हेटौंडाः संघीय सरकारबाट राजीनामा दिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशमा पनि सरकार छाड्ने भएको छ । पार्टीको केन्द्रीय नेताको निर्देशनमा राप्रपाले प्रदेश सरकारबाट बाहिरिने गरी आज शनिबार दिउँसो २ बजे मुख्यमन्त्री शालिकराम जमकट्टेललाई राजीनामा बुझाउने राप्रपा संसदीय दलका नेता खानेपानी, उर्जा तथा सिंचाई मन्त्री उद्धव थापाले जानकारी दिनुभएको छ ।

उद्धव थापाले पुस २५ बिना विभागीय मन्त्रीको रुपमा सपथ ग्रहण गर्नुभएको थियो । मन्त्री परिषद् विस्तारपछि माघ ११ गते थापाले खानेपानी, उर्जा तथा सिंचाई मन्त्रालयको जिम्मेवारी पाउनु भएको थियो । वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी राजु विष्टले पाउनुभएको थियो भने उद्योग पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मा डम्बर बहादुर तामाङले पाउनुभएको थियो । प्रदेशको राजधानी हेटौंडामै रहनुभएका तीनैजना मन्त्रीले मुख्यमन्त्रीलाई भेटेर संयुक्तरुपमा राजीनामा बुझाउने तयारी छ ।