हेटौँडा : बागमती विश्वविद्यालयको आंगिक क्याम्पसको रुपमा रुपान्तरण भएको हेटौँडा–४ स्थित हेटौँडा क्याम्पसको क्याम्पस प्रमुखमा देवचन्द्र मानन्धर नियुक्त हुनुभएको छ । यसअघि २०७१ सालदेखि २०८० सालसम्म सो क्याम्पसको प्रमुखको रुपमा रहिसक्नुभएका मानन्धर बिहीबार पुनः क्याम्पस प्रमुख नियुक्त हुनुभएको हो । २०५८ सालदेखि निजी विद्यालयमा अध्यापन गराउनुभएका मानन्धर २०६३ मा निर्मल मावि, बस्तीपुरमा पठनपाठन गराउनुभएको थियो । २०६३ सालमै हेटौँडा क्याम्पसमा अध्यापन सुरु गर्नुभएका मानन्धर २०७१ देखि २०८० सम्म दुई कार्यकाल क्याम्पस प्रमुख भइसक्नु भएको छ ।
नेपालमा विद्यालय शिक्षा विकासका लागि स्ववित्त संस्थाहरुको भूमिका विषयमा विद्यावारिधी उपाधि प्राप्त गर्नुभएका मानन्धर बागमती सरकारको उद्योग, वाणिज्य, भूमि तथा व्यवस्थापन मन्त्रालयमा विज्ञ सल्लाहकारसमेत रहनुभएको थियो । उहाँ क्याम्पस प्रमुख रहँदा २०८० सालमा हेटौँडा क्याम्पसले क्युएए (क्यालिटी एस्युरेन्स एन्ड एक्रिडिटेसन सर्टिफाइड) प्रमाणपत्र प्राप्त गरेको थियो ।
हेटौँडा क्याम्पसको सहकार्यमा हेटौँडा उपमहानगरपालिकाद्वारा हेटौँडा जनप्रिय क्याम्पस स्थापना गरी कृषि विज्ञानको स्नातक तह पठनपाठन भइरहेको छ । हेटौँडा क्याम्पसले त्रिभुवन विश्वविद्यालय स्थगित गरी बागमती विश्वविद्यालयबाट सम्बन्धन लिई तीनवटा संकायमा पठनपाठन सुरु गरेको छ । बागमती विश्वविद्यालय अन्तर्गत शिक्षा, व्यवस्थापन तथा कानून संकायमा एलएलबी, बीएचएम, बीआईटी, बीबीएलगायतका १५ भन्दा बढी शैक्षिक कार्यक्रम सुरु भएको नवनियुक्त क्याम्पस प्रमुख मानन्धरले बताउनुभयो । उहाँले बागमती विश्वविद्यालय अन्तर्गत हेटौँडामै पहिलोपटक इन्जिनियरिङ संकाय सुरु गर्ने योजना राखेकोसमेत स्पष्ट पार्नुभयो ।
हाल हेटौँडा क्याम्पसमा कक्षा ११ तथा १२ मा गरी ७ सय, त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्नातकोत्तर तहमा २ सय, स्नातकमा ६ सय जना र बागमती विश्वविद्यालय अन्तर्गत १ सय ५ जना गरी करिब १ हजार ६ सय विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।










