वसन्त ऋतुमा रुखबिरुवाका पुराना पातहरु झर्ने र नयाँ पात पलाउने गर्दछ । ऋतुका हिसाबले चैत महिना वसन्त ऋतु पर्दछ । यही महिनाबाट गर्मी बढ्दै जाने र सुख्खा मौसम हुने भएका कारण झरेका पातहरु चाँडै सुक्छन् । यस समयमा हावाहुरी पनि चल्ने हुँदा वन डढेलो तथा आगलागीको जोखिम बढी हुने गर्दछ । मुलुकका अधिकांश राष्ट्रिय वन तथा सामुदायिक वन क्षेत्रमा वर्षेनि डढेलो लाग्ने गर्दछ । यसरी लाग्ने डढेलोले वनजंगलका बोटबिरुवा तथा वन्यजन्तुलाई धेरै असर गर्ने गरेको छ । वन डढेलोका कारण वायु प्रदूषण बढ्नुका साथै वरपरका बस्तीमा आगलागीको जोखिम पनि बढ्दछ । वनजंगल संरक्षणको जिम्मा पाएको सरकारी निकाय तथा सामुदायिक वनहरुले वन डढेलाबाट जोगिनका लागि सचेतनामूलक केही कार्यक्रमहरु गर्ने गरेको भए पनि डढेलोबाट हुने क्षति रोक्न खासै पूर्वतयारी गरेको पाइँदैन । जसले गर्दा डढेलो लागेर ठूलो क्षति हुने गर्दछ । वनबाट हुने आम्दानीको केही भाग डढेलो नियन्त्रणका लागि उपयोग गर्न सकिने भए पनि त्यसो हुन सकेको छैन । यस समयमा चल्ने हुरीबतासका कारण आगलागीको सम्भावना पनि बढी हुने गर्दछ ।
आगलागीप्रति सचेत नहुँदा यसले अकल्पनीय स्थिति निम्तिइरहेका हुन्छन् । सुख्खायाममा आगलागीको सानो असावधानीले गर्दा ठूलो क्षति निम्त्याएको घटनाहरु हाम्रासामु धेरै छन् । यति हुँदाहुँदै पनि सावधानीका उपायहरु प्रभावकारी नहुनु गम्भीर कमजोरी हो । यस्ता कमी–कमजोरीलाई बेलैमा सच्याएर अघि नबढ्ने हो डढेलो र आगलागीबाट ठूलो क्षति बेहोर्नुको विकल्प रहँदैन । वनमा डढेलो लागेपछि नियन्त्रण गर्न धेरै कठिन हुन्छ । हाम्रा गाउँ–शहरका अव्यवस्थित बस्तीहरुमा पनि आगलागी भयो भने त्यसले सिंगो बस्ती नै खरानी बन्नसक्छ । आगलागी र डढेलो नियन्त्रणको एउटा उपाय भनेको दमकल अर्थात् वारुणयन्त्रको व्यवस्था हो । शहरबजार र बाटोको सुविधा भएका गाउँबस्तीमा आगलागी भयो भने वारुणयन्त्रले आगो निभाउन सक्ला । तर, त्यसका लागि छिटो समयमा वारुणयन्त्र पुग्नुपर्ने हुन्छ । महानगर, उपमहानगर तथा केही नगरपालिकाहरुमा वारुणयन्त्रको व्यवस्था भए पनि अधिकांश नगरपालिका र सबैजसो गाउँपालिकामा वारुणयन्त्रको व्यवस्था छैन । आगलागी हुनेबित्तिकै वारुणयन्त्रको उपलब्धता हुनसकेमा त्यसबाट हुने क्षति न्यूनीकरण गर्न सकिन्छ ।
डढेलो तथा आगलागीबाट बच्ने प्रभावकारी उपाय भनेको आगो लाग्नै नदिनु हो । यसका लागि प्रभावकारी उपायको खोजी गर्नुपर्छ । वन तथा वातावरणसँग सम्बन्धित सरकारी, गैरसरकारी तथा सामुदायिक संघसंस्थाले डढेलो नियन्त्रणका लागि केही प्रयत्न गर्ने गरेको भए पनि पर्याप्त भइरहेको छैन । तर, आगलागीका घटना न्यूनीकरण गर्ने र आगलागी भएपछि नियन्त्रण गर्ने निकाय वा संयन्त्रको भने टड्कारो अभाव देखिएको छ । संघीयता कार्यान्वयनसँगै स्थानीय तहले धेरै अधिकार प्राप्त गरेको र स्रोत साधन सम्पन्न भएकाले अब आगलागीबाट बच्न र बचाउन स्थानीय सरकारले उपयुक्त संयन्त्रसहित स्रोत साधनको व्यवस्था गर्नु उचित हुनेछ ।
आफ्नो क्षेत्रमा हुने डढेलो र आगलागी समयमै नियन्त्रणमा लिनका लागि सबै स्थानीय तहले प्रभावकारी व्यवस्था गर्नुपर्छ । डढेलो तथा आगलागीबाट हुने जनधनको क्षति, जैविक विविधतामा ल्याउने ह्रास तथा वातावरण प्रदूषणबाट बच्नका लागि अब स्थानीय सरकारले नै प्रभावकारी भूमिका निर्वाह गर्नु आवश्यक हुन्छ । सचेतनाले डढेलो र आगलागी हुनै नदिने सम्भावना रहन्छ । स्थानीय तहले व्यापकरुपमा सचेतनामूलक कार्यक्रमहरु गर्नुपर्छ । सडक सुविधा भएका क्षेत्रमा वारुणयन्त्रको व्यवस्था गर्ने र दुर्गम तथा ग्रामीण क्षेत्रमा अन्य वैकल्पिक उपाय अपनाउनु आवश्यक छ । आगलागी र डढेलोेबाट बच्नका लागि आम जनसमुदायमा सचेतना फैलाउन सकेको खण्डमा वन क्षेत्र र अन्य स्थानहरुमा हुने आगलागी र डढेलोे नियन्त्रण गर्न सकिन्छ । गर्मीयाममा हुने डढेलो र आगलागीको सम्भावनालाई न्यूनीकरण गर्न सबै जागरुक बन्नुपर्छ ।