मकवानपुरमा सानै उमेरमा आमा बन्नेहरुको संख्या बढ्दो छ । २० वर्षभन्दा कम उमेर (किशोरावस्था)मै बच्चा जन्माउने आमाको संख्या बढ्दै गएको छ । बालविवाह कानुनीरुपमा दण्डनीय छ । २० वर्षभन्दा कम उमेरमा हुने विवाहलाई बालविवाह भनिन्छ । बालविवाह गर्ने र गराउनेलाई दुबैलाई कानुनले दण्डित गर्ने व्यवस्था गरेको भए पनि बालविवाह अन्त्य हुन सकेको छैन । बालविवाह अन्त्य हुन नसक्दा किशोरावस्थामै आमा बन्ने क्रम पनि बढिरहेको छ । मकवानपुर जिल्लाका तीनवटा पालिकाहरुले बालमैत्री शासन सुनिश्चित भएको घोषणा गरिसकेको र अन्य पालिकाहरु बालमैत्री घोषणाको होडमा लागिरहेको अवस्थामा बालविवाह र किशोरी आमा चुनौतीपूर्ण बनेको छ ।
पछिल्लो एक वर्षको अवधिमा मकवानपुर जिल्लामा एक हजार ७ सय ३ जना किशोरीले गर्भवती जाँच गराएका छन् । जिल्लामा गर्भवती जाँच गराउने १४ हजार ७ सय ३० जनामध्ये एक हजार ७ सय ३ जना २० वर्षभन्दा कम उमेरका छन् । कुल गर्भवतीमध्ये करिब १२ प्रतिशत २० वर्षभन्दा कम उमेरका रहेका छन् । पहिलो पटक गर्भ जाँच गराउने ७ हजार ३ सय ७७ जनामध्ये ७ सय २६ जना किशोरी छन् । १२ हप्तासम्मको गर्भ जाँच गराउने ३ हजार २ सय २९ जनामध्ये ३ सय ६५ जना किशोरी रहेको घिमिरेले जानकारी दिनुभयो । ४ पटक गर्भवती जाँच गराउने ४ हजार ३ सय ४७ जनामध्ये ४ सय ७४ जना किशोरी छन् । ८ औं पटक गर्भजाँच गराउने एक हजार ४ सय ८० मध्ये १ सय ३८ जना किशोरी छन् । ४ हजार १ सय ९६ जनाले प्रसुती सेवा लिएकोमा ४ सय ८८ जना २० वर्षभन्दा कम उमेरका किशोरी छन् । यो पनि करिब १२ प्रतिशत नै रहेका छन् । यसै अवधिमा ४६ जना किशोरीले गर्भपतन सेवा लिएका छन् ।
किशोरावस्थामा गर्भधारण गरी बच्चा जन्माउँदा आमा र शिशुको स्वास्थ्यमा विभिन्न समस्या आउने गर्दछ । शारीरिकरुपमा परिपक्व नहुने भएकाले २० वर्ष नपुगी विवाह गर्ने, गर्भधारण गर्ने र बच्चा जन्माउने गर्नु उपयुक्त हुँदैन । यो चेतना अधिकांश नेपालीलाई थाहा छ । तर, २० वर्ष नपुग्दै विवाह गर्ने र बच्चा जन्माउने परिपाटी कायमै रहेको छ । पहिला शिक्षा र चेतनाको कमी हुँदाको अवस्थामा बालविवाहलाई सामान्यरुपमा लिने गरिएको भए पनि अहिलेको सचेत र सभ्य समाजमा बालविवाहलाई कुनै आधारमा स्वभाविक मान्न सकिँदैन । विभिन्न धार्मिक तथा सांस्कृतिक मूल्य, मान्यता र अज्ञानताका कारण विगतमा अभिभावकले सानै उमेरमा विवाह गराइदिन्थे । तर, पछिल्लो समयमा किशोर–किशोरीहरु स्वयम् विवाहका लागि उत्साहित बन्ने गरेको पाइन्छ । विद्यालय तहको सानै कक्षादेखि बालविवाहजस्ता सामाजिक विकृति र समस्याका बारेमा पढाउने र सिकाउने गरिएको भए पनि बालबालिका बालविवाहप्रति आकर्षित हुनुले यसको नियन्त्रणमा थप चुनौती बनेको छ । सामाजिक सञ्जालको दुरुपयोग, आपसी प्रेम एवम् किशोरावस्थामा हुने विपरित लिङ्गीप्रतिको आकर्षणले बालविवाहको घटना बढ्दै गएको छ ।
बालविवाहका कारण शारीरिक र मानसकि विकासमा असर पुग्दछ । बालविवाहले पारिवारिक विचलनका साथै विविध सामाजिक समस्यासमेत देखिने गरेका छन् । किशोरी आमा बन्नुपर्दा त्यसबाट थपिने आर्थिक, सामाजिक समस्या कयौं छन् । यी सबै हुँदाहुँदै पनि १२ प्रतिशतको हाराहारीमा किशोरी आमा बन्नु गम्भीर चुनौतीको विषय हो । २०७४ सालमा आएको मुलुकी अपराध संहिता र देवानी संहिताले विवाह गर्न बीस वर्ष उमेर पुगेको हुुनुपर्ने व्यवस्था गरेको छ । २० वर्ष उमेर नपुगी भएको विवाह स्वतः बदर हुने व्यवस्था दुबै ऐनमा रहेको हुँदा ती ऐनको प्रभावकारी कार्यान्वयन भएमा बालविवाहसँगै किशोरावस्थामै आमा बन्ने समस्या धेरै कम हुनसक्छ । बालविवाहको कसूर गर्ने व्यक्तिलाई ऐनमा तोकिएको सजाय दिलाएर अन्य व्यवस्था कार्यान्वयन गरेर बढ्दो बालविवाहको अन्त्य गर्नु आवश्यक देखिन्छ ।