प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्नुहुँदै नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवाली ।

हेटौँडाः नेकपा एमालेका उपमहासचिव तथा स्कुल विभाग प्रमुख प्रदीप ज्ञावलीले नेकपा एमालेले भ्रष्टाचार गर्न नदिने र गर्नेले छुट नपाउने बताउनु भएको छ । मकवानपुरमा जिल्लास्तरीय कार्यकर्ता प्रशिक्षणलाई सम्बोधन गर्नुहुँदै उहाँले नेकपा एमाले भ्रष्टाचारको उजागर गर्ने, भ्रष्टाचारीलाई कार्वाही गर्ने र भ्रष्टाचार विरूद्व संघर्ष गर्ने पार्टी भएको दावी गर्नुभयो ।

राष्ट्रियता रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, विकास र समृद्धि तथा सुशासनका लागि नेकपा एमाले कुनै सम्झौता नगर्ने बताउँदै पार्टीप्रति चौतर्फी घेराबन्दी हुनु र मुलुकमा भ्रष्टाचार व्यप्त हुनु, राष्ट्रियता कमजोर हुनु, लोकतन्त्रको विरूद्धका शक्ति सल्बलाउनु मुलुकलाई कमजोर बनाउने योजनाबद्ध षडयन्त्र भएको दावी पनि ज्ञवालीले गर्नुभएको छ । उहाँले पार्टी सदस्य र कमिटीलाई चुस्त राख्दै जनताको समस्या र दुःखमा सहभागी भएर सबैखाले भ्रमहरूलाई चिर्दै नेकपा एमालेलाई सुदृढ बनाउँदा मात्र विरोधीहरूको जस्तोसुकै षडयन्त्र समाप्त पार्न सकिने बताउनु भएको छ ।

प्रशिक्षणमा नेकपा एमाले पोलिटव्यूरो सदस्य तथा स्कुल विभाग उपप्रमुख ईश्वरी रिजालले दर्शनले सही दिशा देखाएन, सिद्धान्तले व्यवहारमा सिद्धि प्राप्त गरेन, नीति–कार्यक्रम कार्यान्वयनमा गएनन्, कार्यशैली जीवन शैली बनेन, इच्छाशक्ति कार्यशक्तिमा रूपान्तरण भएन, कर्तव्यले गन्तव्य देखेन र निजी स्वार्थहरू सामुहिक स्वार्थमा बदलिएन भने कम्युनिष्ट राजनीतिको मूल्य ह्रास हुँदै जाने बताउनु भएको छ ।

कार्यक्रममा पार्टी केन्द्रीय सदस्यहरू रामेश्वर राना, जुनेली श्रेष्ठ, भारती पाठक, केन्द्रीय सल्लाहकार परिषद् सदस्य डोरमणि पौडेल, केन्द्रीय निर्वाचन विभागको सदस्य अनन्त पौडेल, प्रदेश कमिटीका सदस्यहरू, सल्लाहकार परिषद् र विभागका सदस्यहरूको आतिथ्यमा भएको प्रशिक्षण कार्यक्रममा जिल्ला कमिटीका सदस्यहरू, जिल्ला सल्लाहकार परिषद्, जेष्ठ कम्युनिष्ट मञ्च तथा लेखा कमिटीका पदाधिकारीहरू, पालिका र विशेष ईलाका कमिटीका अध्यक्षहरू, जनसंगठनका केन्द्रबाट जिल्ला ईन्चार्ज तथा जिल्ला अध्यक्षहरूसहितको १ सय ५० जनाको उपस्थिति रहेको नेकपा एमाले जिल्ला कमिटी सचिव नवीन सिग्देलले जानकारी दिनुभएको छ ।

बुधबार र बिहीबार दुई दिने प्रशिक्षणमा वाईबी आचार्यले सूचना प्रविधिको प्रयोगबारे प्रशिक्षण दिने सचिव सिग्देलले बताउनु भयो । नेकपा एमाले मकवानपुरका एका लाल श्रेष्ठको अध्यक्षतामा भएको प्रशिक्षणपछि जिल्लाव्यापी प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने बताइएको छ ।