हेटौंडा अस्पतालको तस्विर ।

हेटौंडाः हेटौंडा अस्पतालमा ७ महिनाको अवधिमा ३ सय ८९ किशोरी आमा बनेका छन् । जिल्ला अस्पतालको चालु आर्थिक वर्षको साउनदेखि माघसम्मको विवरण हेर्दा २० वर्षभन्दा कम उमेरमा आमा बन्ने किशोरीको संख्या अधिक देखिएको छ ।

प्रसुति हुने किशोरीहरुमध्ये दक्ष प्रसुतिकर्मीबाट ३ सय १८ जना किशोरीहरुले प्रसुति सेवा लिएका छन् । दक्ष स्वास्थ्यकर्मीबाट ३६ जना, अन्य स्वास्थ्यकर्मीबाट २१ जना र १४ जना घरमा प्रसुति भएको जनाइएको छ । डाक्टरका अनुसार कम उमेरका महिलाहरुले बच्चा नर्मल जन्माउन नसक्ने र शल्यक्रिया गर्नुपर्ने, रक्तश्राव धेरै हुने, समय नपुगी प्रसुति हुने, बच्चा खेर जाने र आमा बच्चा दुबैलाई ज्यानको जोखिमको अवस्था रहन्छ ।

जिल्लाको दश वटा स्थानीय तहहरुमा २० वर्षभन्दा कम उमेरका किशोरीहरुले पहिलोपटक जुनसुकै समयमा गर्भवती जाँच गर्ने महिलाको संख्या ५ सय ६७ जना रहेका छन् । जसमध्ये दोस्रो पटक १२ हप्तासम्म जाँच गर्न आउने गर्भवतीको संंख्या २ सय ८८ जना रहेका छन् । पहिलो पटको तुलनामा दोस्रो पटक गर्भवती जाँच गराउन आउने किशोरीको संख्या भने आधा संख्यामा घटेको देखिन्छ । चौथो पटक (१६, २० देखि २४, ३२ र ३६ हप्ता) सम्म ३ सय ८९ जनाले र ८ औं पटक (प्रोटोकलअनुसार) ९९ जना किशोरीहरुले गर्भवती जाँच गराएको विवरणमा उल्लेख गरिएको छ ।

मकवानपुर जिल्लालाई आर्थिक वर्ष २०७४/०७५ को जिल्ला सभा बैठकले ३ वर्षभित्रमा जिल्लालाई पूर्णरुपमा बालमैत्री स्थानीय तह घोषणा गर्ने भनेता पनि मनहरी गाउँपालिका, बकैया गाउँपालिका र मकवानपुरगढी गाउँपालिकामात्रै बालमैत्री स्थानीय तह घोषणा भएको छ भने कैलाश गाउँपालिका, इन्द्रसरोवर गाउँपालिका र हेटौंडा उपमहानगरपालिका बालमैत्री घोषणा गर्ने तयारीमा रहेका छन् ।

हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाले २०८० सालसम्म उपमहानगरपालिकालाई बालमैत्री घोषणा गर्ने तयारीमा तिब्ररुपमा लागि परेको बताउनुभएको छ । बालमैत्री घोषणा गर्ने तयारीमा नगरपालिकाभित्रका विद्यालयहरुमा बाल समूह गठन गरेको बताउँदै नगरमा २ वटा बालविवाह रोक्न नगरपालिका सफल भएको उहाँले बताउनुभयो ।