आज सोमबार ५१ औं विश्व वातावरण दिवस मनाइँदैछ । हरेक वर्ष जुन ५ तारिखमा विश्वभर वातावरण दिवस मनाउने गरिन्छ । सन् १९७२ को ५ जुनदेखि १६ जुनसम्म संयुक्त राष्ट्रसंघले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो । सम्मेलनको एक वर्षपछि ५ जुन १९७३ मा पहिलो पटक विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो । त्यसपछि निरन्तर यो दिवस मनाउने काम भइरहेको छ । पर्यावरणप्रति विश्वस्तरमा राजनीतिक र सामाजिक जागृति ल्याउने उद्देश्यले यो दिवस मनाउन थालिएको हो । आर्थिक, सांस्कृतिक र राजनीतिक उद्देश्यले वातावरणीय र पर्यावरणीय मुद्दाहरुबारे समाजमा चेतना अभिवृद्धि गर्ने उद्देश्य र एजेण्डा बोकी यो दिवस मनाउने गरिएको छ । नेपालमा पनि यो दिवस मनाउन थालिएको धेरै वर्ष भइसकेको छ । वातावरण दिवसको अवसरमा देशभर सरकारी तथा गैरसरकारी क्षेत्रबाट विभिन्न कार्यक्रम आयोजना हुने गरेका छन् । यस वर्षको वातावरण दिवसको नारा ‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौं, वातावरणमैत्री विकल्पको उपयोग गरौं’ भन्ने रहेको छ ।
हेटौंडामा पनि वातावरण दिवसको अवसरमा साताव्यापी कार्यक्रम गरिएको छ । जेठ १६ गतेदेखि जेठ २२ गतेसम्म सप्ताहव्यापी कार्यक्रम भएका छन् । सप्ताहव्यापी कार्यक्रमको पहिलो दिन जेठ १६ गते बिहान राप्तीखोला विशेष सरसफाई गरिएको थियो । जेठ १६ गतेदेखि २१ गतेसम्म आकर्षक पुरस्कारसहित वातावरण संरक्षणसम्बन्धी चेतनामूलक टिकटक प्रतियोगिता आयोजना गरिएको छ । जेठ १७ गते पर्यावरण संरक्षणसम्बन्धी खुला कविता प्रतियोगिता भएको थियो भने सार्वजनिक सवारी साधनमा स्टीकर टाँस्ने तथा डस्टवीन वितरण गर्ने कार्यक्रम सम्पन्न भएको छ । यस्तै, १८ गते बिहान वातारण संरक्षण तथा लागूपदार्थ दुव्यर्सनीविरुद्ध सडकनाटक प्रदर्शन तथा ४० माईक्रोनभन्दा कमको प्लाष्टिक झोलामा लगाइएको प्रतिबन्ध सम्बन्धमा सरोकारवालाहरुसँग अन्तरक्रिया गरिएको छ । १९ गते रक्तदान तथा बालक्लबस्तरीय वक्तृत्वकला प्रतियोगिता गरिएको छ । २० गते शनिबार सफा हेटौंडा अभियानअन्तर्गत् विशेष सरसफाई कार्यक्रममा १९ वटै वडाका टोल विकास संस्थाहरुले सरसफाइ गरेका छन् । सोही दिन वातावरण सचेतनासम्बन्धी साइकल र्याली तथा सम्मान कार्यक्रम र फलफूलका वृक्षरोपणसमेत गरिएको छ । साताव्यापी कार्यक्रममो अन्तिम दिन आज सोमबार वातावरण सचेतनासम्बन्धी र्यालीसहित समापन, पुरस्कार वितरण तथा सम्मान कार्यक्रम हुँदैछ ।
वातावरण दिवस मनाउन थालेको ५ दशक पूरा भए पनि वातावरणीय समस्या थप जटिल बन्दै गएको छ । पछिल्लो समयमा जलवायु परिवर्तनले विश्वब्यापीरुपमा थुप्रै समस्या निम्त्याइरहेको छ । जलवायु परिवर्तनका कारण पृथ्वीको पर्यावरणीय सन्तुलन नै खल्बलिन थालेको छ । विश्वब्यापीरुपमा बढ्दै गएको जलवायु परिवर्तनको असरले नेपाललाई समेत प्रभावित पारिरहेको छ । जलवायु परिवर्तन तथा वातावरणीय असन्तुलनकै कारण कतै खडेरी, कतै अति बर्षात्जस्ता प्राकृतिक प्रकोप बढेका छन् । बढ्दो विश्वव्यापी तापमान र यसको परिणामस्वरुप गर्मी बढेर हिमाली क्षेत्रको हिउँ पग्लिने क्रम बढ्दो छ । हिउँ पग्लने क्रम बढ्दै गएपछि हिमालहरु कालापत्थर हुने खतरा बढ्नुका साथै समुद्र सतहको उचाइ बढ्दै जाँदा समुद्री किनारका शहरहरु डुबानमा पर्ने सम्भावना उच्च बनेको छ । कार्बनजन्य र अन्य औद्योगिक ग्यासको बढ्दो उत्पादन र प्रयोगले वायुमण्डमा ओजोन तहको विनाश पनि बढ्दै गएको छ । वनजंगल र वन्यजन्तुहरु मासिने क्रममा छन् ।
बढ्दो वातावरणीय विनाशका कारण विश्वव्यापीरुपमा देखिएका समस्या समाधानका लागि वातावरण दिवसले आवश्यक सचेतना प्रदान गर्नु आवश्यक छ । वातावरण सन्तुलन राख्न प्रकृतिको संरक्षण गर्नुपर्छ । यसका लागि आम मानिसका क्रियाकलाप प्रकृतिमैत्री हुनुपर्छ । केही औपचारिक कार्यक्रम गरेर वातावरण दिवस मनाइरहँदा यसले हामीलाई प्रकृतिको माया गर्न सिकाउन सक्नुपर्छ । जीवन र प्रकृतिबीचको सम्बन्ध सबैलाई बुझाउनुपर्छ । वातावरण विनाशप्रति सचेत भई वातावरण संरक्षणका लागि सधैं अग्रसरता देखाउनु आवश्यक छ ।