हेटौँडाः गणतन्त्र दिवसको अवसरमा मकवानपुरको भीमफेदी गाउँपालिकास्थित भीमफेदी कारागारबाट १२ जना कैदि छुट्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख र कारागार प्रमुखको सिफारिससहित १६ जना कैदिलाई बाँकी कैद कट्टाका लागि नाम पठाइएकोमा १२ जनालाई कैद मिनाहाका लागि सिफारिस भएर आएको भीमफेदी कारागारका प्रशासक तीर्थराज पौडेलले जानकारी दिनुभयो ।
११ जनाको माफी मिनाहा भएको छ भने एक जनाले आममाफी पाएका छन् । माफी मिनाहा हुनेमा ६ जना मकवानपुरका रहेका छन् । माफी मिनाहा हुनेमा कर्तव्य ज्यान मुद्दामा कैद काटिरहेका हेटौंडा–२ का ४३ वर्षीय सुक्रम खड्गी र ४८ वर्षीय किरण प्रजापति रहेका छन् । खड्गी र प्रजापतिविरुद्ध २०७१ पुस २० कैद तोकिएको थियो भने २०८१ पुस २० गते छुट्ने कैदिपुर्जीमा उल्लेख गरिएको थियो ।
यस्तै सवारी ज्यान मुद्दामा कैद काटिरहेका चितवनका ३५ वर्षीय ढमराज गिरीले पनि माफी मिनाहा पाएको छ । गिरीलाई २०७८ असोज २० गते कैद तोकिएको थियो भने २०८१ असोज २० गते छुट्ने कैदिपुर्जीमा उल्लेख गरिएको थियो । डाँका मुद्दामा कैद काटिरहेका हेटौँडाको साविक पदमपोखरी गाविस–७ का ४५ वर्षीय नामोल रुम्बाले पनि माफी मिनाहा पाएका छन् । रुम्बाविरुद्ध २०७४ साउन २३ गते कैद तोकिएको थियो भने २०८० साउन २३ गते छुट्ने कैदपुर्जीमा उल्लेख गरिएको थियो ।
खोटा चलान मुद्दामा कैद काटिरहेका बाराका २७ वर्षीय सुनिल कुमार मण्डलले पनि माफी मिनाहा पाएका छन् । मण्डलविरुद्ध २०७९ जेठ ४ गते कैद तोकिएको थियो भने २०८१ जेठ ४ गते छुट्ने कैदपुर्जीमा उल्लेख छ । यस्तै चोरी मुद्दामा कैद काटिरहेका बाराका २६ वर्षीय सुनिल क्षेत्रीले पनि माफी मिनाहा पाएका छन् । क्षेत्रीविरुद्ध २०७८ माघ २४ गते कैद तोकिएको थियो भने २०८१ साउन २४ गते छुट्ने कैदीपुर्जीमा तोकिएको थियो ।
बहुविवाह मुद्दामा कैद काटिरहेका मकवानपुरको साविक छतिवन गाविस–४ का ४४ वर्षीय सन्तलाल घलानले पनि माफी मिनाहा पाएका छन् । घलानविरुद्ध २०७९ असोज ९ गते कैद तोकिएको थियो भने २०८० साउन २४ गते छुट्ने कैदीपुर्जीमा उल्लेख गरिएको थियो । सवारी ज्यान मुद्दामा कैद काटिरहेका बकैया–५ का ३८ वर्षीय बुद्ध बहादुर सिन्तानले पनि माफी मिनाहा पाएका छन् । सिन्तानविरुद्ध २०७७ चैत ८ गते कैद तोकिएको थियो भने २०८० चैत ८ गते छुट्ने कैदिपुर्जीमा तोकिएको थियो ।
सवारी ज्यान मुद्दामै कैद काटिरहेका मकवानपुरको राक्सिराङ–२ का ५४ वर्षीय दावा भोलनले पनि माफी मिनाहा पाएका छन् । भोलनविरुद्ध २०७८ भदौ १९ गते कैद तोकिएको थियो भने २०८१ भदौ १९ गते छुट्ने कैदिपुर्जीमा उल्लेख गरिएको थियो । यस्तै रुपन्देहीका ३४ वर्षीय बसिराम पासीले पनि माफी मिनाहा पाएका छन् । पासीविरुद्ध २०७८ बैशाख १९ गते सवारी ज्यान मुद्दामा कैद तोकिएको थियो भने २०८१ बैशाख १९ गते छुट्ने कैदिपुर्जीमा उल्लेख गरिएको थियो ।
ज्यान मार्ने उद्योग र कर्तव्य ज्यान मुद्दामा कैद काटिएरहेका सर्लाहीका ४५ वर्षीय कपल मण्डलले पनि माफी मिनाहा पाएका छन् । मण्डलविरुद्ध २०७० चैत १२ गते कैद तोकिएको थियो भने २०८५ चैत १२ गते छुट्ने कैदिपुर्जीमा उल्लेख गरिएको थियो ।