हेटौंडा अस्पतालमा शल्यक्रिया गर्दै चिकित्सक । फाइल तस्वीर ।

जिल्ला सरकारी अस्पतालको रुपमा रहेको हेटौंडा अस्पतालमा चालु आर्थिक वर्षको साढे ९ महिनाको अवधिमै एकलाख सेवाग्राही पुगेका छन् । एक आर्थिक वर्षको अवधिमा एकलाख सेवाग्राही पुगेको यो नै पहिलो पटक हो । हेटौंडा अस्पतालका लागि एक लाख सेवाग्राही पुग्नु उपलब्धीको कुरा हो । बागमती प्रदेश सरकारले प्रदेशको राजधानीमा रहेको अस्पताललाई प्रतिष्ठानको रुपमा विकास गर्ने योजना समेत अगाडि सारेको छ । एक लाख सेवाग्राहीलाई सेवा गर्न सफल अस्पतालका प्रमुख डा. प्रविण श्रेष्ठसँग समृद्ध समाजका सुसन लामिछानेले गर्नुभएको कुराकानीः

डा. प्रविण श्रेष्ठ
प्रमुख, हेटौंडा अस्पताल

समाजः हेटौंडा अस्पतालमा एक आर्थिक वर्षको अवधिमा एक लाख सेवाग्राही पुगेको छ । एक लाखको संख्यामा यो आर्थिक वर्षमा सेवाग्राही पुग्नुको प्रमुख कारण के हुन् ?
श्रेष्ठः एक आर्थिक वर्षको अवधिमा पहिलो पटक हेटौंडा अस्पतालमा सेवाग्राहीको संख्या १ लाख नाघेको छ । हेटौंडा अस्पतालको सेवाहरु गुणस्तरीय हुँदै गएको, स्वास्थ्य बिमा प्रभावकारी हुँदा, कर्मचारी अनुशासित र सेवाहरु विस्तार तथा मुख्य रुपमा जनताले विश्वास गरेका कारण नै सेवाग्राही १ लाख पुगेको हो । हेटौंडा अस्पतालमा अहिले मकवानपुर जिल्लासँगै धनुषा, बारा, पर्सा, सर्लाहिदेखि सेवाग्राहीहरु पनि सेवा लिन आउने गरेका छन् ।

समाजः चालु आर्थिक वर्षमा हेटौंडा अस्पतालले सञ्चालन गरेको नयाँ सेवा के के छन् ?
श्रेष्ठः हेटौंडा अस्पताल सर्वप्रथम कम्प्युटराइज भएको छ । कतिजना बिरामी आए भन्ने तथ्यांकसहित आम्दानीको पनि हिसाब डिजिटलमा देखाउँछ । यस्तै ल्याव रिपोर्ट पनि इमेलमा जान्छ । यो वर्षमा ल्याप्रोसकोपी, इन्डोसकोपी, नाक, कान, घाँटी, छाला तथा दन्त सेवा पनि सुचारु भएका छन् । त्यस्तै डायलासिस सेवाको सबै तयारी भएको छ । लकडाउनपछि डायलासिस सेवा सुरु गर्ने योजना छ । अक्सिजन पाइपलाइन बेडमा पु¥याइएको छ ।

समाजः हेटौंडा अस्पतालमा सबैभन्दा बढी कस्ता सेवाग्राही छन् ?
श्रेष्ठः विगतदेखि नै सामान्य ज्वरो, बच्चा, गाइनो तथा दुर्घटनाका बिरामीहरु बढी आउने गरेका छन् । हेटौंडा अस्पतलामा न्यून आर्थिक अवस्था भएका वर्ग, मध्यम वर्गका मानिसहरुले धेरै सेवा लिने गरेको भएपनि अहिले धनी वर्गका मानिसहरु पनि सेवा लिन आउने गरेका छन् ।

समाजः ओपीडीमा समयमै डाक्टर उपस्थित नभएको, इमर्जेन्सीमा स्वास्थ्यकर्मीबाट राम्रो व्यवहार नभएको, फार्मेसीमा सबैखाले औषधी नपाएको भन्ने गुनसो बढी आइरको छन् । यस्ता समस्या किन दोहोरिरहन्छन् ?
श्रेष्ठः फार्मेसीको कुरा गर्दा सरकारले निशुल्क दिने औषधी उपलब्ध नहुँदा समस्या आउने गर्छ । निशुल्क औषधीको समस्या छ । यसको बारेमा प्रदेश मन्त्रालय, आपूर्ति विभागमा जानकारी पनि गराएको छु । निशुल्क औषधी समयमै उपलब्ध नहुँदा फार्मेसीमा समस्या हुने गरेको हो । त्यस्तै इमर्जेन्सीमा म आफैं पनि भिजिट गर्छु हरेक दिन । एक दुई घटना मात्र त्यस्तो भएको हो । कहिलेकाहि बिरामीको कुरुवाहरुलाई बाहिर बस्नुभन्दा पनि अपजस आउने गरको छ । चिकित्सकहरु १० बजेदेखि ३ बजेसम्म हुन्छन् । उनीहरलाई आकस्मिक कल आएमा उनीहरु जतिबेला पनि हाजिर हुनुपर्छ । उनीहरुको पहिलो प्राथमिकता भर्ना भएको बिरामी हुन् । उनीहरु राउन्डमा गएर आउँदा केही समय ढिलाइ हुनु स्वभाविक हो । यसलाई अझ के गर्न सकिन्छ छलफल गर्नेछु ।

समाजः प्रदेश सरकारले हेटौंडा अस्पताललाई प्रतिष्ठानको रुपमा विकसित गर्ने योजना बनाएको छ । प्रतिष्ठान बनाउने काममा के भइरहेको छ ?
श्रेष्ठः प्रतिष्ठान बनाउन प्रदेश सरकार लागी परेको छ । यसको कामहरु क्रमशः अगाडि बढ्दैछ ।

समाजः हेटौंडा अस्पतालले आगामी दिनमा कस्ता कामलाई प्राथमिकतामा राखेको छ ?
श्रेष्ठः हेटौंडा अस्पतालले मुख्य रुपमा आइसियू, एनआइसियू संचालन गर्ने योजना बनाएको छ । पहिलोपटक अहिले आइसियू सहितको आइसोलेसन वार्ड पनि कर्रामा बनाइएको छ । यस्तै फोहोरमैला व्यवस्थापन गर्न लकडाउनपछि मेसिन आउँदैछ । डिजिटल एक्स–रे मेशिन, अल्ट्र साउन्ड फोर डि ल्याउन टेन्डर भइसकेको अवस्थामा छ । लकडाउनपछि आउँछ भने अस्पतालले आफ्नो जनशक्ति थप गर्ने सँगै आम्दानीको क्षेत्र पनि बढाउने कुरालाई प्राथमिकतामा राखेको छ । अहिले हेटौंडा अस्पताल आर्थिक रुपमा पनि बलियो हुँदै गएको छ ।