हेटौंडाः मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकामा सिलाई–कटाई सुरु भएको छ । गरिबी निवारणका लागि लद्युउद्यम विकास कार्यक्रम अन्तर्गत ३ महिने सिलाई–कटाई तालिम बुधबारबाट सुरु भएको हो । मकवानपुरगढी गाउँपालिका–१, आँपटारमा आयोजना गरिएको तालिममा २२ जना महिलाको सहभागिता रहेको छ ।
मकवानपुरगढी गाउँपालिका–१ का वडाध्यक्ष आईत सिं लोको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानको प्रमुख आतिथ्यमा तालिमको उद्घाटन कार्यक्रम भएको हो । गाउँपालिकाका अध्यक्ष स्याङ्तानले सिलाई सामग्रीहरु प्रशिक्षकलाई हस्तान्तरण गर्नुहुँदै सिलाई मेशिन चलाएर तालिमको उद्घाटन गर्नुभयो । उद्यम सहजकर्ता सीता बुढाथोकी र प्रतिमा डाँगीले तालिममा सहजीकरण गर्नुहुनेछ ।