सिल्ड, मेडल, प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा सहभागी भएका प्रत्येक समुहका खेलमा म्यान अफ द म्याचलाई ट्रफी प्रदान गरिएको छ ।

प्रदेश खेलकुद विकास परिषद्को आयोेजनामा बागमती प्रदेशका मन्त्रालयमा कार्यरत निजामति कर्मचारीबीच फुटसल प्रतियोगिता भएको थियो । प्रतियोगितामा प्रदेशका मन्त्रालयबाट ११ समुहको सहभागिता रहेको थियो । खेल हेटौँडा–४, कमलडाँडास्थित फुटसल कोर्टमा भएको थियो ।