हेटौंडाः मकवानपुर जिल्लाको मनहरी गाउँपालिका–३, हाँडीखोलास्थित महेन्द्रज्योति माध्यमिक विद्यालयको ५६ औं अभिभावक दिवस सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्थकुमार बर्तौलाको सभाध्यक्ष तथा मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीको प्रमुख आतिथ्यमा आइतबार अभिभावक दिवस आयोजना गरिएको हो ।
गाउँपालिका अध्यक्ष कालाखेतीले पालिकाले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । अभिभावक दिवसमा विद्यालयका पूर्व प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष र विद्यालयका पूर्व कर्र्मचारीलाई दोसल्लासहित सम्मानपत्र प्रदान गरिएको छ । पूर्व प्रधानाध्यापकहरु सागरप्रसाद खतिवडा, उमा सापकोटा, नारायणप्रसाद कँडेल, नरहरिनन्दन उप्रेति र गोकुलप्रसाद शर्मालाई सम्मान गरिएको छ । यसैगरी विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरु रविराज उप्रेति, यदुकुमार पुडासैनी, रामहरि बर्तौला, भीमलाल तिवारी र श्यामप्रसाद पाठकलाई सम्मान गरिएको छ ।
विद्यालयका पूर्वकर्मचारी तथा मनहरी–३ का वडाध्यक्ष अनन्तप्रसाद अर्याललाई पनि सम्मान गरिएको छ । अभिभावक दिवसमा २०७९ सालको कक्षागत उत्कृष्ट विद्यार्थी, सरसफाई तथा अनुशासित विद्यार्थीलाई पुरस्कृत गरिएको छ ।
अभिभावक भेलामा प्रधानाध्यापक गोविन्दप्रसाद चौलागाईँले प्रगति विवरण प्रस्तुत गर्नुभयो । उहाँले प्रगति विवरण प्रस्तुत गर्नुहुँदै विद्यालयको आम्दानी ५ लाख २० रुपैयाँ रहेको जानकारी दिनुभयो । यस्तै वार्षिक खर्च १२ लाख ५८ हजार रुपैयाँ रहेको बताउनुभयो । चालु शैक्षिक सत्रदेखि बाल विकास कक्षा, कक्षा १ र २ मा अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरिएको उहाँले बताउनुभएको छ । विद्यालयमा ३ सय ५० जना विद्यार्थी अध्ययनरत् छन् ।
अभिभावकहरुको मागबमोजिम अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरिएको प्रधानाध्यापक चौलागाईको भनाइ छ । आगामी शैक्षिक सत्रमा तहगत रुपमा अंग्रेजी माध्यमको पठनपाठनलाई बढाउँदै लगिने उहाँले जानकारी दिनुभयो । अभिभावक एकराज पुरीले शिक्षामा भइरहेको सुधारलाई व्यवस्थित बनाउन सबैको भूमिका रहेको बताउनुभयो । कार्यक्रममा मनहरी गाउँपालिकाका शिक्षा शाखा प्रमुख हरिचन्द्र सापकोटाको विशिष्ट आतिथ्य रहेको थियो ।