हेटौंडाः उपमेयर कप भलिबल प्रतियोगिताको उपाधिका लागि पुरुषतर्फ वडा नम्बर ११ र १९, महिलातर्फ वडा नम्बर ९ र १९ भिड्ने भएको छ । फाइनल खेल आज बुधबार हेटौंडा–१२, पदमपोखरीस्थित बुद्ध माविको भलिबल कोर्टमा हुनेछ ।
मंगलबार भएको पुरुषतर्फको सेमीफाइनल खेलमा ११ नम्बर वडाले ५ नम्बर वडालाई २५–१८, २५–२०, २५–१२ को सोझो सेटमा पराजित गरेर फाइनल प्रवेश ग¥यो भने वडा नम्बर १९ ले वडा नम्बर ४ लाई २५–९, २५–१६ र २५–१३ को सोझो सेटमा पराजित गरेर फाइनल प्रवेश गरेको छ । यस्तै महिलातर्फ १९ नम्बर वडाले १७ नम्बर वडालाई ३–१ को सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेको हो । अत्यन्त प्रतिस्पर्धी बनेको पहिलो सेट ३०–२८ ले आफ्नो पक्षमा पारेको १९ नम्बर वडाले दोस्रो सेट २१–२५ मा १७ नम्बर वडालाई सुम्पेको थियो । तेस्रो र चौथो सेट २५–१३ र २५–२३ मा आफ्नो पक्षमा पार्दै १९ नम्बर वडाले उपाधि नजिक पुगेको छ ।
यस्तै महिलातर्फको अर्को सेमीफाइनल खेलको पहिलो सेट पनि उत्तिकै प्रतिस्पर्धात्मक रह्यो । १४ नम्बर वडासँग पहिलो सेट ३१–२९ ले आफ्नो पक्षमा पारेको ९ नम्बर वडाले दोस्रो र तेस्रो सेट २५–१५ र २५–२१ ले आफ्नो पक्षमा पार्दै फाइनल प्रवेश गरेको छ । प्रतियोगितामा पुरुषतर्फ १० वटा टिम र महिलातर्फ ९ वटा टिमको सहभागिता रहेको थियो । पाँचौ संस्करणको उपमेयरकप महिला तथा पुरुष भलिबल प्रतियोगितामा महिला र पुरुष दुवैतर्फका प्रथम, द्वितीय र तृतीय हुने टिमले क्रमशः ५० हजार रुपैयाँ, ३० हजार रुपैयाँ र १० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई २ हजार ५ सय र विधागत उत्कृष्ट खेलाडीहरुलाई १ हजार ५ सय रुपैयाँ प्रदान गरिने छ ।