र्यालीमा सहभागिहरुको सामुहिक तस्वीर ।

हेटौँडाः ५१ औँ विश्व वातावरण दिवसको अवसरमा टोल विकास संस्थाहरुले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रम सम्पन्न भएको छ । सोमबार हेटौँडा उपमहानगरपालिका भित्र रहेका टोल विकास संस्थाहरुले र्यालिको आयोजना गरेको थियो । हुप्रचौरबाट सुरुभएको र्यालि शितलमहल चोक, पारिजातपथ, ओम भवन, बुद्ध चोकहुँदै रोयल पार्टी प्यालेसमा गएर समापन भएको थियो ।

र्यालिमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, बागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी, भारती पाठक, एका लाल श्रेष्ठ, हेटौँडा उपमाहानगरपालिकाकी प्रमुख मिना कुमारी लामा, हेटौँडा उपमहानगरपालिकाका वडा अध्यक्षहरु, टोल विकासका संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

कार्यक्रममा टोल विकास संस्था दर्पण पुस्तिका समेत विमोचन गरिएको छ । कार्यक्रममा टोल विकासमा रहेर वातावरण संरक्षणमा सहयोग पुर्याउने रामकृष्ण थापा र ज्ञान बहादुर थापालाई सम्मान गरिएको थियो । कार्यक्रमका बीच सप्ताहव्यापीरुपमा आयोजना भएका कार्यक्रममा उत्कृष्ट हुने प्रतियोगीहरुलाई पुरस्कृत गरिएको छ ।