आज बिहीबार यो दशककै अन्तिम दिन । बिसं २०७० को दशकको आज अन्तिम दिन । भोलि शुक्रबार २०८० सालको सुरुवात हुनेछ । २०७० को दशक नेपाली समाजका लागि महत्वपूर्ण रह्यो । एक दशकको अवधि सामान्य रहन्न । नेपाली समाजको हरेक दशक महत्वपूर्ण राजनीतिक, सामाजिक परिवर्तनको अवधिको रुपमा रहँदै आएको छ । २०७० को दशक मूलतः नेपालको राजनीतिक स्थायित्वका लागि आधार अवधिको रुपमा स्थापित हुने सम्भावना छ । २०७० मा संविधानसभाको दोस्रो पटक निर्वाचन सम्पन्न भयो । दोस्रो संविधानसभाको निर्वाचनसँगै मुलुकमा नयाँ संविधान स्थापित भई सामाजिक, आर्थिक रुपान्तरण र आमूल परिवर्तन हुने अपेक्षा आम नागरिकमा थियो ।
२०७० सालको संविधान सभा निर्वाचनपछि स्थापित सरकारले २०७२ सालमा संविधान जारी ग¥यो । २०७२ को बैशाखमा महाभूकम्प गएसँगै मुलुकले अकल्पनीय क्षति व्यहोर्नु पर्ने अवस्था रह्यो । भूकम्पले दिएको चोटलाई नेपाली समाजले आफ्ना प्रतिनिधिमार्फत जारी भएको संविधानको उपलब्धीसँग जोडेर हेरेका छन् । कतिपयको विश्लेषण छ कि यदि भूकम्पको पीडा सहनु नपर्ने अवस्था हुन्थ्यो भने नेपालमा संविधान पनि जारी हुने थिएन । एउटा राष्ट्रिय चोटबाट घाइते नभई, विचलित नभई सम्भव भएसम्मको प्रयासबाट महत्वपूर्ण उपलब्धीलाई आत्मसात गर्नु २०७२ सालमा संविधान जारी हुनुलाई लिन सकिन्छ ।
संविधान जारी भएपछि २०७४ सालको तीनै तहको निर्वाचनले मुलुकलाई नयाँ संरचनामा स्थापित गर्न सफल भयो । यद्यपि आम नागरिकको अपेक्षा, आवश्यकता र आधारभूत रुपमा पनि राज्य व्यवस्थाले गर्नुपर्ने कामको ढाँचाहरुलाई स्थापित गर्न नसक्दा राजनीतिक उपलब्धीपछिको सामाजिक, आर्थिक विकासको अपेक्षा पूरा हुन सकेन । २०७४ सालको निर्वाचनमा मुलुकको कम्युनिष्ट शक्तिबीचको एकताको सन्देशले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बहुमत प्राप्त गर्न सफल भयो । संविधान जारी भएपछि नागरिकको विकासको अपेक्षालाई पूरा गर्ने वाचा गरेका दलहरुले अपेक्षित काम गर्न सकेनन् । २०७९ मा तीनै तहको निर्वाचनमा प्रकट भएको जनमत, नयाँ र स्वतन्त्र भनिएको दलहरुको उदयले यो दशकको अन्त्यतिर नयाँ सम्भावनालाई पनि संकेत गरिरहेको छ । यद्यपि नेपाली समाजको सकारात्मक संकेतहरुले अपेक्षित नतीजा दिन सक्ने क्षमता भने राख्दैन ।
यो दशक कोभिड–१९, सिन्धुपाल्चोकको जुरे पहिरो पनि नेपाली समाजलाई तितो अनुभवको स्मृति गराउने दशक हुनेछ । यो दशकको अन्त्यतिर आइपुग्दा अन्तर्राष्ट्रिय अस्थिरताको प्रभावस्वरुप आर्थिक संकटको सामना गर्न बाध्य छौं । राज्य व्यवस्था झन्–झन् कमजोर र धरासायी बन्दै गएको छ । विदेशिने मजबुर मजदुर मात्रै नभई सुखी समूहको संख्या पनि उत्तिकै बढोत्तरी हुँदै जानुले नेपाली समाजको भविष्यमा अझ जटिल चुनौति तेर्सिने निश्चित छ । भोगेको दशकलाई नबिर्सी, सोँच, विचार गरेर आगामी दशकको योजना बनाउन जरुरी छ । आशा छ मुलुकको अगुवादेखि घरका अगुवा र हरेक व्यक्तिको अगुवा मनले सकारात्मक चिन्तन गर्दै आगामी समयलाई सहज र सुन्दर बनाउन सक्दो प्रयत्न गर्नेछ । आजबाट हामीले छाड्दै गरेको २०७० को दशकबाट हामीले राम्रा ज्ञान र नराम्रा सिकाईलाई साथमै लिएर २०८० को दशकको सुरुवात गर्नेछौं । सबैमा बितेको दशकबाट सिकेर आगामी दशकका लागि आआफ्नो क्षमता अभिवृद्धिको प्रयासमा सफल होऔं ।