ध्रुव अधिकारी, अध्यक्ष टोल विकास संस्था नगर समन्वय समिति हेटौँडा

विश्व वातावरण दिवस २०८० को अवसरमा टोल विकास संस्था नगर समन्वय समिति हेटौँडा र हेटौँडा उपमहानगरपालिकाको समन्वयमा सप्ताहव्यापी कार्यक्रम भइरहेको छ । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत सोमबार कार्यक्रमको अन्तिम दिन रहेको छ । वातावरण संरक्षणमा समग्र रुपमा कस्ता कामहरु भए, भोलिका दिनमा टोल विकास संस्थाले वातावरण संरक्षणका लागि कस्तो कार्य गर्छ भनी टोल विकास संस्था नगर समन्वय समिति हेटौँडाका अध्यक्ष ध्रुव अधिकारीसँग समाज संवाददाता रामकृष्ण घोरासैनीले गर्नुभएको कुराकानीः

समाजः विश्व वातावरण दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रमहरु के के भए ?

अधिकारीः हामीले विश्व वातावरण दिवस २०८० को अवसरमा जेठ १६ गतेदेखि सप्ताहव्यापी कार्यक्रम गर्दै आइरहेका छौँ । यसअन्तर्गत जेठ २२ गते अर्थात जुन ५ को दिन वृहत वातावरण सचेतना र्याली र सप्ताहव्यापी कार्यक्रमको समापन गरी विश्व वातावरण दिवस मनाउँछौँ ।

समाजः उपमहानगरपालिकामा टोलविकास संस्थाहरुले वातावरण दिवसको समयमा मात्रै काम गर्ने नभई यसलाई कसरी निरन्तरता दिन सकिन्छ होला ?

अधिकारीः टोल विकास संस्थाहरुले निरन्तर रुपमा सफा हेटौँडा लगायतका विभिन्न अभियानहरु सञ्चालन गर्ने क्रममा वातावरण क्षेत्रमा सप्ताहिक वा पाक्षिक रुपमा निरन्तर सरसफाई अभियानलाई निरन्तरता दिँदै आइरहेका छन् । तर वातावरण दिवसमा हामीले सप्ताहव्यापी कार्यक्रमहरु गर्दै आएका छौँ । यो सन्दर्भमा वृहत वातावरणीय प्रदर्शन पनि गछौँ । मिडियामा यस्तो बेला मात्र अलि बढी चर्चा हुने भएकोले मात्र यस्तो देखिन गएको हो । तथापी हामी वातावरण संरक्षण, वातावरण सरसफाईको सन्दर्भमा निरन्तर रुपमा काम गर्दै आइरहेका गछौँ ।

समाजः हेटौँडा उपमहानगरभित्र वातावरणसँग सम्बन्धित समस्या र चुनौतीहरु के कस्तो देखिन्छ ? यसको न्यूनीकरणका लागि तपाईहरु कसरी अगाडि बढ्दै हुनुहुन्छ ?

अधिकारीः नगरभित्रको वातावरणसँग सम्बन्धी फोहोरमैला व्यवस्थापन प्रमुख चुनौतीको रुपमा देखिन्छ । वर्षाैदेखि फोहोर फाल्दै आएको राप्ती किनारको डम्पिङ साइड लगभग भरिसकेको अवस्था छ । त्यसकारण हामीले फोहोरलाई डम्पिङ साइडमा नफाली वैज्ञानिक ढङ्गले व्यवस्थापन गर्नुपर्छ भनी लागीपरेका छौँ । हामीले फोहोरमैलाहरुलाई त्यसको स्रोतमै वर्गीकरण गर्नुपर्छ भनी अभियानहरु पनि चलाएका छौँ । तर यो अभियान सोचेजस्तो प्रभावकारी हुन सकेको छैन । त्यसकारण यसलाई प्रभावकारी बनाउनका लागि नागरिक समाजसम्म गएर सचेतना जगाउने र टोल विकासमार्फत व्यक्तिसम्म पुग्ने अभियानहरु सञ्चालन भइरहेको छ ।

समाजः जुन ५ गते सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन के कस्ता कार्यक्रमहरु गर्ने तयारी छ ?

अधिकारीः विश्व वातावरण दिवसको अवसरमा भइरहेको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत हामीले शुरुका दिनमा हाम्रो प्राकृतिक सम्पदाको संरक्षण गर्नुपर्छ र हाम्रो बालबालिकालाई पनि स्वच्छ र सफा खोला हस्तान्तरण गर्नुपर्छ भन्ने उद्देश्यले कर्रा र राप्ती खोला सफा गर्यौ । यसपछि हामीले बालबालिकालाई पनि यो अभियानमा जोडेर लान सक्यो भने परिवार र समाजसम्म पनि सकारात्मक सन्देश पुग्छ भन्ने हिसाबले बाल क्लबस्तरीय वक्तृत्वकला पनि आयोजना गर्यौ । त्यसपछि हामीले “मेरो फोहोर, मेरो जिम्मेवारी” अभियान विद्यालयहरुमा चलायौँ । सँगसँगै अहिलेको युवायुवतीहरुको क्रेज सामाजिक सञ्जालमा धेरै भएकोले टिकटक प्रतियोगिता आयोजना गर्यौ।

यात्रुहरुलाई सचेतना जगाउनका लागि करिब ६ सय सार्वजनिक यातायातहरुमा वातावरणीय सन्देशमूलक स्टिकर टाँस्नुका साथै डस्टबिन वितरण गर्यौ । प्लाष्टिकको झोलारहित हेटौँडा बनाउनका लागि हामीले विभिन्न अन्तरक्रिया कार्यक्रमहरु र वातावरण संरक्षणसम्बन्धी सडक नाटक पनि गरिसकेका छौँ । यी सबै कार्यक्रमहरुको अन्तिम दिनको रुपमा हामीले भोलि (सोमबार) को दिनलाई लिएका र्छौ । सोमबार हामी वातावरण सचेतनामूलक र्यालिको आयोजना गर्ने र प्लाष्टिक विस्थापित गर्ने उद्देश्यले कपडाको झोला वितरण गरी कार्यक्रम समापन गर्नेछौँ ।

समाजः टोल विकास संस्थाहरुलाई वातावरण संरक्षणसम्बन्धी कार्यक्रमहरुमा कसरी अगाडि लग्नुहुन्छ ?

अधिकारीः वातावरण संरक्षण र सम्बद्र्धन भनेको हामी सबैको दायित्व र जिम्मेवारी हो । दुई चार जनाले वा कुनै समुदायले सोचेर वा काम गरेर मात्र यो वातावरण संरक्षण हुन सक्दैन । जबसम्म हरेक व्यक्तिले वातावरण संरक्षणको सन्दर्भमा मेरो जिम्मेवारी हो भन्ने सम्झिँदैन तबसम्म यो सफल हुन सक्दैन । हामी कुनै सार्वजनिक स्थान, बसपार्क वा कुनै बजार विशेष सरसफाई गरिरहेका छैनौँ । हामीले अहिले १९ वडामा रहेका ३ सय ६५ वटै टोल विकास संस्थालाई आह्वान गरी यो अभियान सञ्चालन गरेका छौँ । त्यो सन्दर्भमा प्लाष्टिकरहित हेटौँडा बनाउन, टोलविकास संस्थाहरुलाई जोडेर अघि बढ्न र सफा हेटौँडा बनाउन हामीले नगरपालिकालाई अनुरोध गरेका छौँ ।