हेटौँडा : मकवानपुरको बकैया गाउँपालिका–९, च्याउँच्याउँमा भर्याङबाट लडेका ४७ वर्षीय हर्कबहादुर भ्लोनको मृत्यु भएको छ । मंगलबार भर्याङबाट लडेर घाइते भएका भ्लोनलाई मंगलबार राती ९ बजेर २० मिनेटको समयमा उपचारका लागि हेटौँडा अस्पताल ल्याइएको थियो ।
गम्भीर घाइते भ्लोनलाई थप उपचारका लागि भरतपुर लगिएको थियो । भरतपुरमा पनि भ्लोनको उपचार सम्भव नभएपछि घर फिर्ता ल्याइएको थियो । भ्लोनको बुधबार बिहान ४ बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । भ्लोनले मादक पदार्थ सेवन गरेका कारण भर्याङबाट लडेको प्रहरीले उल्लेख गरेको छ ।