Home अर्थ/व्यापार कृषि सामग्रीले सोमबार सहकारीलाई ७३ टन मल वितरण गर्दै (सहकारीको सूचिसहित)

कृषि सामग्रीले सोमबार सहकारीलाई ७३ टन मल वितरण गर्दै (सहकारीको सूचिसहित)

हेटौंडाः कृषि सामग्री कम्पनि लिमिटेडको हेटौंडास्थित कार्यालयले भोलि सोमबार ७३ टन युरिया मल वितरण गर्ने भएको छ । जिल्लाका दस वटै स्थानीय तहका सहकारी संस्थालाई मल वितरण गर्न लागेको कृषि सामग्री कम्पनि लिमिटेड हेटौंडाका लेखा प्रमुख छवि शर्माले जानकारी दिनुभयो । उपलब्ध मललाई समानुपातिक ढंगले वितरण गर्न लागिएको शर्माको भनाइ छ । सरकारले कृषि सामग्री कम्पनिमार्फत कृषकलाई अनुदानको मल वितरण गरिरहेको छ ।

कृषि सामग्री कम्पनिले हेटौंडा उपमहानगरपालिकाका १७ वटा सहकारी संस्था, थाहा नगरपालिकाका १२ वटा सहकारी संस्था, मनहरी गाउँपालिकाका ११ वटा सहकारी, ईन्द्रसरोवर गाउँपालिकाका ६ वटा सहकारी र मकवानपुरगढी गाउँपालिकाका ३ वटा सहकारीलाई १/१ टनका दरले मल वितरण गर्ने जनाएको छ । यस्तै बकैया गाउँपालिकाका ३ वटा सहकारीलाई २/२ टन, कैलाश गाउँपालिका र राक्सिराङ गाउँपालिकाको १/१ वटा सहकारीलाई ४/४ टन मल वितरण गर्ने शर्माले बताउनुभयो । भीमफेदी गाउँपालिकाका दुई वटा सहकारीलाई ५ टन र बागमती गाउँपालिकाको एउटा सहकारीलाई ५ टन मल वितरण गर्न लागिएको उहाँले बताउनुभयो ।

स्थानीय तहमा सहकारीको संख्याका आधारमा मलको वितरण गरिएको शर्माको भनाइ छ । गत वर्षको तुलना मलको उपलब्धता बढे पनि माग नघटेको उहाँले बताउनुभयो । यस वर्ष करिब २ हजार टन मल वितरणको हिसावले अहिले माग कम हुनुपर्ने उल्लेख गर्नुुहुँदै शर्माले भन्नुभयो, ‘सहकारी र किसानले नै मल स्टक गरेका कारण अहिले पनि माग बढेको हुन सक्छ ।’

कृषि सामग्री कम्पनिले चालु आर्थिक वर्षमा दुई हजार पाँच सय टन मल विक्री गर्ने लक्ष्य लिएको छ ।

Exit mobile version