हेटौंडाः घरेलु तथा साना उद्योग कार्यालय हेटौंडाले हेटौंडा उपमहानगपालिका क्षेत्रका ३ वटा उद्योगको अनुगमन गरेको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको खतरालाई न्यून गरी उद्योग सञ्चालन भए नभएको विषयमा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख जगन्नाथ दाहालको नेतृत्वमा सशस्त्र प्रहरी बलको औद्योगिक सुरक्षा बलका नायव प्रहरी उपरीक्षक विनोद खतिवडा, मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपानेको पनि सहभागिता रहेको छ ।
हेटौंडा–३ स्थित युनिलिभर, साहारा ग्यास उद्योग र बसामाडी तारजाली उद्योगको अनुगमन गरिएको हो । अनुगमनका क्रममा काममा रहेका कामदारको संख्या, स्वास्थ्य सतर्कता तथा सरसफाईको व्यवस्थाका बारेमा हेरिएको थियो । सामान्य अवस्थामा ३ सिफ्टमा झण्डै तीन सय कर्मचारी तथा मजदुरले काम गर्ने युनिलिभरमा अहिले ४४ जनाले मात्रै काम गरिरहेको उद्योगका मानव संशाधन व्यवस्थापक नितिन रानाले जानकारी दिनुभयो ।
युनिलिभरले अहिले साबुन र टुथपेष्ट मात्रै उत्पादन गरिरहेको र उद्योगमा काम गर्ने कर्मचारी तथा मजदुरलाई ढुवानी गर्ने बसमा समेत भौतिक दुरी कायम गरिएको जनाएको छ । ४० सिटको बसमा भौतिक दुरी कायम गर्नकै लागि १८ जना मात्रै ढुवानी गर्ने गरेको साबुन र टुथपेष्ट उत्पादन गर्ने प्लान्टलाई एक/एक सिफ्ट मात्रै सञ्चालन गरेको रानाले जानकारी दिनुभयो । नियमित ज्वारो परीक्षण गर्नुका साथै साताको दुईदिन चिकित्सकले नै कामदार, कर्मचारीको स्वास्थ्य परीक्षण गर्ने गरिएको रानाको भनाइ छ ।
यस्तै साहारा ग्यास उद्योगले पनि भौतिक दुरी कायम गरेर उत्पादनको कार्य जारी राखेको उद्योगका व्यवस्थापक खड्ग बहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार साहारा ग्यास उद्योगमा सामान्य अवस्थामा जत्तिकै मजदुरले काम गरिरहेको छ । उद्योग परिसरमा प्रवेशमा कडाई गरिनुका साथै प्रवेश गर्ने हरेक व्यक्तिको ज्वारो परीक्षण गर्ने गरिएको थापाले बताउनुभयो । यता बसामाडी तारजाली उद्योग भने कच्चापदार्थ ढुवानी गर्न र उत्पादित सामग्री वितरणमा समस्या भएका कारण उत्पादन नै ठप्प थियो ।
तारजाली उद्योगका सञ्चालकलाई घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख जगन्नाथ दाहालले स्वास्थ्यका दृष्टिले आवश्यक सतर्कता अपनाएर उद्योग सुचारु गर्न सुझाव दिनुभयो । नेपाल सरकारले आवश्यक सतर्कता अपनाएर सञ्चालन गर्न अनुमति दिएका उद्योगहरुको सञ्चालनको अवस्थाका बारेमा घरेलु तथा साना उद्योग कार्यालयले अनुगमन गरिरहेको छ ।