हेटौंडाः हेटौंडा उपमहानगर क्षेत्रमा घर निर्माण हुने दर घटेको छ । गत आर्थिक बर्षको तुलना चालु आर्थिक बर्षमा भवन निर्माणको संख्या कम भएको देखिन्छ । आर्थिक मन्दीका कारण भवन निर्माण गर्ने दरमा कमि आएको अनुमान गरिएको छ । हेटौंडा उपमहानगरमा बसाईसराई गरी आउनेको संख्यामा पनि कमि आउनुले पनि भवन निर्माणको दर घटेको हो ।

हेटौंडा उपमहानगरपालिकाको योजना तर्जुमा तथा पूर्वाधार विकास महाशाखामा भवन अनुमति तथा मापदण्ड कार्यान्वयन शाखाको तथ्याङ्क अनुसार चालु आर्थिक बर्ष २०७९/८० को माघसम्ममा २३३ वटा भवन निर्माणको नक्सा पास भएको देखिएको छ । गत आर्थिक बर्ष २०७८/७९ को यही समयमा ५ सयको संख्यामा भवन निर्माण अनुमति लिएको शाखाले जनाएको छ ।

शाखाका अनुसार चालु आर्थिक बर्ष २०७९/८० को माघसम्ममा २११ नक्सा इजाजत लिन पालिकामा पेश भएको छ भने ११ वटा नक्सा म्याद थप भएको देखिएको छ । चालु बर्षमा ६० वटा नक्सा नामसारी भएको पाइएको छ । चालु आर्थिक बर्षको माघ मसान्तसम्म सार्वजनिक सडक र प्लानिङ स्वीकृतिको काम नभएको महाशाखा प्रमुख सत्यनारायण साहले जानकारी दिनुभयो ।

तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको माघ मसन्तसम्म सबैभन्दा बढी भवन निर्माण इजाजत हेटौंडा–५ मा ६२, हेटौंडा–८ मा ३३, हेटौंडा–७ मा २२, हेटौंडा–२ मा १२ र हेटौंडा–६ मा ११ वटा रहेको छ भने अन्य वडामा न्यून संख्यामा रहेको जनाएको छ । तथ्याङ्क अनुसार साउनमा सबै भन्दा बढी ४३, भदौमा ३०, असोजमा ४१, कार्तिकमा १५, मंसिरमा ३६, पुषमा ३७ र माघमा ३१ वटा इजातज लिने कार्य भएको देखिन्छ । महाशाखा प्रमुख साहका अनुसार अघिल्लो आर्थिक बर्षको तुलनामा चालु बर्षको सुरुबाटै देखिएको आर्थिक मन्दीका कारण भवन इजाजत लिने संख्यामा कमि आएको हो । उहाँले भन्नुभयो, “सबैतिर आर्थिक समस्या छ कसरी भवन निर्माणको काम हुनु ।”

बैंक तथा बित्तीय संस्थाले लगानी नगरेसम्म अहिले भवन निर्माण हुने र बजारमा आर्थिक कारोबारमा सुधार नआएसम्म अवस्था यस्तै रहने उहाँको बुझाइ छ । अहिले नगरका १९ वटै वडामा न्यून संख्यामा भवन निर्माणको काम भएपनि लगानी अपुग हुँदा बनेका घरहरु पनि पुरा गर्न नसकेर म्याद थप गर्नुका लागि निवेदन आउने क्रममा रहेको उहाँले जानकारी दिनुभयो । भवन अनुमति तथा मापदण्ड कार्यान्वयन शाखाका अनुसार अघिल्लो आर्थिक बर्षमा नक्सा पास ७४९, नक्सा दर्ता ७४८, म्याद थप ४९, नक्सा नामसारी १०९, सडक सार्वजनिक १४ र प्लानिङ स्वीकृत १३ वटा भएको थियो ।