झण्डै दुई तिहाई बहुमतको तत्कालिन नेकपा पार्टी भित्रको आन्तरिक कलहका कारण टुटफुट हुँदै साढे ३ वर्षको अवधिमा अनपेक्षित सत्ता बाहिर रहन बाध्य भयो । तत्कालिन नेकपाको किलचोको अन्त्य नेकपा एमाले र नेकपा माओवादी केन्द्र पुनस्र्थापित हुनुका साथै एमालेको एउटा समूहले नेकपा एकीकृत समाजवादी नयाँ दल नै गठन गर्यो । २०७९ को संसदीय निर्वाचनबाट तेस्रो दल बनेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रधानमन्त्री बन्ने अभिलासाले सत्तामा पुगेको नेकपा एमाले छोटो अवधिमै सत्ताबाहिर रहने स्थिति आयो । सत्ताबाट बाहिरिएपछि जनतामाझ मिसन ग्रासरुट लिएर जनताको घरदैलोमा पुग्दै गरेको नेकपा एमालेले मकवानपुरमा के गरिरहेको छ भन्ने सन्दर्भमा नेकपा एमाले मकवानपुरका सचिवालय सदस्य एवम् हेटौंडा उपमहानगर कमिटीका इन्चार्ज सुनिल मोक्तानसँग समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठले गर्नुभएको कुराकानीः

समाजः नेकपा एमालेले मिसन ग्रासरुटमार्फत मकवानपुरमा के–के गर्यो ?
मोक्तानः
मिसन ग्रासरुट अभियान गर्ने नेकपा एमाले पार्टीको स्थायी कमिटीले निर्णय गरेपछि प्रदेश कमिटी र जिल्ला कमिटी हुँदै पालिका कमिटीहरुमा मिसन ग्रासरुट कार्यक्रम सञ्चालन हुँदैछ । विशेषगरी पार्टीले मिसन ग्रासरुट किन ल्यायो भन्नुपर्दा यतिबेला मुलुक विषम् परिस्थितिमा छ । जनताले मंसिर ५ गतेको निर्वाचनमा मतदान गर्नुभयो । तर, जनताले गरेको मतदान सही पार्टी र विचार बोकेको पार्टीमा पुगेन भन्ने हो । आज कुनैपनि पार्टीले एकल बहुमत ल्याउन सकेन, कुनै पनि दलले एकल सरकार बनाउन सकेन । त्यसो हुँदाखेरी विभिन्न दलहरु मिलेर सरकार बनाउनुपरेको अवस्थामा आइपुग्दा हाम्रो पार्टी नेकपा एमालेले मिसन ग्रासरुटमार्फत अब नेता, कार्यकर्ता सबै सच्चिन आवश्यक छ । त्यसो हुँदाखेरी पार्टी शुद्धिकरण, सुदृढीकरण र विस्तारीकरण अभियान सञ्चालन गरेको हो । हामीलाई के आशा छ भने जनताले हामीलाई जुन आशा र भरोसा गरेर मतदान गर्नुभयो त्यो मतको हामी ऋणि छौं । तर, हामीलाई जनताले जुन ढंगले माया गरेर मतदान गर्नुभयो त्यत्ति मतले हामीले सरकार बनाउन सकेनौं र हामी प्रतिपक्षमा छौं ।

समाजः जनताको कुरा सुनेपछि पार्टीको कमजोरीहरु के–के मनन् गर्नुभयो ?
मोक्तानः
पार्टीभित्र केही कमी कमजोरी भएकाले नै यो अभियान सञ्चालन भएको हो । किनभने कति ठाउँमा माथिबाट गर्ने निर्णयहरु गलत भए । उम्मेदवारी दिने सवालमा अन्तिम समयमा अर्कै विचार समूहबाट उम्मेदवार खडा गरियो । जसलाई मतदाता, जनताले विश्वास गरेनन् । त्यो निर्णय गलत भएको भन्ने महसुस भयो । मिसन ग्रासरुट किन ल्याइयो भने जनता र नेताहरुबीच दूरी बढ्दै गएको र यसलाई कम गर्नुपर्छ भनेर यो अभियान ल्याएको छ । विगतमा निर्वाचित भएर गएका नेताहरु फर्केर जनतामाझ नगएको, जनताको अपेक्षाअनुसारको काम गर्न नसकेको भन्ने गुनासोहरु व्यापक रुपमा आइरहेकाले नेकपा एमालेले यसलाई सुधार गर्नका लागि यो अभियान सञ्चालन गरेको हो । २०८४ सालको निर्वाचनमा नेकपा एमालेलाई पहिलो पार्टी बनाउनुपर्छ । त्यसका लागि जनताको घरदैलो जानुपर्छ भनेर नै निर्वाचन सकिएको केही समयमै मिसन ग्रासरुट सञ्चालन गरेको हो ।

समाज? ग्रासरुटको अभियानमा डेढ महिनादेखि हिँडिरहनुभएको छ । पार्टीले ध्यान दिनुपर्ने र सच्चिनुपर्ने कुराहरु के के थाहा पाउनुभयो ?
मोक्तानः
जनताले, कार्यकर्ताले नेताहरु सच्चिनुपर्छ भन्नुभएको छ । मुहान सफा भयो भने मात्रै धारामा आउने पानी सफा हुन्छ भने जस्तै पार्टीको नेतृत्व र तल्लो तह दुबै सफा हुनुपर्छ र यो सफा गर्न पनि यो अभियान सञ्चालन भएको हो । जनताले नेताहरुसँग खुलेर प्रत्यक्ष बोल्न पाउने र केन्द्रका नेता समेत वडा–वडामा, छिमेकमा आएर अहिले नेपालको राजनीति कुन ढंगले अघि बढिरहेको छ त भनेर बुझ्नको निम्ति पार्टीको पोलिट्व्यूरो सदस्य, स्थायी कमिटीका सदस्यहरु खटिनुभएको छ । मकवानपुरमा पोलिट्व्यूरो सदस्य पार्वत गुरुङ आउनुभएको छ । यो अभियानको क्रममा पार्टीका नेता, कार्यकर्ताको विषयमा के कस्ता कुरा आए त्यो कुरा केन्द्रीय कमिटीमा पुर्याउनु हुन्छ ।

समाजः मिसन ग्रासरुट अभियानको समापन हुने बेलासम्ममा आम जनतामा नेकपा एमालेप्रतिको धारणा कस्तो स्थापित हुने अपेक्षा गर्नुभएको छ ?
मोक्तानः
हामीलाई के विश्वास छ भने हामी जुन हिसाबले मिसन ग्रासरुटमा गयौं धेरै मान्छेहरु उत्साहित भएको देखेँ । यसरी नै हामीले पहिले नै अभियान सञ्चालन गरेको भए हाम्रो मत बढ्थ्यो । हामीले बढी सिट जित्थ्यौं भन्ने लाग्यो । यो कार्यक्रमबाट हामीले के आशा अपेक्षा गरेका छौं भने आगामी दिनमा यहाँका जनताले एमालेलाई विश्वास गर्नेछ । एमाले पार्टीलाई माया गर्नेछ र २०८४ सालमा हुने निर्वाचनमा उहाँहरुले नेकपा एमालेलाई मतदान गर्नुहुनेछ ।