हेटौँडा उपमहानगरपालिकाले आगामी आर्थिक बर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । उपमहानगरपालिकाले आगामी आर्थिक बर्षका लागि २ अर्ब ६० करोड ६५ लाख ४० हजार ८ सय रुपैयाँ बजेट सार्वजनिक गरेको छ । सामान्यतयाः स्थानीय तहहरुले असार १५ देखि २० गतेसम्म बजेट सार्वजनिक गर्नुपर्ने व्यवस्था भए पनि हेटौँडा उपमहानगरपालिकाले दुई साताअघि नै बजेट सार्वजनिक गरेको हो । प्रदेश सरकारले बजेट सार्वजनिक गरेको भोलिपल्टै हेटौँडा उपमहानगरपालिकाले बजेट सार्वजनिक गरेको छ । उपमहानगरले आन्तरिक श्रोतबाट ८३ करोड ६६ लाख ६२ हजार ७० रुपैयाँ, राजश्व बाँडफाँडबाट ५९ करोड १४ लाख १० हजार ७ सय ३० रुपैयाँ, प्रदेश सरकारबाट ३ करोड ३४ लाख ६८ हजार रुपैयाँ र संघीय सरकारको अनुदानबाट १ अर्ब १४ करोड ५० लाख रुपैयाँ खर्च व्यहोरिने सार्वजनिक गरिएको नीति, कार्यक्रम तथा बजेटमा उल्लेख छ । उपमहानगरले पूर्वाधार विकासतर्फ १ अर्ब, आर्थिक विकासतर्फ ११ करोड ७६ लाख, सामाजिक विकासतर्फ ९२ करोड ९२ लाख, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ७ करोड १५ लाख र संस्थागत विकास, सेवा प्रवाह र सुशासनतर्फ ४ करोड २२ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

उपमहानगरले सार्वजनिक गरेको आगामी वर्षको बजेट चालु आर्थिक बर्षको भन्दा ११ करोड १४ लाख ३२ हजार २० रुपैयाँ कम हो । उपमहानगरले अघिल्लो वर्ष २ अर्ब ७१ करोड ७९ लाख ७२ हजार ८ सय २० रुपैयाँ बजेट ल्याएको थियो । केन्द्र र प्रदेश सरकारले बजेटको आकार घटाएर सार्वजनिक गरेकाले हेटौँडा उपमहानगरको पनि बजेट घटेको छ । हेटौँडा बागमती प्रदेशको राजधानी हो । त्यतिमात्र होइन, हेटौँडा बागमती प्रदेशको एकमात्र उपमहानगरपालिका पनि हो । पछिल्लो समय हेटौँडामा शिक्षा तथा स्वास्थ्य सेवामा सुधार भइरहेको छ । हेटौँडामा रहेका शैक्षिक संस्थाहरुमा मध्ये तराईका बारा, पर्सा, रौतहट तथा सर्लाही जिल्लाबाट थुप्रै विद्यार्थी अध्ययनका लागि आउने गरेका छन् । ती जिल्लाबाट उच्च शिक्षाका लागि मात्र नभई विद्यालय शिक्षाकै लागि पनि धेरै विद्यार्थी हेटौँडामा आएका छन् । प्रदेशको राजधानी भएसँगै हेटौँडा अस्पतालको स्तरवृद्धि हुनुका साथै स्वास्थ्य सुविधा पनि विस्तार भइरहेको छ । हेटौँडामा जनसंख्या तथा सवारी साधनको चापसमेत बढेको छ । सोहीअनुसार आर्थिक क्रियाकलाप पनि वृद्धि भइरहेको छ ।

हेटौँडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि शिक्षातर्फ ७६ करोड ५५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । शिक्षातर्फका कार्यक्रम तथा योजना सञ्चालनका लागि सशर्तसमेत ७६ करोड ५५ लाख रुपैयाँ बजेट विनियोजन भएको हो । उपमहानगरपालिकाले ट्युसन/कोचिङ सेन्टर, होस्टल, निजी प्रारम्भिक बालविकास केन्द्र र शिशु स्याहार केन्द्रलाई व्यवस्थित र नियमन गर्ने, विद्यालयका वार्षिक कार्यक्रमहरुलाई व्यवस्थित बनाइने, विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालय प्रवेश गराई अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा प्राप्तिको सुनिश्चितता गर्ने, सबै विद्यार्थीका लागि एकै किसिमको ड्रेसकोड लागू गर्ने, माध्यमिक तह (कक्षा १–१२) एकै सिफ्टमा सञ्चालन गर्न आवश्यक समन्वय गर्नेजस्ता महत्वपूर्ण कार्यक्रम गर्ने भएको छ । हेटौंडामा प्रादेशिक विश्वविद्यालय स्थापनाका पहल गर्नुका साथै स्नातक तहको इन्जिनियरिङ, कृषि, सूचना प्रविधि र कानुन विषयका सम्बन्धन अनुमति एवम् सञ्चालन प्रक्रिया अगाडि बढाइने भएको छ ।

उपमहानगरले सार्वजनिक गरेको नीति तथा कार्यक्रम र बजेटमा शिक्षा क्षेत्रको सुधारका लागि केही महत्वपूर्ण कार्यक्रम समावेश भएको भए पनि कार्यक्रमको कार्यान्वयन महत्वपूर्ण हुन्छ । बर्षौंदेखि नियमन हुन नसकेको कोचिङ/ट्युसन सेन्टर, भाषा कक्षाहरुको नियमन गर्ने कुरा स्वागतयोग्य छ । प्रादेशिक विश्वविद्यालय र प्राविधिक विषयका स्नातक तह सञ्चालन पनि हेटौँडाको आवश्यकता हो । उपमहानगरले शिक्षा क्षेत्रमा उल्लेख्य कार्यहरु गर्न सकेको छैन । यसले हेटौँडाको शैक्षिक सुधारमा खासै उपलब्धी हासिल भएको छैन । आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटको प्रभावकारी कार्यान्वयन भएर लक्षित उपलब्धी हासिल गर्न उपमहानगर नेतृत्व गम्भीर बन्नु आवश्यक छ ।