नेपाली भू–भाग अतिक्रमण गरी भारतले बाटो निर्माण गरेको घटना अत्यन्त निन्दनीय र खेदजनक छ । नेपाली सार्वभौमिकता माथि भएको अतिक्रमणलाई कुनै पनि स्वाभिमानी नेपालीलाई सह्य हुन सक्दैन । तर भावनाले मात्र केही हुँदैन । गर्न सक्ने ठाउँ र ओहोदामा भएकाहरु गम्भीर बन्नु पर्दछ । भारतको मिचाहा प्रवृत्तिप्रति हाम्रो राजनीतिक नेतृत्व जहिले पनि झुकेको इतिहास छ । भारतसँग आम्नेसाम्ने भएर गलत काम सच्याउनु पर्दछ भन्ने आँट नेपालका तर्फबाट आजसम्म हुन सकेको छैन ।

आम नागरिकको विरोध रोक्ने वा देखाउनका लागि सामान्य वक्तव्य प्रकाशित गर्ने बाहेक कुनै प्रतिक्रिया नेपाल सरकार तथा राजनीतिक दलहरुका तर्फबाट हुन सकेको छैन । भारतले कुनै घटना घटाएपछि प्रतिक्रियाका रुपमा चर्चा हुने गर्दछ । फेरी यस्ता घटना हुन नपाउने गरी कुनै गृहकार्य आजसम्मका सरकारले गरेका छैनन् । तर घटनापछि आफुलाई राष्ट्रवादी देखाउने नक्कली होड निक्कै चल्ने गरेको छ ।

नेपालको सरकार र यहाँका राजनीतिक नेतृत्वको नाडी छामी सकेको भारतले एकपछि अर्को बलमिच्याई गर्दै आएको छ । त्यही हेपाहा प्रवृत्तिको अर्को एउटा श्रृंखलाका रुपमा नेपाली भूमी अतिक्रमण गरी सडक निर्माण गरेको हो । हाम्रा परराष्ट्र मन्त्रीले भारतले बाटो निर्माण सुरु गर्दादेखि नै सरकारलाई जानकारी भएको तर आफुहरुले रोक्न नसकेको स्विकार गरेका छन् । तर, नेपाली जनतालाई सरकारले यो कुरा किन भनेन वा किन लुकायो भन्ने प्रश्न यतिबेला गम्भीर बनेको छ ।

आफुले गरेको पहल भारतले नटेरेको हो भने त्यसको खुलासा किन गरिएन ? निर्माण हुँदै गर्दा त्यो कार्य तत्काल रोक्न के कस्ता पहल गरिए भन्ने पनि प्रष्ट छैन । घटनाक्रमले सरकारले देखेर पनि मौन स्विकृती दिएको जस्तो देखिन्छ । नत्र विषयलाई सार्वजनिक गर्नेदेखि अन्तर्राष्ट्रियकरण किन गरिएन भन्ने प्रश्नको जवाफ सरकारले दिनु पर्दछ । विगतमा फलानाले गल्ती गर्दा आज समस्या आयो भनेर उम्कने भन्दा भोलीका लागि सकारात्मक सुधारको थालनी गर्नु बुद्धिमत्ता हुने छ ।

नेपाली भुमीमा निर्माण भएको बाटो जुन अवस्थामा त त्यही अवस्थामा भारतले छोड्नु पर्दछ । यस्तै कालापानीबाट भारतीय सेना यथाशीघ्र फिर्ता हुनु पर्दछ । यस कार्यका लागि सरकारले सबैको साथ लिएर काम गर्न सक्नु पर्दछ । जस लिन तयार हुनेहरुले दोषको पनि भागिदार बन्न तयार हुनु पर्दछ । सबै दल र नागरिक समाजले सरकारलाई दिनुको विकल्प छैन । तर सरकारले नेतृत्व गर्ने आँट र क्षमता प्रदर्शन गर्न अब ढिला गर्नु हुँदैन । भारतीय हेपाहा प्रवृत्तिको विरोध गर्न खुट्टा कमाउने वा भाग्नेहरु पक्कै पनि राष्ट्रघाती हुन् ।

नेपाल भारतीय शैन्यबल भन्दा पक्कै पनि कम होला तर सार्वभौमिकता देशको आकार र शैन्य शक्तिले निर्धारण गर्ने विषय हैन । त्यसैले नेपालले शान्त कुटनीतिको माध्यमबाट समाधान खोज्नु पर्दछ । पछिल्लो घटनामा चीन र भारतसँगको संयुक्त छलफल आवश्यक हुन्छ । त्यसपछि पनि भारतले आफ्नो प्रवृत्ति देखाए अन्तर्राष्ट्रियकरण गर्ने आँट सरकारले गर्नु पर्दछ । तर सरकार संवेदनशील विषयमा कुटनीतिक/राजनीतिक पहलमा संवेदनहिन देखिन्छ । यस्तो गम्भीर विषयलाई अन्तर्राष्ट्रिय र क्षेत्रीय मञ्चहरुमा दह्रोसँग उठाउनु आजको आवश्यकता हो ।