भलिबल प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलन ।

हेटौँडाः भोलि मंगलबारदेखि खुल्ला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्व. केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान र मकवानपुर जिल्ला भलिबल संघको संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको हो । आइतबार दिउँसो मकवानपुर जिल्ला खेलकुद विकास समितिमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी गराएको छ ।

प्रतियोगितामा नेपाल आर्मी, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, मकवानपुर जिल्ला भलिबल संघ, बागमती प्रदेश भलिबल टिम, मधेश प्रदेश भलिबल टिम, बुटवलको मणिमुकुन्द भलिबल टिम, गण्डकी प्रदेश भलिबल टिम, स्याङ्जाको वालिङ भलिबल टिम र कोशी प्रदेशसबाट झापाको पाथीभरा भलिबल टिम सहभागी हुने मकवानपुर जिल्ला भलिबल संघका अध्यक्ष बसन्तकुमार सिटौलाले जानकारी दिनुभयो । प्रतियोेगिता हेटौँडा–४, हुप्रचौरस्थित भलिबल कोर्टमा हुनेछ । प्रतियोगिता जेठ २० गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगिताको विजेता टिमले २ लाख नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले १ लाख रुपैयाँ नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। सेमीफाइनलमा पराजित हुने २ टिमले ५०/५० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ प्राप्त गर्दा विधागत उत्कृष्ट खेलाडीले जनही ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताका लागि हेटौंडा उपमहानगरपालिका प्रमुख प्रायोजक रहेको जानकारी दिनुहुँदै सिटौलाले भन्नुभयो, “प्रतियोगिताका लागि प्रदेश खेलकुद विकास परिषद्, ३ र १९ नम्बर वडाले पनि सहयोग गरेको छ ।” प्रतियोगिताका लागि २५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको सिटौलाले बताउनुभयो ।

भलिबल खेलका तत्कालिन प्रमुख राष्ट्रिय प्रशिक्षक रहनु भएका केशवलाल श्रेष्ठको २०७२ सालको महाभूकम्पमा परी निधन भएको थियो । भलिबल खेलमा श्रेष्ठले पुर्याउनुभएको योगदानको सम्मान गरेर प्रतिष्ठान गठन गरिएको हो । प्रतिष्ठानले श्रेष्ठको स्मृति र सम्मानमा राष्ट्रिय प्रतियोगिता आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष प्रताप विष्टले बताउनुभएको छ । आयोजकले आज सोमबार खेल तालिका सार्वजनिक गर्नेछ । पत्रकार सम्मेलनमा बागमती प्रदेश खेलकुद परिषद्का सदस्य माधवप्रसाद तिमल्सिना, मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वेश खड्गी, नगर खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाही, मकवानपुर जिल्ला खेलकुद विकास समिति कार्यालयका प्रमुख माधव कोइरालाको पनि उपस्थिति रहेको थियो ।