हेटौँडा : छैठौँ जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिता सुरु भएको छ । शुक्रबार (आज) बिहान हेटौँडा–४ को शैक्षिक गुणस्तर सुधार समितिको व्यवस्थापन तथा वडा कार्यालयको आयोजनामा प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको उद्घाटन खेलमा हेटौँडा–४ स्थित श्रमिक माध्यमिक विद्यालय र आधुनिक माध्यमिक विद्यालयबीच खेल भएको थियो । उद्घाटन खेलमा श्रमिक माविले आधुनिक राष्ट्रिय माविलाई २५–१९ र २५–२१ को सोझो सेटमा पराजित गरेको हो । यस्तै दोस्रो खेलमा हेटौँडा–५ स्थित जीएस निकेतनले मकवानपुरगढीको भानु माध्यमिक विद्यालयलाई २५–१३ र २५–१७ को सोझे सेटमा सहजै पराजित ग¥यो ।
प्रतियोगिता शुक्रबार र शनिबार दुई दिन सञ्चालन हुनेछ । प्रतियोगिता हेटौँडा–४, हुप्रचौरस्थित भलिबल कोर्टमा सञ्चालन भइरहेको हो । प्रतियोगितामा जिल्लाका सामुदायिक र संस्थागत गरी १४ वटा विद्यालयको सहभागिता रहेको छ । शैक्षिक गुणस्तर सुधार समितिका अध्यक्ष श्रीराम दहालको सभाध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन समारोहमा संविधान सभाका पूर्वसदस्य अन्नत पौडेलको प्रमुख आतिथ्य रहेको थियो । उद्घाटन कार्यक्रममा वडाध्यक्ष नवीन सिग्देल, वडासचिव रामप्रसाद गुरागाईको पनि आतिथ्य रहेको थियो ।
प्रतियोगिताको विजेता टोलीले २५ हजार र उपविजेताले १५ हजार रुपैयाँसहित शिल्ड, मेडल र ट्रफी प्राप्त गर्नेछ । यसैगरी सेमिफाइनमा पराजित हुने टोलीले समान ५–५ हजार रुपैयाँ सान्त्वना पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको छ । व्यक्ति विधातर्फ प्रतियोगिताको स्र्वोत्कृष्ट खेलाडीले ३ हजार रुपैयाँ, उत्कृष्ट स्पाइकर र उत्कृष्ट सेटर समान २–२ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् । गत वर्षको उपाधि मकवानपुरगढी गाउँपालिकाको शारदा माविले जित्दा उपविजेता जीएस निकेनत मावि भएको थियो ।











