श्यामप्रसाद श्रेष्ठ


“यो कुनै कथा होइन, यो मैले देखेको र आफैँले भोगेको व्यथा हो । विज्ञान तथा प्रविधिको नयाँ–नयाँ आविष्कारको कारण विश्व चर्मोत्कर्षमा पुगिसकेको पनि शताब्दि भइसकेको थियो । विश्वका अधिकतम राष्ट्रहरु ब्रम्हाण्डमा महाशक्तिशाली बन्ने दौडमा प्रतिस्पर्धा गरिरहेका थिए । विश्व एउटा विज्ञानको नयाँ–नयाँ आविष्कारको खुल्ला प्रयोगशाला जस्तो देखिन्थ्यो । अब ब्रम्हाण्डमा विज्ञानको नयाँ आविष्कारको अन्त्य भयो होला जस्तो लाग्दथ्यो, तर विज्ञान तथा प्रविधिको यात्रा अझ निरन्तर अन्तहिन गन्तव्यतर्फ फड्को मार्दै थियो । परिणामस्वरुप सिंगो पृथ्वी गगनचुम्बी कंक्रिट भवनको शहर जस्तो देखिन्थ्यो । विश्व एउटा विषाक्त ग्याँस उत्पादन गर्ने विशाल औद्योगिक क्षेत्र जस्तो देखिन्थ्यो ।

पृथ्वी रासायनिक तथा आणविक युद्ध सामग्री उत्पादन भण्डार जस्तो देखिन्थ्यो । पृथ्वीमा मानवका लागि आवश्यक खाद्यान्न उब्जाउन उर्वरा भूमिको अभाव भैसकेको थियो । पृथ्वीमा विभिन्न मानवीय गतिविधिका कारण प्रकृतिको नाश भैसकेको थियो । अत्यधिक कार्बन उत्सर्जन भै तापक्रम वृद्धिको कारण विश्वका सबै हिमालहरु हिउँविहिन नांगो ढुङ्गाको पहाडको रुपमा परिवर्तन भैरहेको थियो । विश्वका ठुल–ठुला पहाडहरु विस्तारै भु–स्खलन र भु–क्षयको कारण मरुभूमिमा परिणत हुँदै थियो । साना–ठुला पानीको मुहानहरु कुवा, इनार, खोला–नाला, पोखरी, ताल झरना सबै सुकिसकेका थिए । समुन्द्र सुकेर ताल, पोखरी जस्तो देखिएको थियो ।

शक्तिशाली देशहरुबीच पानीको मुहानका लागि बेला–बेलामा युद्ध हुने गर्दथ्यो । समुन्द्रले निलेको समुन्द्र छेउका कैयौ देशहरु फेरि अस्तित्वमा देखिएको थियो । पृथ्वीमा अक्सिजन ग्यासको अभावको कारण विकसित राष्ट्रहरुले आफ्ना धनी जनताहरुलाई अन्तरिक्षका साथै मंगलग्रह, चन्द्र ग्रहका साथै अन्य ग्रहहरुमा सुरक्षित बसाईँ सारिसकेका थिए । विकसित राष्ट्रहरुले अन्तरिक्षमा अक्सिजन ग्यासको प्लान्ट खोली पृथ्वीका सबै देशहरुमा भण्डारण गरी घर–घरमा पाइप लाइन बिछ्याई ग्यास बिक्री वितरणको व्यवस्था मिलाइएको थियो । मानिसहरु श्वास प्रश्वासका लागि पछाडि पिठ्युमा ग्यासको सिलिण्डर बोकेर नाकमुखमा अक्सिजनको पाइप जोडेर बाँचिरहेका थिए ।

ब्रम्हाण्डमा मानव बाहेक अन्य प्राणी लोप भैसकेका थिए । मानव जातिको प्राण पनि दिन प्रतिदिन संकटमा पर्दै थियो । विश्वको अधिकांश देशहरुले आ–आफ्नो यानहरु सुरक्षित राख्न खुल्ला आकाश पनि विभाजन गरी आआफ्नो नियन्त्रणमा राखेका थिए । एक पटक चन्द्र ग्रहमा पानीको स्रोतको उपयोग बारेमा शक्तिशाली राष्ट्रहरुबीच बढेको विवादको कारण धेरै लामो समय आकाश मार्गमा यानहरुको आवत–जावत अवरुद्ध भै पृथ्वीको अन्य ग्रह तथा अन्तरिक्ष बीच व्यावसायिक कारोबार साथै अन्य सबै सम्बन्धबिच्छेद हुन पुग्यो ।

सम्बन्धबिच्छेद भएको एक शताब्दीपछि एउटा यान पृथ्वीमा अवतरण भयो । उक्त यानबाट अग्ला–अग्ला मोटाघाटा केही मानव जस्तो देखिने केही समुह एउटा ठूलो बन्द बाकस लिएर धर्तीमा ओर्लियो । धर्तीमा ओर्लिने बित्तिकै सबैले धर्तीलाई शिर निहुरिएर ढोगे । तिनीहरुले उभिएर शीर ठाडो गर्दै टाढा–टाढासम्म धर्तीलाई नियाले । निस्तब्ध प्राणिबिहिन सुनसान धर्ती देखे । अनि मानवले निर्माण गरेको विकासको खण्डहर हेरे । ती मध्ये एकले धर्तीको माटो हातमा उठाउँदै बोल्यो, “मेरो पूर्वज मानवको आश्रयस्थल हे धर्ती माता ! म मेरो पूर्वज मानवको सन्ततिको नाताले प्रकृतिको जुन संहार स्वयम् मानवले ग¥यो त्यसका लागि म क्षमा याचना गर्दछु । हे मेरो पूर्वज मानव ! तिमीले शक्तिशाली बन्ने दौडमा विज्ञान र प्रविधिको दुरुपयोग गर्यौ, कार्वन उत्सर्जन अधिकतम गर्यौ, वातावरण संरक्षणको विश्वव्यापी नारालाई सिर्फ पाखण्ड ठान्यौ, प्रकृतिलाई निजि उपयोगको बस्तु ठानी प्रकृतिको विनाश ग¥यौ । विज्ञान र प्रविधिलाई कलंकित बनायौ । अब यो उजाड मरभूमिलाई म पुनः प्राणी बस्न योग्य धर्तीको रुपमा परिवर्तन गर्न वातावरण संरक्षण गर्ने प्रण गर्दछु ।” भन्दै उसले सँगै ल्याएको ठूलो बाकस खोल्यो । त्यहाँ थुप्रै बिरुवाहरु थिए । ती बिरुवाहरुलाई खाल्डो खन्दै उसले वृक्षरोपण गर्दै थियो । यहि क्रममा यत्रतत्र छरिएर रहेको सिलिण्डरलाई देखाउँदै एकले सोधे, “यो सिलिण्डर जताततै देखिन्छ, किन हो ?” उसको प्रश्न सुनेर पहिलोले जवाफ दियो, “पृथ्वीमा मानवलाई सास फेर्न अक्सिजन ग्यास धर्तीमा नभएकोले हामीले हाम्रो ग्रहबाट अक्सिजन पठाएका थियौं र यिनिहरु बाँचिरहेका थिए । जब आकाश मार्ग धेरै लामो समय अवरुद्ध भयो तब पृथ्वीमा भएको सबै मानवहरु अक्सिजन ग्यासको अभावमा मरे । ती सबै मरेपछि लाश कुहिएर माटोमा मिल्यो, अनि यो सिलिण्डर मात्र देखिएको हो ।” भन्दै वृक्षरोपण गर्न थाले ।

अब हे सिलिण्डर ! तिमी नै भन ! के तिनिहरुले भने जस्तो म मरिसकेको छु ? के अहिले हामी दुबै जिवित होइन र ? हे सिलिण्डर मैले मेरो सबै व्यथा तिमीलाई सुनाएँ । तिनिहरुले वृक्षरोपण गरेको देखेर फेरि पनि बाँच्ने आशा पलाएर आयो ।” तिनीहरु वृक्ष लिएर अगाडि बढन लागेको देखेर मैले तिनीहरुलाई बोलाउँदै भने, “मलाई सास फेर्न गाह्रो भो ! त्यो एउटा वृक्ष मेरो नजिक पनि रोपिदेउ न ! अलिकती अक्सिजन हावा पाए बाँच्ने थिएँ ।”

तर तिनिहरुले सुनेनन्, म फेरि चिच्याएर कराएँ, “म बाँच्न चाहन्छु, म बाँच्न चाहन्छु ।” म निसासिँदै छटपटिएँ । छटपटिँदै गर्दा म कहिँबाट झरेँ जस्तो लाग्यो । चारैतिर हेरेँ, पलङबाट भुइँमा झरेको रहेछु । “हैट ! कस्तो डरलाग्दो सपना पो देखे छु ? सोचेँ, “साँच्चिनै यो सपना यो धर्ती र प्राणी जगतको निमित्त सम्भाव्य दुर्घटनाको एउटा पूर्व संकेत हुनु पर्दछ, यसैले यसको बचाउ र रोकथामका लागि आजैदेखि म वातावरण संरक्षण र प्रबद्र्धनको निमित्त वृक्षरोपण गर्दछु । तपाई नि..?”