हेटौंडाः लकडाउन नभएको भए मकवानपुरे साहित्यकार दीपक गौतमको कृति ‘विसंगत वर्तमान’ पाठकको हातमा पुर्याउने साइत थियो, २०७६ साल चैत २२ गते । तर, विसंगत वर्तमानकै एउटा पाटोको रुपमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिमका कारण चैत ११ गतेदेखि लकडाउन जारी छ । लकडाउनकै कारण गौतमले मुक्तकको संरचनामा विसंगत वर्तमानको व्याख्या कसरी गर्नुभयो भनेर पाठकले थाहा पाउन पाएका छैनन् । दीपक गौतमको कृति विमोचनको साइत पनि अहिले अनिश्चित जस्तै बनेको छ । यसअघि २०७६ साल चैत २१ गते साहित्यकार सुवास खनालको कृति विमोचनको साइत पनि लकडाउनकै कारण विथोलिएको थियो ।
२०७० को दशक यता नेपाली समाजको भोगाईलाई गौतमले मुक्तक संग्रहमार्फत अभिव्यक्त गर्न खोज्नुभएको छ । झरना साहित्यिक परिवारका अध्यक्षसमेत रहनुभएका गौतमको पहिलो कृतिका रुपमा मुक्तक सङ्ग्रह प्रकाशोन्मुख छ । अग्रज साहित्यकार सरुभक्तले गौतमका कृतिमाथिको भूमिका लेख्न बाँकी छ । सरुभक्तले केहीदिनमै कृतिमाथिको भूमिका तयार पारिदिनुभएपछि काठमाडौंस्थित शब्द भण्डार प्रकाशनले मुद्रणको काम सुरु गर्ने गौतमले जानकारी दिनुभयो । गौतमका अनुसार लकडाउन खुलेलगत्तै कृति विमोचन हुनेछ । मुक्तक सङ्ग्रहमा १ सय ६० ओटा मुक्तकहरू रहेका छन् ।
सामाजिक, राजनीतिक अवस्था, साथै प्राकृतिक, वैदेशिक रोजगारीलगायतका विषयवस्तुलाई मुक्तकमा समेटिएको लेखक गौतमले बाउनुभएको छ । मुक्तक सङ्ग्रह झरना साहित्यिक परिवारले प्रकाशन गर्दैछ । झरना साहित्यिक परिवारको यो तेस्रो प्रकाशन हो । यसअघि साहित्यकार रमेशमोहन अधिकारी र विश्वनाथ सञ्जेलको कृतिहरू झरनाले प्रकाशन गरिसकेको छ । ११ सय प्रति प्रकाशन गर्न लागेको मुक्तकसंग्रहको मूल्य दुई सय रुपैयाँ राखिने साहित्यकार गौतमले बताउनुभयो ।