नवसर्जक साहित्य चौतारीलाई सम्मान गरिँदै ।

हेटौंडाः बाल साहित्यकारहरुको संस्था नवसर्जक साहित्य चौतारी नेपाल ५० हजार राशीसहित सम्मानित भएको छ । शनिबार नवसर्जक साहित्य चौतरी नेपाललाई नेपाल विष्णुकुमारी रिजाल स्मृति सम्मान–२०७९ बाट सम्मानित गरिएको हो । प्रशन्ना चौलागाईँको नेतृत्वमा रहेको केन्द्रीय कार्यसमितिलाई उक्त सम्मान प्रदान गरिएको छ । विष्णुकुमारी रिजाल स्मृति सम्मान २०७७ सालमा भएको हो । सम्मान पश्चत नवसर्जक अध्यक्ष प्रशन्न्ना चौलागाईँले हौसला अनुभूति भइरहेको बताउनुभयो । सम्मानले साहित्य क्षेत्रमा लागेका नवसर्जकहरुलाई साहित्यमा क्रियाशील हुन प्रेरित गर्ने चौलागाईले बताउनुभयो ।

नवसर्जक साहित्य चौतारी नेपाल पहिलोपटक सम्मानित भएको अध्यक्ष चौलागाईले जानकारी दिनुभयो । नवसर्जकका परिकल्पनाकार दीपक गौतमले नवसर्जक चौतारी नेपालबारे जानकारी दिनुभयो । जसको सातै प्रदेश समिति, काठमाडौं उपत्यका समिति तथा विदेश विभाग गरी ९ वटा शाखाहरु रहेका छन् । नवसर्जकमा आवद्ध नवसर्जकहरुमध्ये धनगढी जिल्लाको कैलाली शाखाका वरिष्ठ उपाध्यक्ष विभूति अधिकारीले २०७७ चैत २ गते ‘अद्भुत इन्द्रेणी’ खण्डकाव्य कृति विमोचन गरिसक्नुभएको छ ।

यस्तै नवसर्जक साहित्य चौतारीका महासचिव समर्पण न्यौपानेले २०७९ माघ १ गते ‘अभियुक्त समय’ गद्य कविता संग्रह प्रकाशन गरिसक्नुभएको छ भने लुम्बिनी प्रदेशका सदस्य पवन अधिकारीले तेस्रो कृतिको रुपमा २०७९ फागुन ७ गते ‘अन्यायका आँसुहरू’ छन्द कविता संग्रह विमोचन भइसकेको छ । काठमाडौं उपत्यका संयोजक आँचल अधिकारीले २०७९ चैत ११ गते ‘मन पग्लिएछ भने’ कविता संग्रह विमोचन गरिसक्नुभएको छ । यस्तै निकट भविष्यमा आधा दर्जन जति नवसर्जकहरु कृति प्रकाशनको तयारीमा रहेको गौतमले जानकारी दिनुभयो ।

बुढ्यौली साहित्य समाज मकवानपुरका अध्यक्ष आरसी रिजालको सभाध्यक्ष तथा प्रा.डा. निर्मोही व्यासको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । यस्तै आध्यात्मिक अभियान्ता राधिका दासी पनि नगद ५० हजार रुपैयाँ राशिसहित सम्मानित हुनुभएको छ ।