हेटौँडाः एक सातायता देशभर गर्मी उच्च बढेको छ । गर्मी मौसममा गर्मी हुनु अन्यथा होइन । तर, जनजीवन नै प्रभावित हुने गरी उच्च गर्मी हुँदा समस्या सिर्जना भएको छ । विशेषगरी विद्यालयमा दिउँसो विद्यार्थीले असहज अवस्थाको सामना गर्नुपरेको, विद्यार्थी बेहोस् हुने, स्वास्थ्यमा समस्या देखिएको भन्दै देशभर पालिकाले विद्यालय विदा दिने निर्णयको लहर चल्दै गर्दा मकवानपुरका पालिकाहरुमा पनि विद्यालय विदाको निर्णय गर्ने क्रम सुरु भयो ।

उच्च गर्मीको प्रभावका कारण मकवानपुरका पालिकाहरुको विद्यालय विदा गर्ने विषयमा गरेका निर्णयहरुलाई हेर्यौं भने विद्यालय शिक्षाको जिम्मेवारी पाएको पालिकाले शिक्षामा भद्रगोल गरिराखेको स्पष्टै हुन्छ । शुक्रबार हेटौँडा उपमहानगरपालिकाको कार्यपालिका बैठकले विद्यालयमा विदा दिने नदिने निर्णय गर्ने जिम्मा वडालाई दिने निर्णय गर्यो । पालिकाले निर्णय गर्न नसक्दा वा निर्णय गर्न नचाहँदा, नजान्दा वडा वडाले पाएको जिम्मेवारी पूरा गर्ने क्रममा शनिबार नै केही वडाले प्रधानाध्यापक, अभिभावकसँगको परामर्शमा विद्यालय विदा दिने निर्णय गर्न सुरु गर्यो । वडा–वडाले आआफ्नो तरिकाले विदा गर्ने निर्णय गर्दै गर्दा विद्यार्थी र अभिभावकमा अन्यौलता सिर्जना हुने अवस्था रह्यो ।

शनिबार दिउँसोसम्ममा वडा नम्बर ४ र ५ ले आइतबारदेखि ३ दिन विदा दिने निर्णय गर्दै गर्दा १५ नम्बर वडाले आइतबार र सोमबार दुइदिन मात्रै विदा दिने निर्णय गरेको थियो । १९ वटा वडा भएको हेटौँडाका अन्य वडाको अवस्था के हुने ? सामाजिक सञ्जालमा पालिका र नगर प्रमुखकै अकर्मण्यता भन्दै आलोचना हुन थालेपछि अन्ततः पालिकाले शनिबार साँझ नै जेठ २१ गतेदेखि २६ गतेसम्म विद्यालय विदा दिने निर्णयको सूचना प्रकाशित गर्यो । विद्यालय सुचारु राख्ने वा विदा दिने निर्णयमा पालिकाको ठोस् बुझाइ नै छैन । दवावमा हरेक दिन, दिनमै अनेक पटक अनेक निर्णय गर्न तयार हुने पालिकाले शिक्षाको दीर्घकालिन योजना कसरी बनाउला ?

यस्तै मकवानपुरको मनहरी गाउँपालिकाले आइतबार बिहान एउटा सूचना सार्वजनिक गर्दै सोमबारदेखि बिहान पठनपाठन गर्ने निर्णय गर्यो। मनहरीले फेरि दिउँसो अर्को सूचना जारी गर्यो सोमबारदेखि विद्यालय विदा दिने भनेर । बकैया गाउँपालिकाबाट सुरु भएको विद्यालय विदा दिने निर्णय हेटौँडा, मनहरी, मकवानपुरगढी, राक्सिराङ, कैलाश हुँदै बागमती गाउँपालिकासम्म पुगेको छ । मकवानपुरको भीमफेदी र इन्द्रसरोवर गाउँपालिका र थाहा नगरपालिकाले भने अहिलेसम्म विदाको निर्णय गरेको छैन । तुलनात्मक रुपमा यी पालिका उच्च पहाडी क्षेत्रमा पर्ने भएकोले मौसमका दृष्टिले शिलत हुने क्षेत्रमा पर्दछ ।

यतिबेला हेटौँडा उपमहानगर र मनहरीको निर्णयलाई हेर्ने हो भने विद्यालय तहको शिक्षाको जिम्मेवारी पाएको पालिकाहरुले शिक्षामा भद्रगोल छ भन्ने बुझ्न कठिन हुन्न । पालिकाका लागि शिक्षा संवेदनशील र जिम्मेवार क्षेत्रको रुपमा पर्नुपर्ने थियो । तर, त्यसो हुन सकेन । यता दिवा स्याहार केन्द्रको रुपमा रहेको मण्टेश्वरीहरुले समेत विद्यालय तहकै सिको गर्दै पठनपाठन बन्द गरेको छ । स्याहार केन्द्रका लागि पठनपाठन हुनुभन्दा विदा गर्नु आर्थिक लाभको अवसर रहन्छ । खर्च नहुनु भनेको आर्थिक लाभ हुनु नै हो । उच्च गर्मीका कारण ती विद्यार्थीलाई समस्या भएको हो जहाँ विद्यार्थीको अनुपात बढी छ । विद्यार्थीको औसत अनुपात व्यवस्थापनतर्फ पालिकाको ध्यान जानुपर्छ भन्ने बुझ्न अब ढिलाई गर्नुहुन्न ।

उच्च गर्मीमा पठनपाठन प्रभावित हुने कक्षाकोठामा सामान्य अवस्थामा सिकाई प्रभावकारी हुन सक्दैन । नियमित सामान्यरुपमा चलिरहेको कुनै काम जस्तो होइन शिक्षा । शिक्षाले नयाँ र उपयोगी ज्ञान दिने अवस्था सुनिश्चित गरिनुपर्छ । यतिबेला शिक्षकले उच्च गर्मीको समयमा विद्यार्थीको सहजताका लागि आवश्यक तयारी गर्न नसक्नुले बालबालिकाप्रति शिक्षक जिम्मेवार छैनन् भन्ने स्पष्ट हुन्छ । विद्यालय न शिक्षकका लागि रुचिकर स्थान बन्न सक्यो, न विद्यार्थीकै लागि । अभिभावकका लागि भने बालबालिकाको दिवाकालिन समय व्यवस्थापन हुने अवसरको रुपमा मात्रै सीमित हुनुले हाम्रो शिक्षामा भद्रगोलको अवस्थालाई पुष्टि गर्छ । जनताका प्रतिनिधिले जनताका तात्कालिक सहजता र जनताको दवावमा निर्णय गर्दै जाने तर, औचित्य र आवश्यकताका बारेमा वास्तविक निर्णय गर्न नसक्नु गम्भीर चिन्ताको विषय हो ।