हेटौंडाः हेटौंडा–१० स्थित मकवानपुर जिल्लाकै प्रमुख थोक तरकारी बजारमा किसान, व्यवसायी र उपभोक्ताको भीड देखेर कोरोना भाइरसको संक्रमणको जोखिम भएको भन्दै वडा अध्यक्ष कितापसिं लामा, वडा सदस्य धर्म बस्नेतसहित स्थानीय टोल विकास संस्थाका पदाधिकारी तथा स्थानीय संघ, संस्थाका प्रतिनिधिले केही दिनअघि बजार नै बन्द गराए । कृषि उपजको थोक बजार दुई दिन बन्द रह्यो । केही सतर्कता अपनाउने सर्तसहित अहिले बजार खुला छ । बिहान ९ बजेसम्म थोक तरकारी बजार खुला रहन्छ ।

कोरोनाको संक्रमणको जोखिम देखेर बजारनै बन्द गराउने स्थानीय सरकारका प्रतिनिधिले थोक तरकारी बजार डम्पिङ साइट जस्तो बनेको विषयमा भने ध्यान दिन सकेको छैन । थोक तरकारी बजार आज बिहान रोपाइँ गर्न तयार पारिएको खेत जस्तै थियो । दैनिकजसो वर्षा भइरहेका बेला तरकारी बजारक्षेत्र हिलाम्मे छ । आज बिहान बजार पुग्दा नबिकेका तरकारी त्यहीँ कुहिसकेको थियो । तरकारी बजार गन्हाएर बसिनसक्नु थियो ।

१२ वर्ष अगाडि २०६५ सालमा हेटौंडाकै मुख्य बसपार्क क्षेत्रभन्दा उत्तरतर्फको थोक तरकारी बजार साँधुरो भएको भन्दै हेटौंडा नगरपालिकाले हेटौंडा–१०, टिसिएनको जग्गामा थोक तरकारी बजार सार्न खोज्दा व्यवसायी मानेका थिएनन् । बजार सार्दा खुद्रा व्यापारी तथा उपभोक्ता नआउने डरले बजार सार्न व्यवसायी हच्किएका थिए । व्यवसायीको असहमतिका बाबजुद नगरपालिकाले बजार सार्दा १५ देखि २० जना व्यवसायी मात्रै टिसिएन क्षेत्रमा सर्न तयार भए । अहिले एक सय भन्दा बढी व्यवसायी थोक तथा खुद्रा तरकारी तथा फलफूल पसल सञ्चालन गर्ने बजार फोहर भएर बिजोग छ ।

कोरोनाको संक्रमणबाट बच्न भन्दै तरकारी बजार क्षेत्रमा साबुन पानीले हात धुने स्थान ।

हेटौंडा उपमहानगरपालिका टिसिएन क्षेत्रको थोक तरकारी बजारलाई अस्थायी बजारको रुपमा लिएर व्यवस्थित गर्न रुचि देखाइरहेको छैन भने स्थानीय व्यवसायी पनि चलिराखेकै छ भनेर सरसफाई र थप व्यवस्थापनमा ध्यान दिइरहेको छैन । प्रतिवर्ग फिट मासिक २० रुपैयाँका दरले व्यापारिक स्टलको भाडा तिर्दै आएका व्यवसायी नगरपालिकाले थप व्यवस्थापनमा ध्यान नदिएको भन्दै गुनासो गर्छन् ।

व्यवसायी गोविन्द दाहाल उपमहानगरपालिकालाई भाडा तिरेरै बस्दा पनि बजार व्यवस्थापनमा उपमहानगरपालिकाले ध्यान नदिएको गुनासो गर्नुहुन्छ । एक दुई दिन बिराएर फोहोर उठाउने गरेको व्यवसायी दाहालको भनाइ छ ।

तस्वीरहरुः सुरेश श्रेष्ठ ।