संसार यतिबेला आक्रान्त छ । कोभिड–१९ को कहरले त्रसित र भयभित बनेको छ । सबैलाई हतारको जिन्दगीबाट हतासको मनस्थितिमा पुर्‍याएको छ । पृथ्वी त मानव जातिको प्रयोगशाला नै बनेको थियो र छ । उसले यति प्रयोग गर्याे कि पृथ्वीका न्यूनतम आधारभूत वातावरणीय अनुकूलतालाई समेत ध्यान दिन सकेन वा चाहेन । आज यसरी पूरै विश्व थन्किएर बसेको छ । जीवनको सहजताका निम्ति र जिन्दगीको सफलताका निम्ति भौतिक सुविधाको विशाल पहाड खडा गर्‍यो । तथापि मानिस आज आफ्नै उपलब्धिको अत्यधिक प्रयोगको सिकार बनिरहेको छ । यो गृहबन्दी यसैको प्रतिफल त हो ।

देवराज तिवारी

कामैकामको चाङमा थिचिएर, सामाजिक प्रतिष्ठा आर्जनको दौडमा होमिएर परिवारसँगको दायित्व पैसामा मात्रै साट्न खोज्नेहरूका निम्ति बल्ल परिवार के हो र घर के हो भन्ने कुरा बुझ्न भ्याएका छन् कि जस्तो लाग्छ । जति कमाए पनि परिवार नै सबैभन्दा ठुलो कमाइ रहेछ । जति सम्पत्ति थुपारे पनि आश्रय दिने भनेको त्यही एउटा सानो घर त रहेछ । खान पाए भयो भन्ने चिन्ता मात्र प्रत्येकको अनुभूति हो । कतिपय अवस्थामा बैंकमा लाखौँ, करोडौँ रुपैयाँ भए पनि खाने कुरा नपाएर तड्पिएको र पैसा आखिर कागजको खोस्टो त रहेछ भन्ने तहसम्म पुगेका कुराहरू समाचारका रूपमा आएकै छन् । त्यसकारण घर र परिवारको महत्व नै बढी छ र खाने कुरा नै जीवनको आधार हो भन्ने कुरा बुझ्न अब कसैलाई गाह्रो नहुनु पर्छ । वैज्ञानिक उन्नति प्रगति सब प्रकृतिलाई चुनौती दिने कुरा हुन् । प्रकृतिले सब सहन्छ पनि तर बेला–बेला प्रकृति यति उग्र बनिदिन्छ कि रणचण्डी नाच देखाइदिन्छ अनि मानिस लुक्छ दुलोमा । आज विश्व जगत् यही कष्टको सामना गरिरहेछ । परिणाम स्वरूप मानवेतर प्राणी दुलो छोडेर फुकिरहेछ मानव घरमा लुकिरहेछ ।

परिवारसँगै बस्दा कति कचकच भएको हुन सक्छ । कति मनोमालिन्य बढेको पनि हुन सक्छ । ठाकठुक परेको पनि हुन सक्छ । हो, जब विचारहरू बाझ्न थाल्छन् तब ठाकठुक पर्छ । पर्न दिनुस् । ठाकठुकले मानसिक शान्ति मिल्छ । तत्क्षण पीडा भएझैँ होला तर त्यसले असन्तुष्टिको विकार निकाल्छ । फेरि हामी सम्हालिन सक्छौँ । कतिपय घरमा दुई पुस्ता र कतिपय घरमा तीन वा चार पुस्तासम्म हुन सक्छन् । सोचाइको पुस्तागत भिन्नता बीच टकराब हुन सक्छ । हजुरबुबा–हजुरआमा र नातिनातिनीले देखेको भोगेको र अनुभव गरेको सामाजिक विकासको स्वरूप निकै फरक छ । आमाबुबा र छोराछोरीका बीचमा पनि सामन्यतः बीसदेखि तीस वर्षसम्मको उमेरको भिन्नता छ । यो भनेको दुई वा तीन दशकको भिन्नता हो ।

आजभन्दा बीस वर्ष अगाडिको दुई दशकको परिवर्तनको स्वरूप र त्यसपछिको दुई दशकको समाज परिवर्तनको ढाँचामा निकै भिन्नता छ । प्रत्येकको हातमा विश्व नाचिरहेको यो युगका केटाकेटी र मोबाइलबारे सुन्दा पनि ठुला आँखा र ठाडो कान पारेर रोचक कथा सुनेझैँ मान्नुपर्ने अवस्थाको अघिल्लो पुस्ताका बीचमा कतिपय अवस्थामा मतमतान्तर हुनु स्वाभाविक हो । आमाबुबाले केही पनि जानेका छैनन् र वाहियात कराइरहन्छन् भन्ने छोराछोरी र हिजोका पिउसा पिउसी जसलाई मैले हुर्काएँ आज मलाई नै सिकाउन खोज्छन् भनेर आफूले विश्व बुझेको बुज्रुक्याइँ झिक्न रुचाउने अभिभावकका बीचमा खाडल बनिरहेछ र त्यो खाडल अझै बढिरहेछ ।

वास्तवमा जीवन जिउनका लागि निकै ठुलो ज्ञान र प्रशस्तै धनको आवश्यकता पर्दाे रहेनछ । हाम्रा जीवनका आधार के थिए र प्राथमिकतामा के परे ? कृषिलाई बेवास्ता गरेर यति भाग्यो कि विकासप्रेमी मानिस आज कृषिकै शरणमा छ । कृषि उपजकै भोको छ । हामीले आफ्ना सन्ततिलाई शिक्षाका नाममा कोरा किताबी ज्ञान मात्र बाँड्न उद्दत भयौँ । यसो हेर्नुस् त जीवन बाँच्न खानुपर्याे । खानलाई पकाउनुपर्याे । पकाउन अनाज जुटाउनुपर्याे । जुटाउन पनि उब्जिएको हुनुपर्याे । खाएपछि भाँडा माझ्नुपर्याे । लगाएपछि लुगा धुनुपर्याे । घर बसेपछि सफा पनि गर्नुपर्याे । यी सामन्य कुरा हुन् तर जिन्दगीभरि यी कुराले पछि छाड्दैनन् भने यिनको व्यवस्थित उपयोगको कला सिक्ने सिकाउने उपयुुक्त समय हो यो, सबैका लागि ।

घरमा बसेपछि कहिले काहीँ पाहुना आउँछन् तिनको स्वागत र सत्कारको हाम्रो आतिथ्य परम्पराको ज्ञान पनि आफ्ना सन्ततिलाई दिन सकिन्छ र छोराछोरीले पनि त्यो कुरा सिक्नुपर्छ । यही त हो जीवनभरि काम लाग्ने पाककला, कोठाको सरसफाइ र साजसज्जा कलाको क्षमता विकास गर्ने समय । कमसे कम दिनको एक घन्टा समय यसमा लगायो भने पनि यी कुरा सजिलै सिकिन्छ । त्यसैले सम्पूर्ण अभिभावकहरूलाई यो सिकाउने मौका हो र छोराछोरीहरूलाई सिक्ने मौका हो । अभिभावकले सन्तान र सन्तानले अभिभावक चिन्ने र बुझ्ने मौका पनि यही हो । सदुपयोग गरौँ । जीवन बाँच्न सिकौँ र सिकाऔँ । जीवन बाँकी रहे सबै कुरा फेरि गर्दै रहौँला । नयाँ–नयाँ खोजका साथ । नयाँ–नयाँ सोचका साथ ।

कतिपय अभिभावकहरू जो बिहान निस्केपछि राति मात्र घर आउने र घुत्रुक्क सुत्ने वा मदिराले मात्तिएर लठारिँदै आउने र श्रीमती र सन्तानलाई हकार्ने वा पिट्नेसम्मको हर्कत गर्ने अभिभावकलाई भने लकडाउन ठुलै सास्ती भइरहेको होला । तपाईँले आफ्नो बानी सुधार्ने मौका पनि यही हो । सोच्नुस् त तपाईं बिरामी हुनुभयो भने पहिले रेखदेख गर्ने, दुखी हुने, आड भरोसा दिने को हो ? छोड्नुस् झर्काे मान्न र झ्याम्मिनुहोस्, जिस्किनुहोस्, खेल्नुहोस् तिनीहरूसँग । सुन्नुहोस् तिनका कुरा, सुनाउनुहोस् आफ्ना कुरा । तपाईंले ठुलै राहत पाउनुहुनेछ । आजसम्म नभोगेको आनन्द भोग्नुहुनेछ । जीवनलाई जीवन जस्तरुै बन्न दिनुहोस् ।

सबैतिर फुर्सदैफुर्सद भएको समयलाई एउटा लक्ष्यप्राप्तिका निम्ति तपाईं केन्द्रित गर्नुहोस् । लागेको लाग्यै गर्नुहोस् । उच्चशिक्षाको लक्ष्य बोकेका भाइबहिनीहरू जो परीक्षा स्थगित भएर घरमा छन्, तिनलाई केही असहज त पक्कै भएको छ तर कहिलेकाहीँ जीवनमा आइपर्ने कठिनाई पनि अवसर बन्न सक्छ भन्ने हेतुले तयारीमा लाग्दा अहिले कडा मिहिनेत गरेझैँ भए पनि नतिजा राम्रो निक्लँदा आनन्द नै हुन्छ । कहिलेकाही आउने चुनौतीलाई स्वीकार्न सक्नु नै जीवनलाई चिन्नु र नजिकबाट बुझ्नु हो । यसो गर्न सकेको खण्डमा हर बाधा छिचोल्ने मानिसको क्षमताको उजागर हुन्छ । यही नै जीवन हो । हतास भएर चल्न सकिन्न । जिन्दगी जिउनु भनेको लड्न र उठ्न जान्नु हो । भिड्न र पार लाउन जान्नु हो । अवसर आउँछ भनेर बस्दा ढिलो हुँदो रहेछ । अवसर बनाउनु पर्दाेरहेछ । बनाउनुहोस् र हिँड्नुहोस् । आफूले आफैलाई जितेर जितिने युद्ध हो लकडाउन अर्थात् गृहबन्दी । जति बढी थुनिन सक्नुहुन्छ । त्यति सहज तरिकाले युद्ध जित्नुहुन्छ ।

कतिपय दामपत्य जीवनलाई लकडाउनले खटपटमा पुर्याएको छ भने कतिपयमा जिम्मेवारीबोध गराएको छ । घर मात्रै बस्यो के काम छ र भन्नेहरूका लागि घर बसेर दिन बिताउन कति गाह्रो हुँदोरहेछ भन्ने पाठ पनि पढायो नै होला । काम भएन भने घर कसरी चल्ला त भन्ने चिन्ता पनि थपिँदो छ । वास्तवमा हामीले पढेको विषय यो अप्ठ्यारोमा काम लाग्ने खालको रहेनछ । विद्युत् लाइनको स्विच बिग्रे मान्छे खोज । पानीको धारा चुहे मान्छे खोज । पंखा बिग्रे मान्छे खोज । ग्याँस स्टोभ बिग्रे मान्छे खोज । दैनिक आवश्यक कुराका सामान्य विषय त जानकारी हुनुपर्ने हो तर लिइएको रहेनछ । यस्ता प्रयोगात्मक सीप सिक्ने र सिकाउने कुरामा राज्यले ध्यान दिन सकेनछ । हामीले पनि आफै त्यसतर्फ ध्यान पुर्याउन सकेनछौँ । हाम्रो पढाइमा यहीँ कमजोरी भएको महसुस हुन्छ । हुन त सबै ज्ञान एकै व्यक्तिले लिन सम्भव पनि छैन तर सामान्य दैनिक जीवनका लागि आवश्यक पर्ने ज्ञान भने हुनुपर्छ भन्ने कुरा यो बन्दले सिकाएको छ ।

आपत पर्दा मात्रै ज्ञान सिक्न खोज्ने र विपद सकिएपछि चटक्कै बिर्सने बानी परेका हामीले कोसीको बाढीले नेपाल र भारतका घरवस्ती बगाएको देखेपछि नदी किनारमा वस्ती बसाल्न हुँदैन है भन्यौँ । त्यसपछि पनि त नदी तट कहीँ खाली छुटेको छैन । भूकम्प जाँदा घर त सानै बनाउनुपर्ने रहेछ भन्ने ज्ञान बटुल्यौँ तर भूकम्प गएपछिका घरहरू झन् ठुल्ठुला बनेका छन् । आलिसान महल बनाउने होडजस्तै चलेको छ ।

यो लकडाउनले हामीलाई कृषि कर्मप्रति आकर्षित गरेको छ । गाउँघरको मोह ह्वात्तै बढाइदिएको छ । समस्या पर्दा गाउँ नै चाहिँदो रहेछ । घटनापिच्छे समवेदना पस्कन सक्ने हामी फेरि पनि यो कहरको समाप्तिपछि उही गतिमा फर्कने छौँ । फेरि पनि दौडधुपको यो श्रृंखला मच्चिने छ । उछिनापाछिनको यात्रा सुरु हुने नै छ । तर याद रहोस् कठिनाइले जीवनलाई जसरी सिकाउँछ नि सहजताले त्यसरी कहिल्यै बोध गराउँदैन । सहजताले बढी स्वार्थी बनाउँछ भने असहजताले सामाजिक । सुखले उन्मत्त बनाउँछ भने दुखले उसको जिन्दगीको असली स्वभाव देखाउँछ । जिन्दगीलाई चिन्ने, बुझ्ने र कठिन यात्रामा हिँडाउने र जीवनको अर्थ बोध गराउने भनेकै कठिन परिस्थितिले हो ।

अन्त्यमा, यो बन्द होइन आरामको समय हो मानवका लागि र सरसफाइको समय हो पृथ्वीका लागि । यो चेतना विस्तारको समय हो । हरेक कुराको महत्व बोध गराउने समय पनि हो । सिक्नुस् यो सिक्ने समय हो । सिकाउनुस् यो सिकाउने समय पनि हो । रमाउनुस् यो रमाउने समय पनि हो । जिउनुस् यो जिन्दगी, जिन्दगीजस्तै बनाएर जिउने समय हो । दौडधुप त गर्नु नै छ जिन्दगी रहेसम्म । लुछाचुँडी त चलिरहन्छ आश रहेसम्म । हर त्रासदीको अन्त्यमा आउने थकित चेहरामा पनि जीवन जिउने झिनो आशा बाँकी रहन्छ र मानिस मानिस भएर बाँच्छ । हामी मानिस भएर बाचौँ । यस कहरपछि पनि आउनेछ खुला आकाशको सुनौलो प्रहर । कसैमा नआओस् चटक्क गाउँ बिर्सेर सहर फर्कने रहर । अस्तु !