हेटौँडाः मकवानपुर क्रिकेट संघले वाइवाइ यु–१९ पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिता २०८३ का लागि जिल्लास्तरीय खेलाडी छनोट गर्न आह्वान गरेको छ । संघले सोमबार एक सूचना जारी गर्दै छनोट प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडीहरूका लागि दर्ता फर्म खुला गरेको हो ।
सन् २००८ सेप्टेम्बर १ पछि जन्मेका खेलाडीहरूले मात्र दर्ता फर्म भर्न पाउने र प्रतियोगितामा भाग लिन पाउनेछन् । दर्ता फर्म भरेका खेलाडीहरूलाई ४ वटा टिममा विभाजन गरिनेछ । छनोट प्रक्रिया अन्तर्गत प्रत्येक टिमले एकअर्कासँग एकदिवसीय अभ्यास खेल खेल्ने मकवानपुर क्रिकेट संघका सदस्य तथा प्रतियोगिताका संयोजक संजोग पोखरेलले जानकारी दिनुभयो ।
अभ्यास खेलको प्रदर्शनका आधारमा सुरुमा २२ जना खेलाडीलाई छनोट गरिनेछ । त्यसपछि उत्कृष्ट १४ जना खेलाडीलाई बागमती प्रदेशस्तरीय छनोटमा पठाइनेछ भने ४ जना वैकल्पिक खेलाडीको रुपमा रहनेछन् ।
नेपाल क्रिकेट संघ (क्यान) बाट आधिकारिकता पाएका बागमती प्रदेशका ६ वटा जिल्लाहरू मकवानपुर, चितवन, नुवाकोट, ललितपुर र भक्तपुरबिच प्रदेशस्तरीय छनोट प्रतियोगिता हुनेछ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार प्रदेशस्तरीय छनोट प्रतियोगिता अगामी जुन महिनामा हुनेछ भने राष्ट्रिय प्रतियोगिता अगामी सेप्टेम्बर र अक्टोबर महिनामा सञ्चालन गरिनेछ ।










