मानिसको बानीका सम्बन्धमा अनेकौँ भनाइ, उखान टुक्का आदि प्रचलित छन् । भनिन्छ मानिस बानीको दास हो, छायाले छोड्ला तर बानीले छाड्दैन । सुगन्ध, दुर्गन्ध, धूवाँ र बानीलाई केही गरेर पनि लुकाउन सकिँदैन भन्ने पनि हामीले सुनेकै छौँ । मानिसलाई जीवनमा कुन मोडतिर लैजाने वा कस्तो व्यक्तित्व र चरित्र निर्माण गर्ने भन्ने कुरा पनि प्रायःजसो उसको बानीले नै तय गर्दछ । तर बिडम्बना यो छ कि धेरै मानिसले परिणामबारे जान्दाजान्दै पनि राम्रा बानी बसाल्नुको सट्टामा नराम्रो असर पर्ने बानीतर्फ लागीरहेका हुन्छन् । आखिर यो सब किन हुन्छ त? आउनुहोस् यसबारे केही चर्चा गरौँ ।
कुरा सुरु गरौँ नराम्रो बानी कस्तोलाई भन्नेबारेमा । मानिसको मन सधैँ स्थिर हुन नसक्ने भएकाले राम्रा बानी लगाउन नसकेको अवस्थामा नै नराम्रा बानीतिर जाने सम्भावना अधिक रहन्छ । मानिसले आफ्नो आनन्दका लागि, सजिलोका लागि, राम्रो देखिनका लागि, परम्परालाई चुनौती दिने नाममा तथा अरूभन्दा फरक छु भन्ने भान पार्नका लागि विभिन्न प्रकारका बानी बसाइरहेका हुन्छन् । सामान्यतया हेर्ने हो भने तत्काल वा दीर्घकालसम्म नराम्रा असर गर्ने बानीहरूमा मानिसहरू सजिलै फसिरहेका देखिन्छन् ।
धेरै खर्च गर्ने, धेरै सुत्ने, अल्छी गर्ने, मीठो लाग्ने कुरा धेरै खाने/नमीठो लाग्ने कुरा छुँदै नछुने(फाइदा/बेफाइदाप्रति जानकार हुँदाहुँदै पनि), डिजिटल डिभाइसहरू धेरै चलाउने, कुलतमा फस्ने, अनावश्यक डुलेर हिँड्ने, अरुका कुरा काट्दै हिँड्ने, शरीर र पहिरन आकर्षक बनाउनमा बढी ध्यान दिने जास्ता बानीहरु जो कोहीलाई पनि सजिलैसँग बसिरहेको हुन्छ । यसको विपरित मितव्ययी बन्ने, जाँगर बढाउँदै जाने, गुणदोष हेरेर खानेकुरा खाने, डिजिटल डिभाइसहरूको उद्धेश्यमूलक प्रयोग गर्ने, कुलतबाट टाढा भाग्ने, सोचविचार गरेर बोल्ने, किताब/पत्रपत्रिकाको अध्ययन गर्ने, शारीरिक व्यायाम गर्ने, योगा/ध्यान गर्ने, समयको सही व्यवस्थापन गर्ने जस्ता बानीहरू मानिसलाई सजिलैसँग बसिरहेको हुँदैन ।
मानिसहरूमा यो खालको व्यवहार किन धेरै देखिने गर्दछ त ? यसको पछाडिको कारण खोतल्दै जाने क्रममा निम्न निष्कर्षमा पुग्न सकिन्छ :
१) सजिलो छान्ने प्रवृत्ति: विकल्प उपलब्ध भएको अवस्थामा अधिकांश मानिसको स्वभाव सजिलो चाहिँ छान्ने खालको हुन्छ । कुनै पनि काम छान्ने सन्दर्भमा होस् वा कुनै व्यक्ति र वस्तु नै किन नहोस्, मानिसले सजिलो गार्हो तौलेर मात्र निष्कर्ष निकालिरहेको हुन्छ । सजिलो लाग्ने कुरामा अभ्यास गर्दै जानु भनेको त्यसैमा बानी पार्नु पनि हो । उदाहरणका लागि विद्यार्थीले पढ्ने कुरालाई नै लिउँ । आजबाट पढ्न सुरु गर्ने कि भोलिबाट भन्ने सन्दर्भमा अक्सर धेरै विद्यार्थीले छान्ने भनेको भोलिलाई हो ।
आज नै सुरु गर्नुलाई धेरैले गार्हो काम ठान्दछन् । बिहान चाँडै उठ्नु र ढिलासम्म सुत्नुमध्ये छान्नुपर्दा मानिसले प्रायजसो छान्ने पनि पछिल्लो नै हो । शारीरिक कसरत गर्ने या नगर्ने छान्नुपर्दा पनि नगर्ने भन्ने नै सजिलो देखिन्छ । यी त केही उदाहरण मात्र हुन् । यसरी गलत बानी लगाउनका लागि सजिला कुराहरूले खुबै मलजल गरिरहेका हुन्छन् । अर्थात् सजिला काम वा कुराहरूबाट राम्रोभन्दा नराम्रो बानीतर्फ लाग्ने सम्भावना नै बढी हुन्छ । सजिलो सजिलो छान्दै जानुको परिणाम चाहिँ असफलता हो । किनभने सफल हुनुभन्दा असफल हुनलाई धेरै नै सजिलो हुन्छ ।
२) आनन्दको बाटो खोज्नु: भित्री मनबाट खुसी हुन नसक्ने मानिसहरू खुसी हुनका लागि अनेकौँ बहानाहरू खोजिरहेका हुन्छन् । यो कुराबाट बढी आनन्द मिल्छ कि त्यो कुराबाट भन्दै भौतारिइरहेका देखिन्छन् । तर पनि वास्तविक आनन्द प्राप्त गरेको महसुस भइरहेको हुँदैन उनीहरूलाई । भित्र खोज्नुपर्ने आनन्द बाहिर खोजेपछि वास्तविक आनन्द कसरी प्राप्त हुन सक्छ र ? मनिसहरू मनोरञ्जन, खुसी र सुखभोगका नाममा मन भुलाउने उपायहरू यदाकदा खोजि नै रहेका हुन्छन् । कसैले मनोरञ्जनका लागि सिनेमा रोज्दछन्, कसैले घुमफिर, कसैले जुवातास, कसैले इन्टरनेटका सामग्री त कसैले नशालाई । खुसीका लागि पनि कसैले गफगाफ, कसैले निद्रा/धेरै आराम, कसैले आकर्षक पहिरन आदिलाई रोज्ने गर्दछन् ।
सुखभोगका लागि कसैले मीठो खानपान, कसैले विलासी जीवनशैली त कसैले शारीरिक सुखलाई सहारा लिइरहेका हुन्छन् । कत्तिले एकभन्दा बढी नै कुराको सहारा पनि लिएका हुन्छन् । वास्तवमा यिनीहरू साँच्चै आनन्दका स्रोत हुन् वा खालि भ्रम मात्र हुन् त ? यिनीहरू मानिसका आवश्यकता हुन् वा आशक्ति ? यस्ता कुरामा स्पष्ट नहुँदा नहुँदै मानिस कतिखेर खराब बानीको चक्रव्युहमा पर्छद पत्तै हुँदैन ।
३) तत्कालको राम्रो हेर्ने प्रवृत्ति: मानिसहरू सोच्ने गर्दछन् भोलि के हुने हो ठेगान छैन मन लागेको कुरा अहिले नगरेर कहिले गर्ने ? यो सोचाइ सबेैका लागि एकदमै उत्कृष्ट सावित हुन सक्दथ्यो यदि ‘मन लागेको कुरा’ राम्रा आदतहरूबाट गर्न सक्ने हो भने । तर अक्सर देखिने के हो भने भोलिको अनिश्चितताका नाममा आज नै मानिसले त्यस्ता नराम्रा बानीहरूको विकास गरिरहेको हुन्छ कि त्यसबाट भविष्य झनै अनिश्चित बनिरहेको हुन्छ ।
उदाहरणका लागि मानिस स्वास्थ्य र भविष्यको परवाह नगरी स्वादिष्ट र आकर्षक देखिने भोजनहरू मात्र नभई धुम्रपान, मद्यपान, लागुपदार्थ आदिको मज्जा लिन पनि पछि नपर्नुलाई नै लिन सकिन्छ । एकपटक मात्र भए पनि यस्तो त खानैपर्यो, यस्तो त लाउनैपर्यो, यस्तो त गर्नैपर्यो, यस्तो त बन्नैपर्यो भन्दाभन्दै आफू नराम्रा आदतहरुको दलदममा यसरी फसिरहेको हुन्छ कि पछि गएर चाहँदाचाहँदा पनि त्यसबाट निस्कन सकिरहेका हुँदैनन् । हामीसँग भएको सबै मकैलाई भुटेर त्यसको स्वाद लिइहाल्ने या त्यसमध्ये केही मकैलाई बिउको रुपमा प्रयोग गरेर पछिसम्मलाई मकै फलाइरहने भन्ने हाम्रै हातमा निर्भर रहन्छ ।
४) राम्रो परिणाम पर्खने धैर्य नहुनु: मानिसले आफूलाई दिनानुदिन यति “स्मार्ट” सोच्न थालेको छ कि धैर्य भन्ने कुरा नै बिस्तारै हराउँदै गएको छ । अहिले गरेको कामको नतिजा अहिले नै चाहिएको छ मानिसलाई । तुलनात्मक रुपमा हेर्दा राम्रा बानी व्यवहारबाट भन्दा नराम्रा बानी व्यवहारबाट छिटै परिणाम निस्कने गर्छ । हामीमाझ एउटा भनाइ प्रचलित छ, “दहीदुध खाए कहिले कहिले रक्सी खाए अहिलेको अहिले” । अमेरिकाका सोर्हौँ राष्ट्रपति अब्राहम लिङ्कनको सफलता र ख्यातिका पछाडि निरन्तर असफलताका बाबजुद उनले राखेको धैर्य र दृढ विश्वासलाई लिनुपर्ने हुन्छ । अनेक कष्ट, सङ्घर्ष र चुनौतीबाट गुज्रिएका लिङ्कन आफ्नो स्वभाव र सत्कर्ममा विश्वासका साथमा धैर्य राख्न नसकेका भए सफलताको उच्च विन्दुमा पक्कै पुग्न सक्ने थिएनन् ।
आम मानिसमा देखिने बिडम्बना के हो भने पैसा(धन), सुख तथा आनन्द तत्कालै प्राप्त होस् भन्ने ठान्ने गरिन्छ। एउटा लोककथामा भनिएजस्तो सुनको फुल पार्ने कुखुरीबाट हरेक दिन एउटा सुनको अण्डामा चित्त बुझाउन सक्दैन मानिस । तत्कालै कुखुरीको भुँडी चिरेर सबै सुनका अण्डा एकैपटक प्राप्त गर्नु छ आजको मानिसलाई । असल परिणामको लागि केही समय पर्खन सक्ने धैर्य नहुँदा मानिस सजिलैसँग गलत आनीबानीको सिकार भइरहेका छन् ।
५) परम्परालाई चुनौती: विश्वव्यापीकरणको प्रभावका कारण मानिसले आफूलाई सकेसम्म आधुनिक देखाउने होडबाजी चलिरहेको यत्रतत्र देखिन्छ । पहिलेबाट चल्दै आएका वा अरुले गरेका कुराभन्दा सकेसम्म फरक किसिमले प्रस्तुत हुन खोज्ने मानिसहरू धेरै भेटिन्छन् । परम्परामा चल्दा पछि परेको महसुस हुने गर्दछ उनीहरूलाई । तर सबैमा परम्परालाई चुनौती नै दिने साहस भने हुँदैन । मानिसको यस्तो मनस्थितिको फाइदा उठाउँदै नयाँ-नयाँ प्रचलनहरूको विकास गर्नेको जमात पनि सक्रिय भइरहेको हुन्छ । ट्याटु हान्नु, पप/रक/र्याप गीतहरू गाउनु, फेसनमा धेरै अदलबदल भइरहनु, बोलीमा नयाँनयाँ लवजहरू विकास हुनु यसैका उदाहरण हुन् । यस्ता नयाँ प्रचलनको विकास गर्ने मानिसहरू एकदमै कम सङ्ख्यामा हुन्छन् भने नौलो कुरा आएछ भन्दै त्यस्ता कुरालाई पछ्याउनेको जमात चाहिँ धेरै ठूलो हुन्छ । यस्ता कुराहरूको पछि लाग्दालाग्दै मानिसहरूमा कतिपय गलत बानीहरूको विकास सजिलैसँग भइरहेको हुन्छ ।
निष्कर्षमा भन्नुपर्दा नराम्रा बानीको लागि भन्दा राम्रा बानीको लागि बढी साहसको आवश्यकता पर्दछ । यही साहस जुटाउन नसकेर नै अधिकांश मानिस असफल भइरहेका हुन्छन् भने सफल हुने मानिसको सङ्ख्या एकदमै न्यून देखिन्छ । अर्थात् राम्रा बानी नै सफलताको पहिलो सुत्र हो । मानिसको गलत बानी व्यवहारलाई सुधार्ने सम्बन्धमा विवेकानन्दले भनेका छन् , “गलत बानीलाई सुधार्ने एकमात्र उपाय भनेको त्यसको प्रतिरोधी बानीको विकास गर्नु हो, राम्रा बानीले नराम्रा बानीका सबै प्रभावलाई नियन्त्रणमा राख्न मद्दत गर्दछ । राम्रा राम्रा कामतर्फ अग्रसर हुँदै जाने र निरन्तर असल विचारहरू मनमा लिने गर्नाले नराम्रा बानीको प्रभाव कम हुँदै जान्छ । मानिसको चरित्रलाई उसले देखाइरहने बानीहरूले निर्धारण गर्दछन् । यसको अर्थ राम्रो चरित्र निर्माणको लागि पनि राम्रा बानीहरू आफ्नो जीवनमा लागू गरिरहनु पर्दछ ।”
(लेखक मकवानपुर बहुमुखी क्याम्पसका विज्ञान संकायका प्राध्यापक हुनुहुन्छ ।)