हेटौंडा–१३ को फुटबल टिम ।

हेटौँडाः तेस्रो संस्करणको हेटौँडा मेयर कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनल समीकरण पूरा भएको छ । प्रतियोगिता अन्तर्गत आइतबार ३ खेल सम्पन्न भएसँगै प्रतियोगिताको क्वार्टरफाइनल समीकरण पूरा भएको हो ।

आइतबार भएको खेलमा १३ नम्बर, १४ नम्बर र १५ नम्बर वडा विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा १० नम्बर वडालाई २–१ गोलअन्तरले हराउँदै १३ नम्बर वडा क्वार्टरफाइनल प्रवेश गरेको हो । १३ नम्बरको जितमा सोहन स्याङ्तान र महेश वाईबाले एक–एक गोल गरे । म्यान अफ द म्याच वाईबा घोषित भए । १० नम्बरका लागि प्रीतम स्याङ्बोले गोल गरेपनि टोलीलाई हारबाट जोगाउन भने सकेनन् ।

यस्तै १८ नम्बरलाई टाइब्रेकरमा ५–४ गोलअन्तरले हराउँदै १५ नम्बर वडा क्वार्टरफाइनल प्रवेश गरेकोे हो । निर्धारित खेल समय १–१ गोलको बराबरीपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । १८ नम्बरले एक गोल आत्मघाती उपहार पाएको हो । १५ नम्बरका लागि ऋषि मोक्तानले एक गोल गर्दै टिमलाई बराबरीमा फर्काउन सफल भएका थिए । म्यान अफ द म्याच १५ नम्बरका गोलरक्षक अनिल लो घोषित भए ।

यस्तै, आइतबार बिहान भएको खेलमा १२ नम्बर वडालाई ३–२ गोलअन्तरले पराजित गर्दै १४ नम्बर क्वार्टरफाइनल प्रवेश गरेको हो । शुक्रबार दुई वडाबीच ११ मिनेटको खेल समय जारी रहेको बेला अवरोधपछि रोकिएको थियो । सोही समयमा १४ नम्बरले १२ नम्बरविरुद्ध २ गोल गरेको थियो । शुक्रबार स्थगित समयदेखि नै आइतबार खेल सुरु गरिएको हो । आइतबारको खेलमा १२ नम्बरका लागि अमृत गोले र अभिषेक गोलेले एक–एक गोल गरे । म्यान अफ द म्याच अभिषेक घोषित भए । १४ नम्बरका लागि उमेश गोङ्बाले गोल गरे । शुक्रबारको खेलमा गोङ्बा र प्रताप थोकरले एक–एक गोल गरेका थिए ।

प्रतियोगिताको क्वार्टरफाइनलका खेलहरु सोमबारबाट सुरु हुँदैछ । सोमबारको पहिलो क्वाटरफाइनल खेलमा ९ नम्बर वडा र १४ नम्बर वडाबीच प्रतिस्पर्धा हुनेछ । सोमबारको दोसो क्वार्टरफाइनल खेलमा १ नम्बर वडा र ११ नम्बर वडाबीच प्रतिस्पर्धा हुनेछ । क्वार्टरफाइनल अन्तर्गत मंगलबारको पहिलो खेलमा १५ नम्बर वडा र १९ नम्बर वडाबीच प्रतिस्पर्धा हुनेछ । यस्तै दोस्रो खेल २ नम्बर वडा र १३ नम्बर वडाबीच हुनेछ ।

प्रतियोगिताको सेमिफाइनलका खेलहरु बुधबार र बिहिबार हुनेछ भने फाइनल शनिबार हुनेछ । प्रतियोगिताको विजेता टिमले नगद २ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । सेमिफाइनल प्रवेश गर्ने दुई टिमले ५०–५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै विधागत उत्कृष्ट खेलाडीहरुले ५–५ हजार रुपैयाँ प्राप्त गर्ने जनाएको छ ।