हेटौँडाः भ्रष्टाचारविरुद्ध मकवानपुरका सर्जकहरुको आज छैठौं दिन पनि हेटौंडा–८, निमचोकमा रचना वाचन कार्यक्रम गर्दैछन् । बैशाख ३१ गतेबाट सुरु भएको भ्रष्टाचारविरुद्धको खुला रचनावाचन कार्यक्रम हेटौंडा–१०, बुद्धचोक, हेटौंडा–४, शितलमहलचोक, हेटौंडा–२ संगमचोक, हेटौंडा–६ चौघडा र हेटौंडा–१६ हटियाचोकमा भइसकेको छ ।
राज्यका उच्च ओहोदामा बसेकाहरु नै जघन्य अपराध र भ्रष्टाचारमा संलग्न भएको तथ्यहरु सार्वजनिक भएसँगै नागरिकलाई सचेत गराउनका लागि साहित्यकारहरु सडकमा आउन बाध्य भएको साहित्यकार निमेष निखिल बताउनुहुन्छ । सर्जक सञ्जाल मकवानपुरको संयोजनमा रचनावाचन कार्यक्रम भइरहेको हो । भ्रष्टाचारविरुद्ध साहित्यकारहरुले कविता, गीत, गजल, मुक्तक, कथा वाचन गरिरहेका छन् । साताव्यापी कार्यक्रमको समापन भोलि शनिबार हुनेछ ।