क्युपेक नेपाल मकवानपुरका सचिव पूर्णबहादुर बराल ।

सन्दर्भ : अन्तर्राष्ट्रिय मजदुर दिवस

हेटौँडा : निर्माण क्षेत्रमा कार्यरत अनौपचारिक क्षेत्रका श्रमिकहरूको अवस्था अझै पनि दयनीय रहेको र उनीहरू राज्यको प्राथमिकतामा पर्न नसकेको नेपाल बिजुली पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्युपेक) नेपाल मकवानपुरका सचिव पूर्णबहादुर बरालले बताउनु भएको छ । विशेषगरी निर्माण मजदुरीमा संलग्न श्रमिकहरू आर्थिक, सामाजिक र राजनीतिक रूपले पछाडि परेकाले उनीहरूको हक, अधिकार सुनिश्चित गर्न क्युपेक नेपालले विगत लामो समयदेखि आवाज उठाउँदै आएको उहाँको भनाइ छ । औपचारिक क्षेत्रका मजदुरहरूको पारिश्रमिक समयसापेक्ष वृद्धि हुने व्यवस्था भए पनि अनौपचारिक क्षेत्रका निर्माण श्रमिकहरूले भने अझै पनि रोजगारीको अनिश्चितता र न्यून ज्याला भोग्नु परिरहेको अवस्था छ ।

निर्माण क्षेत्रमा काम गर्ने श्रमिकहरूले भोग्नुपर्ने प्रमुख चुनौतीमध्ये काम गरेबापतको पारिश्रमिक नपाउनु रहेको बरालले बताउनुभयो । यस्तो समस्या समाधानका लागि क्युपेक नेपालले ‘निर्माण सम्झौता’ को अवधारणा अघि सारेको छ । यसअन्तर्गत घरधनी, स्वरोजगार श्रमिक र ट्रेड युनियनबीच त्रिपक्षीय सम्झौता गरिन्छ । यो सम्झौताले श्रमिकको पारिश्रमिक सुरक्षित गर्ने मात्र नभई कामको क्रममा हुन सक्ने जोखिमको समेत व्यवस्थापन गर्दछ । सम्झौता गर्दा लिइने निश्चित शुल्क सिधै दुर्घटना कोषमा जम्मा हुने र सोही कोषबाट कार्यस्थलमा दुर्घटना भएमा श्रमिकलाई उपचार खर्च तथा मृत्यु भएको खण्डमा ५ लाख रुपैयाँसम्मको राहत उपलब्ध गराउने व्यवस्था गरिएको क्युपेक नेपाल मकवानपुरका सचिव बरालले जानकारी दिनुभयो ।

विगतमा श्रमिकहरूले पारिश्रमिक नपाएको भन्दै वार्षिक ५० देखि १ सय वटासम्म उजुरी प्राप्त हुने गरेकोमा पछिल्लो समय निर्माण सम्झौताको अभ्यास बढेसँगै यस्ता उजुरीहरूमा कमी आएको उहाँले जानकारी दिनुभयो । संस्थाले पारिश्रमिक नदिने रोजगारदातालाई प्रशासन र सुरक्षा निकायसँगको समन्वयमा झिकाएर मध्यस्थता गरी श्रमिकको रकम फिर्ता गराउने कार्यमा सहजीकरण गर्दै आएको छ । देशमा नयाँ सरकार र राजनीतिक अवस्थाप्रति टिप्पणी गर्दै उहाँले सरकार जसको आए पनि श्रमिकको सुशासन र समृद्धिमा ध्यान दिनुपर्ने बताउनुभयो । श्रम ऐन २०७४ को प्रभावकारी कार्यान्वयन र ट्रेड युनियन अधिकारको रक्षा हुनुपर्नेमा उहाँको जोड दिनुभयो ।

संविधानको धारा १७ र ३४ ले प्रत्याभूत गरेको मौलिक हक र ट्रेड युनियन खोल्ने अधिकारलाई कुण्ठित नगर्न र श्रमिकहरूलाई उत्पादनमूलक कार्यमा जोड्दै आत्मनिर्भर बनाउन सरकारले ठोस कदम चाल्नुपर्ने आवश्यक रहेको उहाँले औँल्याउनुभयो । आज शुक्रबार १३७ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा यस वर्ष पनि भव्य कार्यक्रमको तयारी गरिएको छ । श्रमिकहरूको चाडको रूपमा लिइने यस दिवसको अवसरमा आज शुक्रबार बिहान हेटौँडाको बुद्धचोकबाट प्रभातफेरी सुरु गरी रोयल पार्टी प्यालेसमा पुगेर सभामा परिणत हुने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो ।