हेटौँडाः हेटौँडा–९ मा बुधबार एकसाथ १ सय ५८ पिन्ट रगत संकलन भएको छ । विश्व सुसमाचार समाज परमेश्वरको मण्डलीको आयोजनामा बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्री कुमारी मुक्तान, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलान, वडा अध्यक्ष सुकराम केसी, नेपाल रेडक्रस सोसाइटी मकवानपुरका सभापति लालबहादुर थापाको उपस्थितिमा रक्तदान कार्यक्रम भएको हो ।
गत आर्थिक वर्ष र चालु आर्थिक वर्षमा एक साथ यतिधेरै रगत संकलन भएको थिएन । छिमेकी चितवन जिल्लामा रगतको अभाव भएको खबर प्राप्त भएपछि रक्तसञ्चार केन्द्र हेटौँडाले ठूलो परिमाणमा रगत संकलन गरेको रक्तसञ्चार केन्द्रका प्रमुख टंकप्रसाद दाहालले जानकारी दिनुभएको छ । संकलित रगत मध्ये एक सय पिन्ट रगत चितवन पठाइने दाहालले बताउनुभयो ।
गत आर्थिक वर्षमा ३० हजार ३२ पिन्ट रगत संकलन गरेको रक्तसञ्चार केन्द्रले चालु आर्थिक वर्षमा ३ हजार पिन्ट भन्दा बढी रगत संकलन गरिसकेको छ । चालु आर्थिक वर्षमा गत आर्थिक वर्षको तुलना बढी रगत संकलन गरिने दाहालले दावी गर्नुभएको छ । यसअघि आइतबार, सोमबार र मंगलबार पनि लगातार तीन दिन रक्तदान कार्यक्रम भएका थिए ।