आदरणीय शिक्षक नेतृत्वहरु !
राष्ट्रिय आन्दोलन र जिल्ला तहका शिक्षक आन्दोलनमा म भन्दा हजुरहरु धेरै अनुभवी सिनिएर हुनुहुन्छ होला । म २०५७ सालबाट जिल्लास्तरीय आन्दोलन र २०६९ सालबाट राष्ट्रिय आन्दोलनमा निरन्तर रुपमा सक्रिय छु । आन्दोलनको अग्र भागमा नै सहभागी छु । जति हामी तटस्थताको नीति यस्ता आन्दोलन वा सौदाबाजीमा प्रकट गर्छौं त्यति हामी विश्वसनीय र बलियो हुन्छौं । सरकारहरु झस्कन्छन् । हामी व्यक्ति केन्द्रित राजनीति गर्न माहिर छौं तर पेशा केन्द्रित राजनीतिको ढ्वाङ्ग बझाउँछौं र आसेपासेलाई आफू श्रेष्ठ भएको वकालत गर्न लगाउँछौं । २०६९ साल भन्दा पछिका राष्ट्रिय आन्दोलनको मोर्चामा म इमानदारितापूर्वक अग्र भागमा सक्रिय रुपबाट भाग लिएको छु । अघिल्ला आन्दोलनका त म भन्दा हजुरहरु धेरै जानकार हुनुहुन्छ । हामीले त अध्ययन र हजुरहरु जस्तै नेतृत्वहरुका मनै लोभ्याउने भाषणहरुबाट बुझेका हौं ।
हाम्रो आन्दोलन रहँदा कहिले माओवादी सरकारको नेतृत्वमा त कहिले काँग्रेस सरकारको नेतृत्व त कहिले एमाले सरकारको नेतृत्वमा रह्यो । स्पष्ट छ कि हाम्रा संस्थाहरु दलगत आवद्धता छ घोषित या अघोषित । माओवादी सरकारमा हुँदा यो पार्टी निकट घोषित भातृ संगठन आन्दोलनमा पछि हटेको, काँग्रेस सरकारमा हुँदा यो पार्टी निकट घोषित भातृ संगठन व्याक हुँदै गरेको र एमाले सरकारमा हुँदा यो पार्टी निकट अघोषित संगठन व्याक भएको तपाईं हामीलाई स्पष्टै छ । आदरणीय सरहरु यदि यी पार्टीहरु जसले यिनी निकट संगठन बनाउँदै हाम्रो गर्विलो एकल संगठनलाई कमजोर बनाएर भातृ संगठन बनाए, चाहेको भए शिक्षक कर्मचारीको हित गर्न खोजेको भए, सार्वजनिक शिक्षा सुधारको त्यति धेरै चिन्ता यिनीहरुले राखेको भए नेकपाको सरकार भयो । करिब दुई तिहाई थियो उपस्थिति सरकारको समर्थनमा । ल्याएनन् यिनिहरुले शिक्षा ऐन । समाधान गरेनन् यिनिहरुले हाम्रा मुद्दा । माओवादी–काँग्रेस मिलेर सरकार चलाए । त्यो बेला पनि ल्याएनन् यिनीहरुले ऐन । एमाले–माओवादी मिलेर सरकार चलाए । ल्याएनन् शिक्षा ऐन । एमाले–काँग्रेस मिलेर सरकार चलाए अन्तिम पटक । हामी आन्दोलित भयौं । हाम्रो माग केही थिएन । त्यही प्रगतिशील शिक्षा ऐन हो । ल्याएनन् शिक्षा ऐन ।
अझ हुलाकमा पठाई दिन्छौं भनेर शिक्षकलाई अपमान गरे । वर्षा नै जाला छाता त ल्याउनु भएको छ नि ? नभए हामी किनिदिउँला भनेर प्रधानमन्त्री, मन्त्री जतिको व्यक्तिले हाम्रो आन्दोलनको बिल्ला हाने । त्यसपछि प्रधानमन्त्री निकट शिक्षक संगठन क्रमशः आन्दोलन कमजोर बनाउन थाल्यो । नेतृत्वलाई खिसी ट्युरी गर्न थाल्यो, जुन तपाईं हामीलाई स्पष्ट छ । यसर्थ एउटै पेशामा दलगत आस्थाका आधारमा यी बग्रेल्ती खुलेका संगठनहरुले पेशागत हित गर्दैनन् । पार्टीको एजेन्ट भएर आन्दोलन कमजोर बनाउँछन् । कोहि सरकार ढाल्न तल्लिन त कोहि सरकार जोगाउन । हाम्रो मुद्दा बोक्ने भन्दा पनि पार्टीको मुद्दा बोक्न हामी दौडन थाल्यौं । सिस्टम बसाल्नु पर्छ भनेर लागेका शिक्षक संगठनहरु सिस्टम बिगार्न थाल्यौं । जबसम्म पेशामा इमान्दारिता र आम शिक्षक प्रति जवाफदेहिता हुन्न, हामी र हाम्रो पेशाले हार्छ । सरकारले जित्छ । हाम्रा नेतृत्वहरु आफ्नो संगठनप्रति ईमान्दार भएका भए हाम्रा धेरै उपलब्धीहरु प्राप्त हुन्थे । हामी अझ सन्तुष्ट हुन्थ्यौं । शिक्षामा अर्कै भाइब्रेसन आउँथ्यो ।
अझ कुनै शिक्षक संगठन त विधानतः कुनै राजनीतिक पार्टीको भातृ संगठन होइन तर कार्यक्रमहरुमा पार्टी कै नेता ल्याएको पाउँछौं । जसका कारण धेरै शिक्षकहरु जो भोट हाल्दा फरक पार्टीलाई हाले पनि तटस्थ संस्था हो भनेर संगठित शिक्षक साथीहरुमा वास्तविकता फरक अनुभूति छ । पछिल्ला समयमा त झन् संगठनहरुमा खुलेआम पार्टी नै मिसायौं । यस्तै पार्टीगत लिगेसी र व्यानरहरुमा हरेक संगठनका पार्टीगत उपस्थितिका कारणले हाम्रो पेशा नै बदनाम भयो । हामी पार्टीका शिक्षक भयौं । कोहि एमालेका शिक्षक, कोहि कांग्रेसका, कोहि माओवादीका त कोहि राप्रपा त अब कोहि रास्वपाका । हामी हाम्रो पेशाको शिक्षक हुन सकेनौं । शिक्षक मर्दा मलामी जाँदा पनि कुन संगठनको भनी हेर्न थाल्यौं । किरियापुत्री भेट्न जाँदा फलानु संगठनमा भएर किन त्यहाँ गएको भनेर अमानवीय सोँच राख्न थाल्यौं । हाम्रा पहुँचले कुनै शिक्षकको सरुवा गर्दा वा अस्थायी रुपमा शिक्षकहरु नियुक्ती गर्दा वा नयाँ नियुक्त शिक्षकलाई हाजिरी गराउँदा सांगठनिक आवद्धता, पार्टीगत आवद्धता खोज्न थाल्यौं । जसले शिक्षकको नै परिभाषा व्यवहारिक रुपमा कमजोर बनाउन थाल्यौं ।
हामीले आन्तरिक संगठनमा त झन यतिसम्म ग¥यौं कि आफ्नो व्यक्तिगत बचावट र ताबेदारी जि–हजुरी गर्ने व्यक्तिहरुलाई संगठनका नेतृत्वमा स्थापित गराउँदै लग्यौं । फलस्वरुप पेशागत मुद्दाको उठान अत्यन्तै कमजोर हुँदै गयो । हामी पेशागत व्यावसायिकतामा रहनु पर्नेमा व्यक्तिगत र गुटगत रमाइलोमा लाग्यौं । फलस्वरूप हामी पछि लाग्ने हजारौं शिक्षक कर्मचारीको विश्वासमा घात ग¥यौं जसको परिणाम आज आएर नेतृत्वमा रहेका भन्दा बाहेक र केही नेतृत्वमा रहेका शिक्षकहरु समेत एकल पेशा एउटा गैरदलीय चरित्रको ट्रेड युनियन भनेर लागी परेका छन् । अब फर्कने बेला भएको छ । हामी जुन बाटो हिँड्दै छौं पूर्णतः गलत सावित भइसकेका छौं । हामी लागौं एकल संगठन निर्माण अभियानमा । सुधारौं हाम्रा सार्वजनिक विद्यालय । भरौं आम शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावकमा खुसी । स्थापित गरौं हाम्रो पहिचान । हाम्रो पेशा, हाम्रो पहिचान । एकल संगठन निर्माण, हाम्रो अभियान ।
(अधिकारी हेटौँडा–४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयका शिक्षक हुनुहुन्छ ।)











