हेटौंडाः मकवानपुरको राप्तीखोलामा डुबेर आज एक बालिकाको मृत्यु भएको छ । मनहरी गाउँपालिकाको रजैयामा राप्तीखोलामा डुबेर हेटौंडा–१९ की ८ वर्षीया अमृता अधिकारीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी सुजन पाठकले जानकारी दिनुभयो ।
पाठकका अनुसार मनहरीको रजैयास्थित मामाघरमा गएकी अमृताको आज दिउँसो ३ बजेको समयमा राप्ती खोलामा डुबेर मृत्यु भएको हो । प्रहरी चौकी नेवारपानीबाट प्रहरी टोली पुगेर शव निकालिएको र पोष्टमार्टमका लागि हेटौंडा अस्पताल ल्याउँदै गरेको प्रहरीले जनाएको छ । लकडाउनका कारण खोलामा सर्वसाधारणको भीड बढेको छ । प्रि–मनसुनका कारण दिनहुँजसो पानी परिरहेको र हावाहुरीसहितको ठूलो पानीका कारण खोलाको बहाव छिट्टै बढ्ने हुँदा बाढीको जोखिम छ ।