पुरस्कार वितरणपछि सामूहिक तस्वीर खिचाउँदै ।

हेटौँडाः जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा हेटौँडामा आयोजित वतृत्वकला प्रतियोगितामा कृतिका लौडारी प्रथम भएकी छिन् । आइतबार सामाजिक अभियान सञ्जाल, हेटौँडा–४ को आयोजना, स्वतन्त्र विद्यार्थी युनियन, हेटौँडा क्याम्पसको व्यवस्थापन तथा ४ नम्बर वडा कार्यालयको विशेष सहयोगमा भएको वक्तृत्वकला प्रतियोगितामा लौडारी प्रथम भएकी हुन् ।

“सामाजिक विकासका लागि जातीय विभेद एक चुनौति” विषयक प्रतियोगितामा प्रथम भएकी लौडारी कृषि तथा वन विश्वविद्यालयकी विद्यार्थी हुन् । यस्तै हेटौंडा क्याम्पसकी आकृति घिमिरे द्वितीय र सिद्धार्थ माविकी प्रकृति अर्याल तृतीय भएका छन् । यस्तै महेन्द्र किरण माविका रोशन लामिछाने सान्त्वना भएका छन् । प्रतियोगिताको प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई क्रमशः ५ हजार, ३ हजार, २ हजार र सान्त्वनालाई १ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा विभिन्न शैक्षिक संस्थाबाट २३ जना विद्यार्थीको सहभागिता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि ४ नम्बर वडाका अध्यक्ष नवीन सिग्देलले मानवीय विभेद आज पनि समाजमा रहेको बताउनुभयो । यसले सामाजिक विकासमा अवरोध र समस्या सिर्जना गरिरहेको बताउनुभयो । उहाँले कागजमा मात्र नभई व्यवहारबाट नै विभेद अन्त्य हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा गैससकी महिला नेतृ सुनिता दर्नाल, केन्द्रीय प्रशिक्षण विभाग सदस्य कमलकुमार विश्वकर्मा, गैसस मकवानपुरका उपाध्यक्ष कुमारी वाईबा, शैक्षिक गुणस्तरीय सुधार समिति, हेटौँडा–४ का अध्यक्ष श्रीराम दाहाल, वडा कार्यालयका सचिव टीका कँडेल, मकवानपुर क्याम्पसका स्ववियु सभापती छोईसाङ लामा, स्ववियु हेटौँडा क्याम्पसका अध्यक्ष अभि मैनाली लगायतको उपस्थिति रहेको थियो ।