प्रदेश छनोट प्रतियोगिताको उपाधि विजेता ललितपुरको क्रिकेट टिम ।

हेटौंडा : बागमती प्रदेश क्रिकेट संघले आयोजना गरेको प्रधानमन्त्री कप क्रिकेट छनोट प्रतियोगितामा मकवानपुर फाइनलमा पराजित भएको छ । बिहीबार काठमाडौंको मूलपानी क्रिकेट मैदानमा भएको फाइनल खेलमा ललितपुरसँग हार व्यहोर्दै मकवानपुर उपविजेता बनेको छ । ललितपुरले मकवानपुरलाई ६५ रनले पराजित गरेको हो ।

टस जितेर पहिले फिल्डिङ रोजेको मकवानपुरले ललितपुरलाई मध्यम स्कोरमै रोकेको थियो । पहिले व्याटिङ गरेको ललितपुर ४७ ओभर ३ बलमा १ सय ९२ रनमा अलआउट भयो । ललितपुरका लागि आदिल खानले ५५ रन, सूर्य तामाङले ३६ रन, आशुतोष घिरैयाले २८ रन, रोनिम तिवारीले २३ रन र विवेक राना मगरले २२ रन जोडे । मकवानपुरका लागि साकार गजुरेलले उत्कृष्ट बलिङ गरे । साकारले १० ओभर बलिङ गर्दा ५ ओभर मेडन राख्दै ललितपुरको ४ विकेट लिए । साकारले २२ रन मात्रै खर्चिए । मकवानपुरका समीर चौलागाईले २ विकेट लिए ।

१ सय ९३ रनको लक्ष्य लिएर जवाफी व्याटिङमा उत्रिएको मकवानपुर ३९ ओभर ५ बलमा १ सय २७ रन बनाउँदै अल आउट हुन पुग्यो । मकवानपुरका विशाल फुयाँलले सर्वाधिक ४१ रन बनाएका थिए । युविन बुढाथोकीले २५ रन र रिजन ढकालले १६ रन बनाएका थिए । ललितपुरको तर्फबाट नन्दन यादवले सर्वाधिक ४ विकेट लिएका थिए । सूर्य तामाङले ३ विकेट र विपिन आचार्यले २ विकेट लिएका थिए । फाइनल खेलको प्लेयर अफ द म्याच ललितपुरका सूर्य तामाङ घोषित भए ।